समाज

सुत्केरी हुँदा जीवन जाेखिममा

दुई वर्षअघि सुत्केरी हुँदा सासूका साथ सुबिमाया चेपाङ (दायाँ) । दोस्रो पटक सुत्केरी हुँदा उनको ज्यानै गयो । तस्बिरः विष्णु गौतम

चितवन– काठमाडौंका विष्णु गौतम दुई वर्षअघि निकै ठाडो उकालो मुस्किलसँग चढ्दै चितवनको एक चेपाङ गाउँ जाँदै थिए । निकै थाकेपछि उनी लोथेर गाविसमा पर्ने ताउँसिलिङ गाउँको एउटा घरभित्र आराम गर्न छिरे । सो घरमा एक युवती भर्खरकी सुत्केरी थिइन् । सुत्केरीलाई खुवाउन सासू मकै भुट्दै थिइन् । एक त कम उमेरकी सुत्केरी त्यसमाथि मकैको खाजा । उनलाई निकै टिठ लागेर आयो ।

कम उमेरमा बिहे हुने र धेरै बच्चा जन्माउने चलन छ, त्यसमाथि पोषिलो खानेकुरा सुत्केरीलाई प्राप्त हुँदैन

सासू र सुत्केरीलाई सँगै राखेर उनले फोटो खिचे । जहाँ उनीहरुको मुस्कान लोभलाग्दो देखिन्छ । तर विडम्बना, त्यसरी हाँसेकी युवतीको अहिले निधन भइसकेको छ  । दोस्रो पटक सुत्केरी हुँदा उनको ज्यानै गयो । सदरमुकाम भरतपुरदेखि पूर्वोउत्तर दिशामा रहेको सो गाउँमा पुग्न एक दिन लाग्छ ।  सो ठाउँबाट गाउँको स्वास्थ्य चौकी आउन पनि तीन घण्टा उकालो ओरालो हिँड्नुपर्ने बाध्यता छ ।

लोथर गाविस ९ मा पर्ने ताउँसिलिङ कि २२ वर्षीया सुबिमाया चेपाङले दोस्रो सन्तान जन्माएपछि रक्तश्राप नरोकिँदा पुस २८ गते बिहान ज्यान गुमाइन् । घरदेखि पर पाखो बारीमा गएर उनले सन्तान जन्माएकी थिएन् । साँझ  सात बजे छोरी जन्मिएपछि पनि रक्तश्राव रोकिएन । सिकिस्तै भएपछि स्वास्थ्य चौकी लैजान खोज्दा उनको बाटोमै प्राण गयो ।
सबैको साझा व्यथा

यो अवस्था चेपाङ गाउँका धेरै महिलाको साझा व्यथा हो । लोथर एउरेलीटारमा रहेको स्वास्थ्य चौकीमा १२ वर्ष बिताएका सिनियर अहेब राममणि सिलवालका अनुसार यसरी ज्यानै जाने घटना भने आफुले पहिलो पटक सुनेको बताउँछन् । तर, चेपाङ अगुवा यस्ता घटना सार्वजनिक नै नहुने अवस्था रहेको बताउँछन् । कम उमेरमा बिहे हुने र धेरै बच्चा जन्माउने चलन छ । त्यसमाथि पोषिलो खानेकुरा सुत्केरीलाई प्राप्त हुँदैन ।

‘जहाँ पोषण भनेको के हो पत्तो नै छैन । १२ वर्षमै बिहे भएर १६ वर्ष नपुग्दै दुई बच्चाको आमा हुने अवस्था छ । त्यस्तो ठाउँको समस्या कस्तो होला, अन्दाज लगाउन पनि गाह्रो हुन्छ’, पूर्वसभासद् तथा नेपाल चेपाङ संघका पूवअध्यक्ष गोविन्दराम चेपाङले भने ।

सिनियर अहेब सिलवालका अनुसार तौलका आधारमा मात्रै विश्लेषण गर्दा पनि लोथर गाविसका झन्डै ५० प्रतिशत बच्चा कुपोषित पाइएका थिए । विश्व स्वास्थ संगठनको सूचकांकलाई आधार मानेर तीन वर्षअघि गरिएको सर्वेक्षणमा लोथर गाविसका ९५ प्रतिशत बालबालिका कुपोषणको सिकार भएको पत्ता लागेको सिलवालले जानकारी दिए ।
चितवनका लोथर, सिद्धि, कोराक, काउले, दाहखानी, चन्डिभन्ज्याङजस्ता गाविस चेपाङ बहुल क्षेत्र हुन् । वन जंगलनजिकको पाखा पखेरामा चेपाङ समुदायको मुख्य बसोबास रहेको छ । नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ जिल्लामा चेपाङको जनसंख्या २८ हजार ३ सय ६३ रहेको बताउँछन्, जसमध्ये आधा महिला छन् ।

‘पोषणमा कमजोर छन् । बिहे सानै उमेरमा हुन्छ । बच्चा धेरै जन्माउँछन् । औषधि उपचार, अस्पताल, स्वास्थ्य केन्द्रजस्ता विषयमा खासै जानकारी छैन । अनि स्वास्थ्य समस्या विकराल हुने नै भयो । गाउँमा भएका धेरै घटना बाहिर पनि आउँदैनन्’, लक्ष्मणले भने । घरमा हुने थोरै खाना पनि बेलामा खान नपाउने अवस्थामा बाँचेका चेपाङ जटिल स्वास्थ्य समस्यामा भएको उनी बताउँछन् ।
    
