परिवारले आफ्ना छोराछोरीमाथि सधैंभरि एकखालको भरोसा राखेको हुन्छ। सन्तानले प्रगति गरोस् भन्ने जहिल्यै अभिभावकको चाहना हुन्छ। तर, कतिपय अवस्थामा भने अभिभावकले उनै छोराछोरीको चाहनालाई बुझ्न सक्दैनन्, त्यसले गर्दा सधैंका लागि पीडा खेप्नुपर्ने अवस्था पनि आउँछ।
छोराछोरीले के चाहेका हुन् वा उनीहरूको रुचि कता छ भन्ने नबुुझ्दा परिवारमा बेमेलको अवस्था सिर्जना हुन्छ। यस्तै अवस्थामा हुर्किइन्, लक्ष्मी घलान। लक्ष्मी मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रमा जन्मिइन्। बुबा मानबहादुर घलानको पुख्र्याैली घर नुवाकोट थियो तर नेपाल प्रहरीका जागिरे भएकाले बुबा मानबहादुरको हेटौंडामा बसोबास थियो। त्यहीं नै आमा कमलाको कोखबाट लक्ष्मीसहित उनका दुईजना भाइ र एक बहिनी जन्मिए।
लक्ष्मी परिवारको पहिलो सन्तान हुन्। प्रहरीका जागिरे बुबा सधैं घरमा हुँदैनथे। बुबाको अनुपस्थितिमा लक्ष्मीमाथि सानैदेखि पारिवारिक दायित्व थियो। आमासहित भाइहरू र बहिनीको रेखदेखको जिम्मेवारी उनमा थियो। हेटौंडाकै शिशु निकेतनबाट उनले शिक्षा आरम्भ गरिन्। त्यसपछि विभिन्न विद्यालय परिवर्तन गर्दै अध्ययनलाई पनि साथै लगिन्। घरको जेठी सन्तान, बुबा जागिरे भएकाले सधैं घरमा बस्न मिल्दैनथ्यो, बारम्बार सरुवा भइरहन्थ्यो। त्यसपछि घरमा आमा र भाइबहिनीको रेखदेख लक्ष्मीकै जिम्मा थियो। सानै उमेरमा उनले पारिवारिक भार बोक्नुपरेको थियो। घरदेखि खेतबारीको काम आफै गर्थिन्। उमेर सानो भए पनि पारिवारिक बोेझले उनलाई परिपक्व बनाएको थियो।
उमेर बढ्दै गयो। उमेरसँगै लक्ष्मीमा पनि चाहना बढ्न थाले, जुन स्वाभाविक र निरन्तरको प्रक्रिया थियो। जीवनलाई बुझ्ने क्रममा यौनप्रति झुकाव बढ्दै जानु युवायुवतीका लागि अनौठो होइन। त्यस्तै अवस्थामा थिइन्, लक्ष्मी। तर, विपरीत लिंगीतर्फ आकर्षण बढ्नुपर्नेमा लक्ष्मीको सम्बन्ध भने भावनात्मक रूपमा छोरीमान्छेसँग बढ्न थाल्यो। केटाको साटो छोरीमान्छेलाई नै उनले मन पराउन थालिन्। त्यो परिवारका अन्य सदस्यका लागि अनौठो थियो। अरूले सोचेभन्दा उनमा चाहना अलि फरक देखिएपछि घरमा समस्या निम्तिन थाल्यो। जीवनलाई बुुझ्ने क्रममा आफ्नो सम्बन्ध छोरामान्छेको साटो छोरी मान्छेसँग बढ्न थालेको परिवारका सदस्यले थाहा पाए पनि विवाद थपिँदै गयो।
छोरीबारे जानकारी पाएपछि बुबाले आमामाथि नै अनेक आरोप लगाउन थाले। छोरीलाई उचित रेखदेख नगरेको भन्दै बुबाको एकोहोरो आरोप आमामाथि खनिने क्रम चलिरहेको थियो। आमामाथि आरोप थपिँदै गर्दा लक्ष्मीको चाहनाप्रति भने परिवारले बुुझ्नै खोजेन, सोधखोज नै गरेन। बरु पितृसत्तात्मक संस्कारको धङधङी थपिँदै गयो।
