समाज

गाउँ-गाउँमै वृद्धभत्ता

खोटाङको साकेला गाउँपालिकाले गाउँघरमै पुगी वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको छ।

पहाडी भेगका कारण भौगोलिक कठिनाइले ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरू गाउँपालिका केन्द्र र वडा कार्यालयसम्म पुगेर भत्ता लिन नसक्ने देखिएकाले गाउँपालिकाले हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगालिक रूपमा टाढा र अप्ठेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बाबुआमा तथा अपांगता भएका अशक्त नागरिकहरू नसक्ने भएकाले सहज रूपमा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सासु रकम वितरण गरिएको बताए।

जसअनुसार वैशाख ३ गतेदेखि ९ गतेसम्म पालैपालो सबै वडामा शिविर राखेर भत्ता बाँडिएको छ। उनका अनुसार शिविरमार्फत लक्षित वर्गका ४ सय ७४ जनाले भत्ता पाएका छन्।

साकेलाले चालु वर्षको दोस्रो त्रैमासिकदेखि सो भत्ता बैंंकमार्फत वितरण गर्न थालेको हो। तर, गाउँपालिका केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरू आउन नसक्ने देखिएपछि शिविर राखेर वितरण गरिएको हो।

वडावडामा सञ्चालित शिविरमा वडाध्यक्ष लगायत ज नप्रतिनिधि, गाउँपालिकाका लेखा शाखाका कर्मचारी र बैंकका कर्मचारी टोली खटाएर भत्ता बाँडिएको हो। टाढाटाढाका वडावासी ज्येष्ठ नागरिकलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुःख र झन्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर वितरण गरिएको हो।

प्रकाशित: १२ वैशाख २०८० ०१:३३ मंगलबार

खोटाङको साकेला गाउँपालिका गाउँ-गाउँमै वृद्धभत्ता