असुरक्षित गर्भपतनले झनै असुरक्षा बढायो

सानो उमेरमा बिहे हुने प्रचलनले बच्चाबच्ची धेरै जन्माउने क्रम पनि बढाएकै छ । एकैजनाले १०÷१२ सन्तान जन्माउने गरेको उदाहरण चेपाङ गाउँमा भेटिन्छ । धेरै बच्चा जन्माए हुर्काउन बढाउन समस्या आउँछ भन्ने केहीले बुझ्न पनि थालेका छन् । तर, परिवार नियोजनका विषयमा जानकारी नहुँदा गाउँघरमा अपनाउने विधि उपयोग गर्छन् ।

‘बच्चाबच्ची धेरै भएपछि गर्भ बसेका अवस्थामा गाउँमै असुरक्षित गर्भपतन गराउने चलन छ । यसले गर्दा महिलाको ज्यानै गएको घटना मैले सुनेको छु । यो समस्या विकराल बन्दै छ तर कमैको मात्र ध्यान पुगेको छ’, पूर्वसभासद् गोविन्दरामले भने ।
सानै उमेरका किशोरी पनि धूमपान गर्छन् । मक,ै कोदोजस्ता अन्न कुहाएर बनाएको जाँड खाजाको मुख्य स्रोत हो । नुहाउने, सफासुग्धर हुने परिपाटी पनि कमै छ । ‘रुघा, खोकी, दम, एलर्जी र छालाका रोग पनि प्रशस्तै देखिन्छ । यौन अंगमा संक्रमण हुने अवस्था पनि छ । सामान्य सरसफाइमा ध्यान नदिँदा यस्ता रोग बढेका छन्’, चेपाङ बहुल अर्को गाविस सिद्धिको स्वास्थ्यचौकीका कार्यरत अनमी तारा थापाले भनिन् ।

‘परिवार स्वास्थ्यका बारेमा कुरा गर्नै लजाउने चलन छ’, लोथरको बासवाङमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज बुद्धिराज पौडेलले भने । ‘सुत्केरी भएको दोस्रो दिनमै काममा जाने चलन छ । सुत्केरी हुने बेलामा पनि राम्रो र पोषिलो खाना पाउँदैनन् । पौडेल थप्छन्, ‘यस्तो अवस्था भएको ठाउँमा स्वास्थ्य समस्या निकै नै जटिल बनेको छ । एकदुईजनाको प्रयासले सुधार गर्न गाह्रो छ ।’

सुधार प्रयासको प्रभाव सुस्त
त्यसो त सुत्केरी हुँदा महिलाको ज्यान नजाओस् भनी सरकारले सञ्चालन गरेको कार्यक्रम चेपाङ गाउँमा नपुगेको हैन । लोथरमा पनि बच्चा जन्माउने सुविधासहितको केन्द्र छ । ‘तर यहाँसम्म आउँदै आउँदैनन् । बेथा लागेमा घर छाडेर पाखोबारी र झाडीमा जाने चलन छ’, लोथर एउरेलीटार स्वास्थ्य चौकीका सिनियर अहेब राममणि सिलवालले भने ।
केन्द्रमा छ महिनामा नौजना महिला मात्रै सुत्केरी हुन आएको उनले बताए । सिद्धिको स्वास्थ्य चौकीमा भने केही राम्रो प्रभाव परेको छ । सो चौकीकी अनमी तारा थापा भन्छिन्, ‘पहिला महिनामा तीनचार जना आउँथे । अहिले पाँचछ जना आउँछन् । सेवा लिन आउने बढ्दो क्रममा छन् ।’ तर गर्भवतीमध्ये ४० प्रतिशतले घरमै बच्चा जन्माउने गरेको उनले बताइन् ।
‘कुना कुना गएर सेवाको प्रचार गरेकै हो तर हामीले भनेको मान्दैनन् । बरु बच्चा जन्माउन जंगल जान्छन्’, स्वास्थ्यकर्मी सिलवालले भने । बस्तीभन्दा टाढाटाढा स्वास्थ्य चौकी रहेका कारण पनि सबै आउन समस्या हुने गरेको अनमी ताराको अनुभव छ ।

पोषण सुधारका लागि पनि प्रयास नभएका होइनन् । केटाकेटीका लागि भनेर गत वर्ष जिल्लाबाट लिटो बनाउन १५ क्विन्टल पिठो लोथर गाविसलाई उपलब्ध भएको थियो । ‘तर एकपटक बल्ल बल्ल लगे पनि सकिएपछि चाहियो भनेर फेरि माग्न आउँदैनन् । लाज मान्छन्’, लोथर गाविसका सचिव कुलप्रसाद आचार्यले सुनाए ।

सुधार पनि हुँदैछ

लोथर लाफकाई गाउँकी श्रीमाया चेपाङले गत वर्ष स्थायी बन्ध्याकरण गरिन् । बन्ध्याकरण गर्नुअघि उनको कोखबाट १० सन्तान जन्मिए । उनको पछिल्लो सन्तान छोरी हो । एकबाहेक सबै हुर्किए पनि । छोराहरुको पनि बिहे भएर नातिनातिना हुन थालेपछि उनले ११औं सन्तान जन्माउने चेष्टा गरिनन् । स्वास्थ्य केन्द्रमा गएर स्थायी बन्ध्याकरण गरिन् ।
यो घटनाले चेपाङ गाउँमा चेतना बढेको देखाउँछ । ‘नयाँ पुस्तामा अलि परिवर्तन देखिँदैछ । पुरानो पुस्ताले पनि कुरा बुझ्दैछ । तर समस्या जटिल भएका कारण निराकरण चाँडै हुने सम्भावना छैन । बेलैमा उचित प्रयास चाले धेरैले अकालमा मर्नुपर्ने थिएन’, चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भने ।


 

प्रकाशित: १६ माघ २०७३ ०२:३७ आइतबार

सुत्केरी हुँदा जीवन जाेखिममा