समाज

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

काठमाडौं— मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान हल्का वर्षा हुँदा चिसो बढेको अनुभव गरिएको हो। बिहीबारदेखि काठमाडौंको आकास धुम्म देखिएको थियो।

मध्य र पश्चिमी क्षेत्रमा प्रभाव पारेको पश्चिमी वायु पूर्वतर्फ सर्ने क्रममा मौसम बिग्रिएको जनाइएको छ। 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान करिब ९ बजेको काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्यिसेस रहेको जनाएको छ। ‘शुक्रबार देशभरि नै बादल लाग्ने र केही भागमा हल्का वर्षा हुनेछ’, महाशाखाले भनेको छ, ‘उच्च हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना छ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घन्टामा धनगढीमा ७, डडेल्धुरामा ६, दिपायलमा ५, वीरेन्द्रनगर र जुम्लामा २२, नेपालगञ्जमा १, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ। 

मध्य र पश्चिमी क्षेत्रमा प्रभाव पारेको पश्चिमी वायु पूर्वतर्फ सर्ने क्रममा मौसम बिग्रिएको जनाइएको छ। शनिबारदेखि मौसम सफा हुँदै जाने बताइएको छ।

प्रकाशित: १४ माघ २०७३ ०४:५१ शुक्रबार

काठमाडौंमा हल्का वर्षा हिमाली भेगमा हिमपात