समाज

खण्डहरबाट उभिँदै सिन्धुपाल्चोक (फोटोसहित)

सिन्धुपाल्चोक–इन्द्रावती र सुनकोसी नदीमा ट्रक, ट्रिपर लामबद्ध छन् । ती गिटी र बालुवा लोड गर्न पालो पर्खाइमा बसेका हुन् । त्यसैले यी दुई नदी हिजोआज चौबीसै घन्टा ब्यस्त छन् । गिटी, बालुवा, सिमेन्ट, ईँटा, छड, ढुंगामाटो र काठ लगायत निर्माण सामग्री ओसार्ने सवारी साधनको चाप राजमार्ग, सहायक मार्गमा मात्र होइन ग्रामीण सडकमा समेत देखिन्छ । गाउँ–गाउँमा खण्डहर पन्छाउने, घँडेरी सम्याउने, सामग्री जुटाउने लहर छ । असारमासमा खेती लगाउनेभन्दा बढी चटारोमा छन् गाउँले ।

सरकारले सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालनी गरे पनि सात महिनासम्म अलमलिएको पुनर्निर्माणले पुसदेखि सकरात्मक गति लिइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गरेर अभियानको घोषणा गरेका थिए । पुस पहिलो सातासम्म १ हजार ८ सय पीडितले घर बनाउन थालेकोमा एकै महिनामा पुनर्निर्माण सुरु गर्नेको संख्या ह्वात्तै बढेर मंगलबारसम्म ४ हजार १ सय २४ पुगेको छ । पुनर्निर्माण थालेर साढे ५ सय पीडित दोस्रो र १४ परिवार तेस्रो किस्ताको पर्खाइमा छन् ।

बिनासकारी भूकम्पको २० महिनापछि सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक खण्डहर र भग्नावशेषबाट क्रमशः उठ्दै छ । अर्थात, जिल्लामा भूकम्पपछिको पुनर्निर्माणले गति लिँदै गएको छ । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म घर बनाउने चटारो छ । टोल, बस्ती र गाउँहरुमा धमाधम घर बनिरहेका छन् । पछिल्लो एक महिनामा मात्र झण्डै २ हजार ३ सय घर बन्न थालेका छन् ।

‘पुनर्निर्माण लहर सुरु भइसक्यो । बल्ल पुनर्निर्माणले गति लियो,’ सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख टंक गौतमले नागरिकसँग भने, ‘यो गति कम हुने होइन बरु तीव्र हुने देखियो ।’ गत वर्ष वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकलाई खण्डहरमा बदल्दै ३ हजार ५ सयभन्दा बढीको ज्यान लियो । त्यसको एक वर्षसम्म भूकम्प पीडित जिल्लावासी शोक र भोकले अलमलिए ।

सरकारले सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालनी गरे पनि सात महिनासम्म अलमलिएको पुनर्निर्माणले पुसदेखि सकरात्मक गति लिइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गरेर अभियानको घोषणा गरेका थिए । पुस पहिलो सातासम्म १ हजार ८ सय पीडितले घर बनाउन थालेकोमा एकै महिनामा पुनर्निर्माण सुरु गर्नेको संख्या ह्वात्तै बढेर मंगलबारसम्म ४ हजार १ सय २४ पुगेको छ । पुनर्निर्माण थालेर साढे ५ सय पीडित दोस्रो र १४ परिवार तेस्रो किस्ताको पर्खाइमा छन् ।

प्रशासनिक केन्द्र सदरमुकाम चौतारा, पूरानो व्यापारिक केन्द्र बाह्रविसे र पश्चिमी क्षेत्रीय मुकाम मेलम्चीमा पुनर्निर्माणले गति लिँदै गएको छ । चौतारा र मेलम्ची नगरपालिका भएकाले नक्सा पास गराउनु पर्ने झञ्झटिलो प्रक्रियाले पुनर्निर्माणले गति लिन नसकेको देखिन्छ ।

‘आफ्नो घर आफैँ बनाउन पीडित जागरुक भए,’ जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर रहेका गौतम पुनर्निर्माणले गति लिनुको कारण खुलाउँदै भन्छन्, ‘सरकारले अनुदान दिनेमा पीडितमा विश्वास देखियो ।’ दोस्रो किस्ताका लागि अनुदान निकासा भइसकेकाले पुनर्निर्माणले अझै गति लिने उनी बताउँछन् ।

