समाज

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क हुने

 काठमाडौं- स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ। स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪आज शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरे।  उनले यो सेवा निःशुल्क गर्नका लागि आवश्यक प्रक्रिया पुरा भईसकेकाले सहजै कार्यान्वयन हुने जानकारी दिए।

उनको घोषणापछि बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा दिदै आएका सवै सरकारी अस्पतालहरुमा जुनसुकै नेपालीले निःशुल्क रुपमा यो सेवा पाउने भएका हुन्। मन्त्री थापाले यसअघि अन्य विभिन्न रोगका विरामीहरुलाई पनि यस्तै प्रकारको राहत तथा सहुलीयतको व्यवस्था गरेका थिए। कार्यक्रममा उनले काम गर्ने उमेरका धेरै युवाहरुमा बाथ मुटुरोग लागी भल्व शल्यक्रिया गर्नु पर्ने भएकाले यस व्यवस्थाले ठुलो जनशक्तिलाई रहत पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री थापाले यस बर्ष भित्रमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा काठमाडौ उपत्यका बाहिरका कम्तीमा पनि दुई ठाउमा विस्तार गरिने बताउए। सेवा विस्तारका लागि एउटा टोलीले गृहकार्य तिव्र पारेको जानकारी दिदै उनले सहयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आह्वान गरे। कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद तथा अस्पताल संचालक समितिका सदस्य नरहरि आचार्य लगायतले अस्पतालको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।

सो अवसरमा स्वास्थ्य मन्त्री थापाले अस्पताल परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मीक सेवा भवनको सिलन्यास समेत गरेका थिए। सो भवन झण्डै ४८ करोडको लागतमा तीन बर्षमा बनाउने लक्ष्य राखिएको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिए।

प्रकाशित: १५ माघ २०७३ ११:१५ शनिबार

‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क हुने