आमाले लक्ष्मीलाई कत्ति सम्झाउने प्रयास नगरेकी पनि होइनन् तर लक्ष्मीका लागि त्यो प्रयासले खासै सार्थकता देखाएन। उनको इच्छा पनि बदलिएन। जसले गर्दा घरभित्रै हिंसाको अवस्था सिर्जना भयो।
परिवारमा फरक स्वभाव देखाउँदा बुबासँग उनको कुरा मिल्दैनथ्यो। आफ्नो कारण आमामाथि हिंसा हुँदा उनलाई त्यो अपाच्य भयो। अहिले पनि त्यो व्यवहार उनलाई मन पर्दैन। आमामाथि घरेलु हिंसा देख्दा उनलाई चिन्ताको विषय थियो। घरमा आफूले पालेका बाख्रा बेच्न पनि बुबालाई सोध्नुपर्ने अवस्था थियो। समग्रमा सहकार्य गर्नुपर्नेमा त्यो थिएन।
उनी त्यो बेला पनि घरायसी जिम्मेवारीमा थिइन्। त्यही बेला घरमा बेकामे बस्नुभन्दा काम सिक्न उचित ठानेर नजिकैको एउटा छापाखानामा काम गर्न थालिन्। त्यहीं एकजना महिलासँग उनको भेट भयो। काम गर्दैजाँदा ती महिलासँग उनको भावनात्मक सम्बन्ध बढ्न थाल्यो। ‘त्यो बेलासम्म म आफैले आफैलाई चिनेकी रहेनछु, अरूलाई चिन्ने त कुरै थिएन। परिवारका अरू बच्चाभन्दा म स्वभावका रूपमा केही फरक थिएँ,’ उनले भनिन्, ‘त्यो बेला चाहना र भावनात्मक हिसाबले पुरुष मन पर्नुपर्नेमा मलाई त महिला मन परेको थियो। त्यसले गर्दा म आफूलाई बलियो व्यक्ति सम्झन्थें, मेरो आकर्षण उनै महिलाप्रति थियो।’
तनाबका बीच परिवारको दैनिकी चलिरहेको थियो। लक्ष्मीले काम गरिरहेकी थिइन्। निकटता बढाएकी महिलासँग सम्बन्ध गाढा बन्दै गएको थियो नै, घरमा आफूमाथि भएको अन्यायका विरुद्ध पनि एक्लै लड्न थालिन्। बानी सपार्न परिवारले परामर्श दिन थाले। ‘मेरै निहुँमा बुबाले आमा र मलाई मानसिक तनाब दिए। बुबाले पेट्रोल खनाएर मार्ने धम्कीसमेत दिए,’ उनले भनिन्, ‘तर, बुबाको त्यो धम्की र हरकत हुँदा पनि मेरो व्यवहार परिवर्तन हुन सकेन।’
छोरी मान्छे भएकाले विवाह गरेर जानुपर्छ भन्ने दबाब परिवारको थियो। तर, त्यो बेला उनले भन्ने गरेकी थिइन्, ‘म बिहे गरेर त जान्छु, तर मसँगै त्यो महिला (जो कामको सिलसिलामा भेट भएकी थिइन्) लाई पनि सँगै लैजान्छु।’
फरक स्वभावकै कारणले परिवारभित्र तनाब सिर्जना हुन थालेपछि आमाले उनलाई कतिपटक सम्झाउन खोजेकी पनि थिइन्। आमाले जति नै सम्झाउँदा पनि उनलाई चित्त बुुझेन। आमाले उनलाई यस्तो नगर भनेर बारम्बार सम्झाउँथिन् तर लक्ष्मीलाई त्यो कुराले खुसी बनाउँदैनथ्यो। आफ्नो चाहना, इच्छा गुम्साएर राख्नुपर्दा उनलाई पीडा थियो। इच्छा गुम्साएर राख्नुपर्ने, खुलेर बोल्न नपाउने, हरेक कुरामा बन्देज हुने अवस्थामा बरु घरै छाड्नसम्मको उनले सोचाइ राख्न थालिन्।
