राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली नेपाल फर्किएको छ।
मंगलवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिना सहितको रुस भ्रमणकारी टोली स्वदेश फर्किएको हो।
रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताए। उनले रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरुले बताएको अध्यक्ष तिमिल्सनाले बताए।
उनले शोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध बिस्तार गर्न रुस तयार रहेको बताए। दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको बताए।
जिटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छफल भएको पनि उनले बताए। गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको उनको भनाइ छ। त्यस्तै रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको पनि उनले बताए।
उनले भने, ‘जुन उद्देश्यकासाथ हामी रसिया भ्रमण गएका थियौँ, खासगरी दुई देशका संसदहरुको बीचमा हामी घनिष्ठ सम्बन्ध कायम गर्ने र समझदारी पत्रमा हस्ताक्षर गर्नेकुरा प्रमुख थियो। दुवै सदनका प्रमुखहरुसँगको भेट वार्ता सरकारका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री, कार्यवाहक विदेशमन्त्रीसँग उहाँहरुसँग, चेम्बर अफ कमर्सको अध्यक्षसँगको भेटघाट रुसका ५ राजनीतिक दलका नेताहरुसँगको भेटवार्ताहरु, अन्य भेटवार्ताहरु महत्वपूर्ण रहेका छन्। रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि शोभियत संघको कालखण्डमा जति सम्बन्ध र सहयोग नेपालमा भइरहेको थियो, त्यो बीचमा कमी भएको कुरा उहाँहरुले महशुस गर्नुभएको र अब शोभियत संघको कालखण्ड भन्दा अझ राम्रो बनाएर लैजान उहाँहरु उत्सुक भएको छ। यो भ्रमण त्यसमै आधारित रहेको कुरा व्यक्त गर्नुभएको छ। दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने सस्तो दरमा, गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा इच्छुक हुनुहुन्छ। सरकारबाट प्रश्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार हुनुहुन्छ।’
भ्रमणका क्रममा विभिन्न संग्रहालयको अवलोकन गर्ने काम भएको पनि उनले बताए।
प्रकाशित: १२ वैशाख २०८० १२:२१ मंगलबार