डिभिजन कार्यालयका अनुसार हिमाली सेलाङबाहेक बाँकी सबै दुई नगरपालिका र ६७ गाविसमा पुनर्निर्माण सुरु भइसकेको छ । दिनानुदिन पुनर्निर्माण थालिएका घरको संख्या बढ्दो छ । भूकम्पपछि झण्डै १ हजार घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । नवनिर्मित घरको प्राविधिक परीक्षण भइरहेको गौतमले जानकारी दिए ।

पुनर्निर्माणमा सहरी र सुगम क्षेत्रभन्दा दुरदराजका दुर्गम र हिमाली गाउँ अगाडि देखिएका छन् । भूकम्प र भोटेकोसी बाढीले लामो समय सडक, सञ्चारबाट टाढिएको सीमावर्ती गाविस तातोपानीमा सबैभन्दा बढी ६ सय ६५ घर निर्माणाधीन छन् । सँगैको अर्को सीमावर्ती हिमाली गाउँ फुल्पिङकट्टीमा ३ सय ९९ घर बन्दै छन् । राम्चे गाविसका २ सय ५ पीडितले धमाधम घर बनाइरहेका छन् ।

ग्रामीण क्षेत्रका बतासे, मानेश्वाँरा, धुस्कुन, स्याउले लगायत आधा दर्जन गाविसमा १ सयभन्दा बढीको संख्यामा पीडितका आवास बनिरहेका छन् । जिल्लाकै सबैभन्दा दुर्गम कर्णाली क्षेत्र भनेर चिनिएका गाविस गोल्चेमा १४, गुम्बामा ४० र पाङताङमा ३९ घर निर्माणधीन रहेको डिभिजन कार्यालयका तथ्यांक छ ।

प्रशासनिक केन्द्र सदरमुकाम चौतारा, पूरानो व्यापारिक केन्द्र बाह्रविसे र पश्चिमी क्षेत्रीय मुकाम मेलम्चीमा पुनर्निर्माणले गति लिँदै गएको छ । चौतारा र मेलम्ची नगरपालिका भएकाले नक्सा पास गराउनु पर्ने झञ्झटिलो प्रक्रियाले पुनर्निर्माणले गति लिन नसकेको देखिन्छ । भूकम्पपछि ७२ घर बनिरहेको चौतारा नगरपालिकामा २ सय ११ नक्सा पास भइसकेको छ । ‘आधाभन्दा बढी नक्सा पास पछिल्लो एक महिनामा भएका हुन्,’ नगरपालिकाका निमित्त कार्याकारी अधिकृत इन्जिनियर बद्री भुजेलले भने ।

सरकारले तीन वर्षभित्र व्यक्तिगत आवास पुनर्निर्माण सक्ने लक्ष्य लिएको छ । सिन्धुपाल्चोकमा भूकम्प पीडित लाभग्राहीको संख्या ७८ हजार छ । लक्ष्य अनुसार एकतिहाइले आगामी असारभित्र २६ हजार घर बन्नु पर्नेछ । पीडितको घर बनाउने जागरुकता देख्दा सहजै पुनर्निर्माण लक्ष्य भेट्टाउन सकिने डिभिजन कार्यालयका निमित्त प्रमुख गौतम बताउँछन् ।

दोस्रो किस्ता तत्काल

पहिलो किस्ता ५० हजारले जग हालेका पीडितले तत्काल दोस्रो किस्ता पाउने भएका छन् । यसको जिम्मेवारी पाएका जिविस र भवन डिभिजन कार्यालय तयारीमा जुटेका छन् । डिजिभन कार्यालयले पुनर्निर्माणमा सघाउन खटिएका प्राविधिकलाई बुधबार र बिहीबार प्राविधिक निरीक्षण सम्वन्धी तालिम दिँदैछ । निर्मित संरचनाको प्राविधिक जाँच गराइसकेका ६० परिवारलाई दोस्रो किस्ता अनुदान डेढ लाख वितरण गर्न अख्तियार प्राप्त भइसकेको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताए ।

‘आजभोली नै अनुदान छोड्न सक्ने अवस्थामा जिविस छ,’ उनले भने । अनुदान पाउने लाभग्राहीमध्ये ७४ हजार ९ सय ८९ ले सम्झौता गरेर ७३ हजार ५ सय ५२ ले पहिलो किस्ता पाइसकेका छन् ।  

तस्बिरमा भूकम्प पछि निर्माण गरिएका केही घरहरू। तस्बिरः ध्रुव दंगाल/नागरिक

खण्डहरबाट उभिँदै सिन्धुपाल्चोक फोटोसहित