लक्ष्मीले जहाँ काम सिक्दै थिइन्, त्यहीं भेट भएकी महिला साथी (जसलाई अहिले पार्टनर बनाएकी छिन्)सँग निकटता बढ्दो थियो। त्यो कुरा महिलाको परिवारले पनि थाहा पाए। लक्ष्मी र उनकी महिला साथीबीचको सम्बन्धलाई लिएर दुई परिवारबीच विवाद चल्न थाल्यो। साथीको परिवारलाई पनि उनीहरूको सम्बन्ध चित्त बुुझेको थिएन। परिवारको दिक्दारी खप्न नसकेर ती साथीले विषसमेत सेवन गरिन्। उनी नेवार समुदायकी थिइन्। ‘विष सेवन गरेर ज्यानै फाल्न खोज्दा पनि उनले मलाई छाड्न चाहिनन्। हुँदाहुँदै त्यहाँ जातको विवाद निम्तिन थाल्यो। यतिसम्म कि लक्ष्मी र उनको परिवारलाई चेलीबेटी बेचबिखनको आरोप पनि साथीको परिवारले लगाए,’ लक्ष्मी भन्छिन्। पारिवारिक कलह बढे पनि लक्ष्मी र साथीबीचको सम्बन्ध भने झनै कसिलो हुँदै गयो।
विष सेवन गरेकी साथी बिस्तारै निको हुँदै गइन्। जतिसुकै व्यवधान आए पनि उनी मसँग बस्न चाहन्थिन् तर परिवारका लागि त्यो अपाच्य थियो। उनको लक्ष्मीसँग बस्ने चाहना थियो तर परिवारको बाधा थियो। त्यो बेलासम्म ती साथी (हालकी पार्टनर) ले पनि आफैले आफूलाई चिन्न नसकेको अनुुभव अहिले लक्ष्मीलाई हुने गरेको छ। ‘सायद पार्टनरले पनि त्यो बेलासम्म आफैले आफूलाई चिन्न सकेकी रहिनछिन्। जब कामको दौरान मसँग भेट भयो त्यसपछि बिस्तारै निकटता बढ्न थाल्यो, मसँग भेट हुुनु नै उनका लागि सुखद संयोग थियो,’ लक्ष्मीले भनिन्, ‘त्यो बेला पार्टनरको महिलाप्रतिको झुकाव थियो, नकि पुरुषप्रति निकट हुनै चाहेकी थिइनन्। उनले भविष्यको राजकुमारका रूपमा मलाई नजिक ठानेकी थिइन्, कुनै पुरुषलाई उनले कल्पेकी थिइनन्।’
लक्ष्मी र पार्टनरको परिवारबीचको विवाद चुलिँदो थियो। दुुवै परिवारले उनीहरूलाई एकअर्काबाट छुट्याउन गरेको प्रयासलगायतका अप्ठेराले लक्ष्मी र उनको पार्टनर घरै छाडेर भाग्ने निर्णयमा पुगे। पारिवारिक गन्जागोलबीच उनीहरू भागेर काठमाडौं हिँडे। त्यसपछि भने उनीहरूका दुःखका दिन सुरु भए। काठमाडौं पुगेपछि लक्ष्मीको सम्पर्क सुनिलबाबु पन्त (जो ब्लु डायमन्ड सोसाइटी चलाउँथे) सँग भयो। त्यो बेला नेपालमा पहिलोपल्ट खुलेर आएको समलिंगी जोडीका रूपमा उनीहरूले पहिचान पाए।
‘नेपालमा पहिलो पटक हामी नै समलिंगी जोडीका रूपमा खुलेका थियौं,’ लक्ष्मीले भनिन्। ब्लु डायमन्ड सोसाइटी (बिडिएस) मा आउजाउ बढे पनि त्यहाँ लक्ष्मीले आफूजस्ता महिला कोही भेटिनन्। त्यहाँ पुरुष थिए, महिला थिएनन्। ती पुरुषको स्वरूप देख्दा स्वयम् लक्ष्मी पनि डराउँथिन्। जसले गर्दा उनलाई त्यहाँ जान मन थिएन, तर पार्टनरको प्रेसरले गर्दा उनको बिडिएसमा आउजाउ बढ्दै गयो।
