समाज

सेवाका पर्याय

‘यसपटक देवीघाट सफाइ: नियमित वाग्मती सफाइ अभियानको ४८२ हप्ताको कार्यक्रमअन्तर्गत यो हप्ता नुवाकोट जिल्लास्थित देवीघाट सफाइ अभियान गरिँदैछ। कार्यक्रममा सबैलाई निम्तो छ’- २०८० वैशाख ९ गते शनिबार, बिहान ७.३० बजेका लागि निर्धारित कार्यक्रम।

‘वाग्मती सफाइको ४८१ हप्ता। वैशाख २ गते बिहान ७ बजे गोठाटार पुलमा सहभागी बनौँ। जिरोवेस्ट प्रणालीमा परिवर्तन सम्भव छ’–अघिल्लो साताको कार्यक्रम। प्रत्येक शुक्रबार साँझ उत्तम पुडासैनीको फेसबुक भित्तोमा आउने जानकारीमध्येका पछिल्ला २ वटा यस्ता थिए।यही जानकारीलाई आधार मानेर कतिपय सफाइ चाहनेहरू उक्त कार्यमा संलग्न हुन्छन्। कतिपय भने पढेर ए... भनेर चूपचाप बस्छन्। तर आफूले राखेकै जानकारीका आधारमा कोही सफाइ अभियानमा आउँछ वा आउँदैन भन्ने उत्तमको चासोका विषय हैन। ‘आए आउँछन्, कोही नआए एक्लै भए पनि अभियान छाडिन्न’-उत्तमको भनाइ छ।

माथि उल्लिखित हप्ताबाटै थाहा हुन्छ उत्तम र उनका साथीहरूले वाग्मती सफाइ अभियान थालेका मिति। अनि यति लामो समयसम्म यसलाई निरन्तरता दिन सक्नुले पुष्टि गर्छ कि वाग्मती सफाइ अभियन्ताहरूको वाग्मती सफाइ गरिछाड्ने दृढ अठोट। त्यसैले त न झरी, न चर्को घाम, न आँधी न त खुट्टै ठिङ्गुर्‍याउने ठण्डी–केहीले रोक्दैन उनी र उनका सहयोगीलाई। वाग्मती नजिक पुग्दा नाक थुन्ने त को नहोला र? अझ त्यहाँको पानी त हजार रुपियाँ दिन्छु भने पनि छुन तयार हुने अपवादबाहेक कोही भेटिन्न। तर उत्तम र उनको समूह यही कारण त ‘महान्’ छ जसले यी कुनै कुरा मतलव गर्दैन, सबैको उद्देश्य मात्र एउटै छ–वाग्मती सफा हुनुपर्‍यो, बस्।

न झरी, न चर्को घाम, न आँधी न त खुट्टै ठिङ्गुर्‍याउने ठण्डी–केहीले रोक्दैन उनी र उनका सहयोगीलाई। वाग्मती नजिक पुग्दा नाक थुन्ने त को नहोला र?

नामै वाग्मती सफाइ अभियन्ता। त्यसैले उत्तमको सफाइ अभियान वाग्मतीमा मात्र केन्द्रित ठान्नेहरू धेरै छन्। जुन स्वाभाविक पनि हो। तर माथि उल्लिखित जानकारीले नै पुष्टि गर्छ कि नाम वाग्मतीको जोडिए पनि उनलाई देशभरका नदी प्रदूषित भएकामा चिन्ता छ। त्यसैले त उनी आफ्ना सहकर्मीका साथ कहिले देवीघाट पुग्छन् त कहिले बुटवल। कहिले धादिङ पुग्छन् त कहिलेस्याङ्गजा।

वृद्ध आमाबाबुका असली सेवक श्रवणकुमारको महिमा नेपाली घरघरमा गुञ्जन्छ अहिले पनि। तिनै श्रवणकुमारको कथा जोडिएको आँधी खोलामा बढ्दै गरेको प्रदूषणले पनि उनलाई नराम्रोसँग घोच्यो।अनि गएको फागुन १३ गते पुगे त्यतै, फोहोर बोक्ने झोलासमेत च्यापेर।सफाइपछि वृक्षरोपण पनि गरे। त्यस अवसरमा भविष्यका कर्णधार भनिने विद्यार्थीलाई वृक्षरोपणको महिमा सुनाए। अनि अभिभावकलाई चाहिँ धर्ती बचाउने अभियानमा लाग्न किन ढिला गरेको भनेर सोधे।

