समाज

आफैं शरणार्थी बन्नुपरेको महिला आयोगको दुःखेसो

राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले भौतिक पूर्वाधार र जनशक्ति अभावमा आयोगले सोचेजस्तो काम गर्न नसकेको बताएकी छिन्। उनको भनाइ छ, ‘अहिलेसम्म आफ्नै भवनसमेत नभएकाले राम्रोसँग बसेर नीति र योजनाबारे छलफल गर्ने ठाउँसमेत छैन। यस्तो अवस्थामा कसरी सोचेजस्तो काम गर्न सकिन्छ?’

आयोगको चौमासिक गतिविधिबारे जानकारी दिन खाद्य तथा व्यापार कम्पनीको सभाहलमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘तापनि हामीले आफ्नोतर्फबाट सकेसम्म कामचाहिँ गरेका छौं।

राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले भौतिक पूर्वाधार र जनशक्ति अभावमा आयोगले सोचेजस्तो काम गर्न नसकेको बताएकी छिन्।

आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग आदिले प्रदेश कार्यालय खोल्न पाउने तर महिला आयोगलाई भने किन नदिने भन्दै सत्ता सञ्चालकको दिमागबाट अहिले पनि पुरुष सोच नहटेको गुनासो गरिन्।

आयोगकी सदस्य विद्याकुमारी सिन्हाले हिंसापीडित महिलामध्ये सबैभन्दा बढी १३ देखि १९ वर्ष समूहका रहेका र सबै ठाउँमा समावेशिताको मर्मअनुरूप काम हुन नसकेको उल्लेख गरेकी थिइन्।

त्यसैगरी अर्की सदस्य सावित्रीकुमारी शर्माले जनशक्ति, भौतिक पूर्वाधार लगायत अभाव भएकै कारण आयोग सबै पालिकामा पुग्न नसकेकाले प्रतिनिधिमूलक कार्यक्रममा सीमित हुनुपरेको बताएकी थिइन्।

कार्यक्रममा आयोगकी उपसचिव तथा प्रवक्ता चमिला भट्टराईले विगत ४ महिनामा आयोगले गरेका कामबारे जानकारी दिँदै सरकारी तवरबाट केही बजेट काटिएकाले केही कार्यक्रम प्रभावित भएको बताएकी थिइन्।

त्यसैगरी अर्की सदस्य सावित्रीकुमारी शर्माले जनशक्ति, भौतिक पूर्वाधार लगायत अभाव भएकै कारण आयोग सबै पालिकामा पुग्न नसकेकाले प्रतिनिधिमूलक कार्यक्रममा सीमित हुनुपरेको बताएकी थिइन्।

कार्यक्रममा दिइएको जानकारीअनुसार आयोगमा विगत ४ महिनामा महिला हिंसाका ३१० उजुरी परेका थिए, जसमध्ये २८७ वटा मानसिक हिंसासँग सम्बन्धित थिए। यसबाहेक शारीरिक हिंसा, यौनजन्य हिंसाका घटनासँग सम्बन्धित थिए।

कार्यक्रममा आयोगका पदाधिकारीले आयोगको आफ्नै भवन हुनुपर्ने, पर्याप्त जनशक्ति हुनुपर्ने, आफ्नै प्रहरी हुनुपर्ने, प्रदेशस्तरीय कार्यालय स्थापना हुनुपर्ने र यसो भए मात्र आयोगको उद्देश्यअनुरूप काम गर्न सकिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा उठाइएका जिज्ञासाको जवाफ अध्यक्ष पराजुली, उपसचिव भट्टराई तथा शाखा अधिकृत वर्षा ढकालले दिएका थिए।  

प्रकाशित: ८ वैशाख २०८० ०३:४८ शुक्रबार

राष्ट्रिय महिला अधिकार आयोग अध्यक्ष कमला पराजुली भौतिक पूर्वाधार र जनशक्ति अभाव आयोगको चौमासिक गतिविधि