बिडिएसमा आउजाउ बढ्दै गर्दा उनले आफ्नो र त्यही समुदायबारे केही बुुझ्ने मौका पनि पाइन्। अनि पार्टनर र आफूबीचको सम्बन्धको कानुनी आधार पनि खोज्न थालिन्। त्यसैक्रममा सपना प्रधान मल्लसँग उनीहरूको सम्पर्क भयो। पार्टनरले उमेर पुगेर परिपक्व भएकाले लक्ष्मीसँगै बस्न पाउनुपर्ने भनेर आफ्नै परिवारका विरुद्ध निवेदन दिइन्। हुन त परिवारले छुटाउन चाहेका थिए तर विवाह गर्ने उमेर पुगेकाले लक्ष्मीसँग बस्ने भन्दै परिवारविरुद्ध नै मुद्दा चलाइन्। यो प्रक्रिया सात वर्षसम्म चलेको थियो।
बिडिएसमा पन्तले पनि लक्ष्मीलाई आफूजस्तै महिलाको क्षेत्रमा काम गर्ने भए गर्नुस् भनेर प्रस्ताव पनि नराखेका होइनन्। हुन त नेपालमा बस्न गाह्रो हुने भनेर उनीहरू भारत पलायन हुन खोजेका थिए तर पन्तको सहयोगले लक्ष्मी काठमाडौंमा टिकिरहिन् र बिडिएसमै काम गरिरहिन्। त्यो बेला उनले पाँचहजार रुपैयाँ पारिश्रमिक पाउँथिन्। उता पार्टनरले बुटिकमा काम गर्थिन्। दुवैजना मिलेर डेराको बसोबासको खर्च जोहो गर्थे। लक्ष्मी काठमाडौं प्रवेश गर्दा १८ र उनको पार्टनर २२ वर्षकी थिइन्। ‘मैले नै फकाएर पार्टनरलाई ल्याएको हो कि भन्ने प्रश्न पनि मविरुद्ध उठ्थ्यो। तर, मेरो विरुद्ध कुनै प्रश्न उठ्दा पार्टनरले मेरै पक्षमा रहेर आरोपको खण्डन गर्थिन्, त्यसले गर्दा मलाई सहज भएको थियो,’ उनले भनिन्।
जब समुदायमा आफूजस्ता अरू पनि रहेछन् भन्ने बुुझ्न थालिन्, त्यसपछि उनले भिन्दै संस्था खोलेर काम गर्ने सोच बनाइन्। यसपछि उनले सन् २००४ मा मितिनी सपोर्ट ग्रुप नामक संस्था खोलिन्। मितिनी त्यस्तो साथ दिने संस्था बनोस्, जसले समस्यामा परेका आफूजस्तै व्यक्तिलाई सरसहयोग गरोस्। दुःख पाए मितको घर जानु, सुख पाए ससुराली जानु भन्ने उखानै छ नि ! त्यही सम्झेर उनले मितिनी नाम जुराएकी हुन्।
बेग्लै संस्था खोलिसकेपछि लैंगिक अल्पसंख्यकहरूले ठुलो भाग खोजेकोे आरोप लगाए। मितिनी सपोर्ट ग्रुप खोल्दा निकै नै गाह्रो थियो, आर्थिक अवस्था कमजोर थियो। पार्टनरले कमाएको पैसाले खान बस्न मात्र पुग्थ्यो। परिवारबाट सहयोग हुने कुरै भएन। पार्टनरले घरव्यवहार धान्ने गरेकी थिइन् र उनको हिम्मतले मितिनी नेपाल धानिन्।
