समाज

मिठाईदेवी विश्वकर्मालाई बद्री पहाडी समाजसेवा पुरस्कार

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७९ मिठाईदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ।

झण्डै सात दशकदेखी सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाईदेवी विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

२०८० मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने छ।

वि.स.१९९३ फागुन १० गते इन्द्रचोक काठमाण्डौमा जन्मेकी  मिठाईदेवी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन्। पशुपतिनाथ मन्दिरमा “कुकुर र अछुतलाई प्रवेश निषेध” गरिदै आएकोमा त्यसको विरोध गर्दै वि.स २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भएकी थिइन्।

युवा अवस्थामै वि।स २०१२ सालमा उनले नेपाल परिगणित नारी संघको स्थापना गरि सो संस्थामार्फत काठमाण्डौको दलित बस्तिमा विद्यालय स्थापना गरेकी थिइन्। त्यस्तै दलित समुदायका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने कार्यमा पनि उनले महत्वपूर्ण योगदान दिएकी छिन्।

नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि संघर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धीमा योगदान गरेकी मिठाईदेवीले टी.आर. विश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गयो।

उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा। अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन्। मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित  समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित: १२ वैशाख २०८० ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App