सफा र कञ्चन आँधी खोलामा खुट्टा चोबल्दाको आनन्द वर्णनै गर्न नसकिने भन्दै उनले चिन्ता पनि व्यक्त गरेका थिए–आखिर यस्तो अवस्था कहिलेसम्म कायम राख्न सकिएला? उनलाई राम्रोसँग थाहा छ–४८२ हप्तासम्म सफाइ अभियानमा निरन्तर लाग्दा त वाग्मतीको हालत दयनीय छ भने एकपटक गएर केही मान्छेले सफा गर्दैमा मोफसलका नदी सफा हुने हैनन्। त्यसैले अहिल्यैदेखि नदी सफा राख्न ध्यान दिइएन भने मुलुकका सबै नदीले वाग्मतीको नियति भोग्नुपर्छ भन्ने सन्देश दिनु नै आफूहरूको अभियान भएको उनको भनाइ छ। ताकि स्थानीय बासिन्दा, अभियन्ता, विद्यार्थी, अभिभावक, प्रबुद्ध वर्ग र सरोकारवाला निकायहरू अहिल्यैदेखि सतर्क होउन्।

वृद्ध आमाबाबुका असली सेवक श्रवणकुमारको महिमा नेपाली घरघरमा गुञ्जन्छ अहिले पनि। तिनै श्रवणकुमारको कथा जोडिएको आँधी खोलामा बढ्दै गरेको प्रदूषणले पनि उनलाई नराम्रोसँग घोच्यो।

मानिसले कल्पनै गर्न सक्दैन कि कसैले बाहिरफेर घुमेर आउँदा झोलामा फोहोरको कोसेली बोकेर ल्याउँछ। तर पत्याए पनि नपत्याए पनि उत्तमको झोलामा हुने फोहोर नै हो। उनी बाहिरफेर जाँदा कसैले फ्रुटी दियो भने त्यसको खोल फ्याँक्दैनन्, झोलामा हाल्छन्। चिया दिइएको प्लास्टिकको ग्लास पनि झोलामै हाल्छन्। चकलेटको बोक्रोसमेत जथाभावी फ्याँक्न मान्दैनन् उनका हात। यस्ता फोहोर हाल्दा झोलाको आकार जतिसुकै बढोस् उनलाई कुनै मतलव छैन।

मतलव छ त, आफूले गरेको फोहोरको सजाय अरूले भोग्न नपरोस् भन्नेमा। घरबाट निस्कने फोहोरलाई अधिकतम जिरोवेस्टमा अनुवाद गर्न सक्दा हाल उत्सर्जन भैरहेको फोहोरमा ९० प्रतिशतसम्म न्यूनता ल्याउन सकिने दाबी गर्ने उत्तमको फोहोर व्यवस्थापन गर्ने आफ्नै शैली छ-कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने।नकुहिने र खासगरी प्लास्टिकजन्य घरेलु फोहोरबाट इको ब्रिक बनाउने।

फोहोर व्यवस्थापनको उपदेश मात्र दिएर हिँड्दैनन् उनी। प्लास्टिकजन्य फोहोरलाई बोतलमा कोचेर कसरीइको ब्रिकबनाइन्छ भन्ने तालिमसमेत दिन्छन्। विभिन्न समूह र विद्यालय यसरी तालिम दिइने लक्षित समूहमा पर्ने गरेका छन्।अनि त्यसरी तयार गरिएको इको ब्रिक खरिदसमेत गरिदिन्छन्। गएको चैत २ गते मात्र जोरपाटीस्थित सङ्गम महिला विकास समाजले झण्डै ४ महिनादेखि घरमा जम्मा भएका प्लास्टिकजन्य फोहोरबाट बनाएका इको ब्रिक उत्तम र उनका सहकर्मीले किनिदिए।