नागरिक आवाज संस्थाकी रिता थापासँग उनको भेटपछि थापाले टेवा महिला कोषमार्फत लक्ष्मीलाई केही सरसहयोग हुन थाल्यो। त्यसपछि बल्ल उनी आफूजस्तै समुदायका मान्छेलाई भेला गराउन सफल भइन्। एक त महिलाको शरीर, त्यसमाथि लैंगिक अल्पसंख्यक ! अन्याय र भेदभाव त कुरै नगरौं। यस्तोमा टेवा महिला कोष र नागरिक आवाजको सहयोगपछि उनलाई केही हिम्मत बढ्यो।
सन् २००६ मा मितिनी नेपालको स्थापनापछि सुरुवात आफ्नै गृह जिल्ला र खासगरी हेटौंडामा काम थालिन्। ‘मलाई संस्था चलाउँदा असहयोग आफ्नै समुदायबाट थियो। म सहयोग नपाउँदा त्यो बेला यति धेरै रुन्थें कि, यो संघर्ष किन रोजेछु भन्ने लाग्थ्यो। यो क्षेत्रको कामै छाडौं भन्ने पनि लाग्थ्यो। यो अवस्थामा आउन कति संघर्ष गरेकी छु भन्ने मलाई मात्र थाहा भएकाले छाड्न मन लागेन। मैले यत्तिकै छाडें भने मजस्ता दूरदराजमा रहेका बोल्न नसक्नेका लागि कसले काम गर्छ भनेर संस्था छाड्न सकिनँ,’ उनले भनिन्।
आफ्नो पहिचान चिनाउन नसक्दा यो समुदायका कतिपय व्यक्तिलाई अप्ठेरो परेको छ। पहिचान बनाउन नसकेर कतिपयका घर बिग्रेका छन्, इच्छाविपरीत जर्बजस्ती सम्बन्ध बढाइदिँदा कतिपयले आत्महत्या पनि गरेका छन, ती सबै लक्ष्मीले बुुझेकी छिन्। ‘हाम्रो समुदायका कसैले आत्महत्या गरेको थाहा पाए भने त्यसको पछाडिका कारण खोजी हुँदैन। समाज र राज्य कसैले खोज्ने प्रयास गरेको छैन। बरु कसैसँग लसपस गरेकी थिई, मरेर गई भन्ने आरोप समाजले लगाउने गर्छ,’ उनी भन्छिन्।
यतिसम्म कि यो समुदायका सदस्यलाई मरेकै बेस भन्ने परिवारले पनि सोच्ने गर्छ। यस्तो व्यक्ति हामीसँग नभएकै बेस भन्ने परिवारले सोच्ने गरेको उनी सुनाउँछिन्। ‘हामी जस्ता पात्रका कारण देखाएर अरू भाइबहिनीको विवाह नभएको भनेर परिवारले सोच्ने गरेको छ। यो संस्कार परिवर्तन गर्न जरुरी छ,’ उनले भनिन्, ‘म त्यही संस्कार परिवर्तन गर्न लडिरहेकी छु, अझै लडिरहनेछु।’
लक्ष्मी अहिले मितिनी नेपालकी अध्यक्ष हुन्। संस्थाले सातैवटा प्रदेशमा काम गर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रको समलिंगी महिला, द्वयलिंगी महिला र ट्रान्स जेन्डर (पारालिंगी) को क्षेत्रमा काम गर्दै आएको छ। मितिनी नेपालले यही क्षेत्रका नागरिकको हकहितका लागि नीतिगत रूपमा काम गर्छ, त्यस्तै शिक्षाको क्षेत्रमा काम गर्छ। अवसर नपाएका समुदायका व्यक्तिका लागि लड्ने संस्था मितिनी नेपाल बन्न पुगेको छ। त्यसबाहेक मितिनीले क्षमता विकासका काममा सघाउँछ। समुदायका मान्छेलाई गरगहना बनाउने, अचार बनाउने, वारिस्टाको तालिम दिने गरेको छ। मितिनीले मात्र अहिलेसम्म ३३ सय जना बढीलाई विभिन्न सिपमूलक तालिम दिएको छ। त्यसबाहेक सांसदलाई नीति निर्माणमा सघाउने गरी तालिम दिएको छ भने विद्यालयका विद्यार्थी र शिक्षा क्षेत्रमा लागेका व्यक्तिलाई पनि तालिममा समेट्ने गरेको छ। अस्पतालमा पनि स्वास्थ्यकर्मीलाई तालिम दिने गरिएको छ किनभने उपचारमा यो समुदाय सबैभन्दा बढी पीडित हुने गरेको छ।
