समाज

बारा–२: निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, तीन हजार सुरक्षाकर्मी परिचालन

शनिबार मतदान केन्द्रको निरीक्षण गर्दै नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख जनक भट्टराई र सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र साह।

बैशाख १० गते आइतबार बारा–२ मा हुने उपनिर्वाचनको लागि तीन हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

निर्वाचन क्षेत्रमा रहेको ८२ वटा मतदान स्थलहरूबाट शान्तिपूर्ण मतदान सम्पन्न गराउनको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। शनिबार नेपाल प्रहरीका लागि मधेस प्रदेश प्रमुख जनक भट्टराई र सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र साहले मतदान केन्द्रको स्थलगत निरीक्षण समेत गरेका थिए।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा–२ को उपनिर्वाचनलाई निष्कक्ष र शान्तिपुर रुपमा सम्पन्न गर्न नेपाली सेनाका चार सय, सशस्त्र प्रहरी बलका सात सय र नेपाल प्रहरीका १८ सय गरेर २९ सय सुरक्षाकर्मीहरुलाई फिल्डमै खटाइने व्यवस्था गरिएको बताए।

फिल्डमा खटिने सुरक्षाकर्मी बाहेक पनि थप सुरक्षाकर्मीहरुलाई रिजर्भमा रहने भएकाले मतदान शान्तिपूर्ण सम्पन्न हुने प्रजिय सापकोटाले बताए। बारा –२ मा निर्धारण गरिएको ८२ वटा मतदान स्थलहरु मध्ये ६५ वटा मतदान स्थलहरु संवेदनशील रहेको उनले बताए।

भारतसँग सीमा जोडिएका क्षेत्रका दक्षिणी भागको संवेदनशील रहेको मतदान स्थलहरुहरुमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गराउनको लागि सामान्य मतदान स्थल भन्दा बढी सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको उनले बताए।

८२ वटा मतदान स्थाललाई एक सय ३८ वटा मतदान केन्द्र समेत बनाइएको र मतदान कार्य गराउनको लागि लगभग आठ सयको हाराहारीमा मतदान अधिकृत सहितको कर्मचारी खटाउने व्यवस्था मिलाइएको प्रजियले बताएका छन्।

६ वटा स्थानीय तहहरुको ४४ वटा वडाहरुमा पबारा –२ को निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ जना मतदाताको संख्या रहेका छन्।

बारा २ बाट निर्वाचित राम सहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २२ गरी ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ३४ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित ‘हरुवा’ नेताहरूकैबीचमा प्रतिस्पर्धा हुने देखिन्छ।

मुख्य राजमार्ग बाहेक अन्य सडकमा सवारी साधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालयले निर्वाचन सुरक्षाका लागि आइतबार बाराको मुख्य राजमार्गबाहेक अन्य सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

बैशाख १० गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म अनुमति प्राप्त बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रजिय सापकोटाले बताए।

पूर्वपश्चिम राजमार्गको धन्सार–पथलैया र त्रिभुवन राजपथको पथलैया–वीरगन्ज सडक खण्ड बाहेक अन्य सडकमा सवारी आवागमन बन्द रहने उनले बताए। पर्सा र रौतहटबाट बारा प्रवेश गर्ने अन्य सडक नाका समेत बन्द रहने बताइएको। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मुख्य राजमार्ग बन्द नहुने तर उक्त राजमार्गबाट भित्री सडकमा प्रवेश गर्न भने नपाइने बताए।

भारतसँग जोडिएका जिल्लाका सीमा क्षेत्रहरू सिल मतदान सम्पन्न नभएसम्मका लागि सिल गरिएको प्रजिय सापकोटाले बताएका छन्।

प्रकाशित: ९ वैशाख २०८० १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App