यसबाट एकातिर झण्डै ५० घरको ४ महिनाको प्लास्टिकजन्य फोहोर तह लागेको थियो भने अर्कोतर्फ त्यसबाट १२०० रुपियाँ आम्दानीसमेत गरेका थिएब्रिक बनाउनेले। अहिले दर्जन भन्दा बढी समूहले फोहोरलाई मोहरमा रूपान्तरण गर्ने यही कर्म अपनाएका छन्।सिद्धान्तलाई व्यवहारमा उतार्ने ‘उत्तम शैली’ वास्तवमै अनुशरणीय छ।

फोहोर व्यवस्थापनको उपदेश मात्र दिएर हिँड्दैनन् उनी। प्लास्टिकजन्य फोहोरलाई बोतलमा कोचेर कसरीइको ब्रिक बनाइन्छ भन्ने तालिमसमेत दिन्छन्।

धेरै छन् समाजसेवासँग जोडिएका उत्तमका कर्म। उनी हरित लाइब्रेरी बनाउने अभियानमा पनि छन् जसअन्तर्गत प्रत्येक घर हरितगृहका रूपमा परिणत हुनेछन्। यसका लागि जोसँग घरमा बढी भएका बिरुवा छन् त्यो सङ्कलन गर्छन् र आवश्यक हुनेलाई वितरण गर्छन्।

सडकमा छाडिएका गाई/बाछा ल्याउँछन्, घाउ/चोट लागेका वा बिरामी परेका भए उपचार गराउँछन् र मजाले पाल्छन्। मल आफैँ घर/घरमा पुर्‍याउँछन् र ती गाई/बाछाका लागि आहारा जुटाउँछन्। उनलाई धेरै सहयोगीको साथ पनि छ जुन आफूले कहिल्यै नभुल्ने सुनाउँछन् पनि।

फाइदा लिनु जति लिइसकेपछि स्वार्थीहरूले घरबाट लखेटिदिएका बाछा कुकुरको आहारा बनेका छन्। कति त घाइते अवस्थामा छट्पटाइरहेका हुन्छन्। हाम्रा आफ्ना बच्चा र यी अबोध प्राणीमा के फरक छ? पानी पिउन नपाएर काकाकुल बन्नुपरेको पीडा, खान नपाएर सडकमा फालिएका प्लास्टिक निल्नुपर्ने बाध्यता, अनेक रोगब्याधले सताएर अर्धमृत शरीरलाई घिच्याउँदै बाँच्नका लागि सङ्घर्ष गर्नुपर्ने पीडाले उनलाई बेलाबेला निकै सताउँछ रे। त्यसैले त उनी आग्रह गर्छन् प्रत्येक मान्छेसँग–मान्छे बन्न मान्छे भएर यी र यस्तै पीडा बोध हुनुपर्छ। हामीमा हराउँदै गएको मानवता कतै मानव सभ्यताकै निकृष्ट उदाहरण नबनोस्।

फाइदा लिनु जति लिइसकेपछि स्वार्थीहरूले घरबाट लखेटिदिएका बाछा कुकुरको आहारा बनेका छन्। कति त घाइते अवस्थामा छट्पटाइरहेका हुन्छन्। 

अन्त्यमा,

१० वर्षसम्म अमेरिका बसेका, राम्रो आर्जन गरेका उत्तम पुडासैनीसँग त्यतिबेला सम्पत्ति थियो। कुनै तनाव थिएन। अझै बढी कमाउने अवसर पनि थियो। तर यतिबेला उनीसँग कमाइ छैन। कमाउने सोच पनि छैन। तर पनि उनी सन्तुष्ट छन् किनकि उनी सम्पूर्ण मानव सभ्यताकै जननी नदी सफाइ कर्ममा जुट्न सकेका छन्।

आफ्नो धर्ती स्वच्छ राख्ने अभियानमा हातेमालो गर्न सफल भएका छन्। जसले उनलाई आधुनिक स्वर्ग मानिने अमेरिका र विश्वकै सबै भन्दा आकर्षणको चिज ‘डलर’ ले पनि उपलब्ध गराउन नसकेको सन्तुष्टि दिलाएको छ। शुभकामना उत्तम पुडासैनीलाई, लक्ष्यले गन्तव्य चुम्ने अवधि छोट्टिन सकोस्।

प्रकाशित: ११ वैशाख २०८० ०२:२७ सोमबार

सेवाका पर्याय वाग्मती सफाइको ४८१ हप्ता