घलानका विचारमा पुरुष वा महिलाभन्दा पनि समाजमा मान्छेलाई मानवीय व्यवहारको खाँचो छ। मानवमा हुनुपर्ने गुण कहिल्यै पनि बिर्सन नहुने उनको सुुझाव छ। उनीजस्ता लैंगिक अल्पसंख्यक करिब ३ हजार छन् तर धेरैजसो खुल्न चाँहदैनन्। त्यसले गर्दा पनि वास्तविक संख्या नआउने गरेको लक्ष्मीको अनुभव छ। परिवारका सदस्य तेस्रो लिंगी भए पनि सबैले ढाकछोप गर्न रुचाउँछन्।
लैंगिक अल्पसंख्यकलाई अस्पतालमा उपचारका लागि जाँदा पनि समस्या छ। ‘हामी यो समुदायका मान्छे हौं भन्दा चिकित्सकले पनि उपचार गर्न चाहँदैनन्। रोग नै सर्लाजस्तो व्यवहार गर्छन्,’ उनले भनिन्, ‘हामी यस्तो सोचविरुद्ध लडिरहेका छौं।’
लक्ष्मी जुन ठाउँमा अहिले छिन्, त्यसले उनलाई लक्ष्मी घलान बनाएको हो। उनलाई पनि प्रहरी बन्न मन नलागेको होइन तर त्यहाँ उनी नअट्न पनि सक्थिन्।
उनी अहिलेको पार्टनरसँग बसेको २४ वर्ष भयो। सन्तानमा, विवाहमा समानता हुनुपर्छ भनेर उनले लबिङ गरिरहेकी छिन्। परिवारमा छोराछोरी नभनेर सन्तान भन्नुपर्छ, पति र पत्नीको साटो दाम्पत्य भन्नुपर्छ, बुबा र आमाको साटो अभिाभावक भन्नुपर्छ भनेर लक्ष्मी र उनको समूह कानुनी लडाइँमा छ। त्यसका लागि सर्वाेच्चमा मुद्दा हालेका छन्। पुरुष र महिला मात्र नभई अरू पनि छन् भन्ने समाजले नबुुझेर विभेद गरेकोमा उनको चित्त दुखाइ छ। शब्दमा लिंगका आधारमा विभेद गर्न पाइँदैन भन्ने लागेर उनी कानुनी लडाइँमा लागिपरेकी छन्।
‘हाम्रो समुदायका व्यक्तिमाथि बच्चा जन्माउन नसक्ने आरोप लाग्छ। मसँग बच्चा जन्माउन सक्ने क्षमता भए मैले जन्माउन सक्छु। मेरो पार्टनरले पनि जन्माउन सक्छिन् तर मलाई बच्चा जन्माउन मन लागेन,’ उनले भनिन्, ‘मेरो पार्टनरले बच्चा जन्माउन सक्छिन् तर एकजना महिलाले मात्र बच्चा त जन्माउन सक्दिनन्। प्रविधि भए पनि कानुनी बाटो खुला छैन।’
परिवारमा कुनै बेला सम्बन्धमा दरार आए पनि अहिले नराम्रो छैन। अहिले पनि उनले बुबा, भाइ र बहिनीलाई भेट्छिन्। समस्या पर्दा सघाउने गरेकी छन्। बुबाको विचार व्यवहारसँग उनको द्वन्द्व थियो तर बुबासँग अहिले पनि सम्पर्क छ। ‘समय परिस्थितिले नबुुझ्दा त्यो बेला लड्नुपरेको हो,’ उनले भनिन, ‘ बुबाको दोष थिएन, सायद परिवारको इच्छा बुुझ्न नसक्नु कमजोरी थियो।’
प्रकाशित: ११ वैशाख २०८० १३:२८ सोमबार