समाज

भुइँचालोले बास खोस्यो, लोकमार्गले थलो

मध्यपहाडी लोकमार्ग निर्माण हुने भएपछि सडक मापदण्डअनुसार नयाँ घर निर्माण गर्न नपाउने भूकम्प पीडितको बस्ती धमिलीकुवाको बांगेचौर गाउँ ।

(धमिलीकुवा) लमजुङ–राइनासटार नगरपालिका ३ धमिलीकुवा बांगेचौरका बुदे सार्कीको परिवार विनाशकारी भूकम्पले घर भत्काएपछि झन्डै दुई वर्ष देखि टहरोमा बस्दै आएको छ । टहरोमा घामपानी र हुरीबतास कष्टपूर्वक छल्दै आएको ६ जनाको यो परिवारको नयाँ घर बनाएर बस्ने सपना अब कहिल्यै पूरा नहुने भएको छ ।

गाउँको बीचबाट मध्यपहाडी लोकमार्ग निर्माण हुन लागेको र भूकम्पपीडितको घरजग्गा पनि सडकभित्रै पर्ने भएकाले उनीहरूले नयाँ घर बनाउन नपाउने भएका हुन् । लोकमार्गको बीचबाट दायाँबायाँ ६÷६ मिटर सेटब्याकसहित २५÷२५ मिटर गरी ६२ मिटर चौंडाइभित्र घर तथा सार्वजनिक संरचना निर्माण नगर्न मध्यपहाडी लोकमार्ग आयोजनाले सूचना टाँस गरेको छ । सोही सूचनाका आधारमा पीडितलाई मापदण्डविपरित घर बनाउन राइनास नगरपालिकाले नक्सा पास नगरेको पीडितले बताएका छन् ।
गाउँका अधिकांशको घर भूकम्पले पूर्ण क्षति बनाएको थियो । घर पुनर्निर्माणको पर्खाइमा रहेका दलित बस्तीका विपन्नहरू लोकमार्गका कारण नयाँ घर बनाउन नपाउँदा थप पीडित बनेका छन् ।

नगरपालिकाले घर बनाउन नपाउने भन्दै फर्काइदिएको पीडित ६२ वर्षे लालबहादुर सुर्खेती बताउँछन् । उनको ११ जनाको परिवार टहरोमा बस्दै आएको छ ।  चेपे नदीदेखि झन्डै २ किलोमिटरसम्म सडकको दायाँबायाँका स्थायी बासिन्दाका अन्यत्र जग्गाजमिन नभएकाले अब सधंै टहरोमै बस्नुपर्ने अवस्था आएको ४६ वर्षीय चन्द्रबहादुर मौरतीले बताए । ‘भुइँचालोले घर भत्कायो, छाप्रो हालेर बस्यौं,’ मौरतीले भने, ‘दुःखजिलो गरेर स्यानो घर बनाउँला भनेको, लोकमार्गले थातथलो उठाउने भयो हजुर !’

सडक आयोजनाले बसोबासका लागि जमिन उपलब्ध नगराए गाउँका थुप्रै दाजुभाइ सुकुमबासी बन्ने उनी बताउँछन् । लोकमार्गका बारेमा केही  थाहा नभएकाले घर बनाउन नपाइने विषयमा कुनै जानकारी नभएको स्थानीय एकबहादुर नेपाली बताउँछन् । यस विषयमा सम्बन्धित निकायले आधिकारिक जानकारी नदिएको गुनासो पीडितको छ ।

७५ घरधुरी रहेको बांगेचौरमा दलित समुदायका मात्रै ६५ परिवार रहेको स्थानीय खिमबहादुर नेपालीले बताए । उनका अनुसार सबैका घर भूकम्पले भत्काएको थियो ।
च्वाइस नेपाल नामक संस्थाले प्रतिपरिवार २ लाख रुपैयाँ सहयोग गरेको र बांगेचौरमा लोकमार्गको मापदण्डअनुरूप ६२ मिटरभन्दा पर २ परिवारले  घर बनाएको च्वाइसका टिमलिडर सुकराम दुलालले बताए ।

लोकमार्गको मापदण्डबारे नगरपालिकामा आयोजनाका तर्फबाट लिखित जानकारी नआएको र ६२ मिटर छाडेर सूचना टाँस भएको भन्नेसम्म सुनेको नगरपालिकाका कार्यकारी प्रमुख नुरराज कडरिया बताउँछन् । गत वर्षको नगरपरिषद्ले सो क्षेत्रमा २ मिटर सेटब्याकसहित १० मिटर बाटो कायम गर्ने निर्णय गरेको जानकारी उनले दिए।

धमिलीकुवादेखि सुन्दरबजार, भोर्लेटार हुँदै रामबजारसम्म लोकमार्गको रुट तय भएको बाहेक अन्य प्राविधिक सूचना र जानकारी जिल्लामा प्राप्त नभएको स्थानीय विकास अधिकारी शेखर पौडेल बताउँछन् । सडक निर्माण गर्दा दोहोरो काम नहोस् भन्ने उद्देश्यले जिविस आफैंले आयोजनासँग जानकारी माग गरेको उनले बताए ।

छिमेकी जिल्ला गोरखाको ठाँटीपोखरीबाट मध्यपहाडी लोकमार्गको निर्माण भइरहेको र केही दिनमै चेपे नदी तरेर धमिलीकुवा क्षेत्रमा काम सुरु हुने द कञ्चनजंघा निर्माण कम्पनीका प्राविधिक रमेश ढकालले बताए । बांगेचौरदेखि पाउँदीढिकसम्म साढे १० किलोमिटर खण्डमा लोकमार्गको काम हुने उनी बताउँछन् ।

 

प्रकाशित: १२ माघ २०७३ ०८:३३ बुधबार

भुइँचालोले बास खोस्यो लोकमार्गले थलो