समाज

भरतपुरका मुख्य राजमार्गमा विद्युतीय तार भूमिगत गरिँदै

चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य राजमार्गमा विद्युतीय तारलाई भूमिगत गराउने कार्य चलिरहेको छ। नेपाल विद्युत प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङदेखि पुलचोकसम्म र बाइपास रोडमा एक बर्षभित्र सक्ने गरी कामलाई तिब्रता दिएको छ।  

‘पुलचोकदेखि गोन्द्राङ चोकसम्म ३३ केभि विद्युत लाइन भुमिगतका लागि कुल आवश्यक ३३ दशमलव ४२ किलोमिटर एचडिपिई पाइप भूमिगत गरिसकिएको छ। ४ किलोमिटरभन्दा बढी केबल भुमिगत भएको छ,’आयोजनाका प्रमुख आनन्द सुवेदीले भने, ‘समग्रमा निर्माणसम्बन्धी काम २० प्रतिशत भएको छ।’ सन् २०२३को डिसेम्बरसम्ममा निर्माण कार्यसक्ने गरी काम भइरहेको सुवेदीले जानकारी दिए।  

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गरिने छ। साथै, २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरूको क्षमता बढाउने तथा नयाँ थपिने छ। परियोजना समपन्न गर्नका लागि सन् २०२२को जनवरीमा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई १ अर्व ३० करोड रुपैयाँमा ठेक्का दिएको थियो। तर, आयोजनाको उद्घाटन गत भदौ महिनामा नेकपा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।  

ठेक्का लगाएको ६० प्रतिशत समय व्यतित भैसकेको छ । तर, निर्माण कार्य समयमै सकिने आयोजनाका प्रमुख सुवेदी बताउँछन्। ‘आयोजनाको डिजाइनको ८० प्रतिशत काम सकिएको छ। भारतबाट सामान आउने क्रममा छन् । खरिदसम्बन्धी काम ५० प्रतिशत सकियो,’ उनले भने ‘फिल्डको काम गर्न थालेको २ महिनामा २० प्रतिशत काम गरेका छौ। यसरी हेर्दा निर्माण कम्पनीले समयमै सक्ने अपेक्षा गरेका छौँ।’

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ । यसै कार्यक्रमलाई कास्कीको पोखरा र भरतपुर वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा विस्तार गर्न थालिएको हो। आयोजनाको कुल लागत २ अर्ब ६० करोड रहेको छ। त्यसमध्ये भरतपुरको लागि १ अर्व ३० करोड रुपैयाँ बजेट विनियोजन भएको हो। यो आयोजनामा एसियाली विकास बैंकको ऋण सहयोग, नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी छ।  

विद्युतीय संरचना भूमिगत गर्ने कार्यले स्मार्ट र सुन्दर भरतपुर स्थापनाको लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल बताउँछिन् । ‘यस परियोजनाबाट भरपर्दो र गुणस्तरीय विद्युत आपुर्ति सहित विद्युतीय सुरक्षा हुने अपेक्षा हाम्रो छ,’ उनले भनिन् ‘यसले सहरको सुन्दरतालाई समेत बढाउँछ ।’ उनले समयमै समपन्न गर्न आयोजनालाई निर्देशन समेत दिएकी छन् ।  

हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने आयोजनाको भनाई छ । भूमिगत वितरण प्राणाली बिग्रिएको समयमा भने बनाउन समस्या हुने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु नै बताउँछन् । अहिले माडीमा विद्युत लैजानका लागि चितवन राष्ट्रिय निकुञ्ज भित्र तारलाई भूमिगत बनाईको छ । बेला बेलामा बिग्रदा बनाउन महिनौँसम्म लाग्ने गरेको छ ।  

प्रकाशित: १४ वैशाख २०८० ०३:४७ बिहीबार

तार भूमिगत भरतपुर महानगरपालिका