समाज

‘राष्ट्रको संकटमोचन गर्न हनुमान धाम निर्माण गरिने’

काठमाडौं– श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी वैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञानमहायज्ञ २०७३/०७४ गर्ने भएको छ।
सप्ताह ज्ञानमहायज्ञमा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्ने निर्माण कार्यसमितिका संयोजक रविराज पौडेलले जानकारी दिए।

काठमाडौंको बल्खुमा हुने उक्त सप्ताह ज्ञानमहायज्ञमा दशौं लाख भक्तजनहरु आउने विश्वाससमेत आयोजकले लिएको छ।
राष्ट्र नै यतिवेला संकटमा परेको र यसको निवारणको लागि वा संकटमोचनको लागि अनिवार्य गर्नुपर्ने भएकोले यो कामको सुरुवात गर्न लागिएको संयोजक पौडेलले जानकारी दिए।  

नेपालमा ९४ प्रतिशत हिन्दुहरु हुँदाहुँदै पनि  धर्म खोसिएको उल्लेख गर्दै उनले भने, ‘हो, यही हो संकट भनेको, हामी ९४ प्रतिशत हुँदापनि पनि हाम्रो धर्म खोसिएको हुनाले यसको मोचनको लागि यो हनुमान धाम निर्माण गर्नु अनिवार्य छ।’

कार्यक्रममा पूर्वराजपरिषदका सदस्यसचिव द्धारिकामानसिंह प्रधानले पनि धाम अनिवार्य रुपमै बनाउनुपर्ने विचार व्यक्त गरे। ‘चार धामजतिकै महत्वपूर्ण हनुमान धाम नेपालमा निर्माण गर्नुपर्छ।’

शनिबार रिपोटर्स क्लबमा बोल्दै समितिका अध्यक्ष स्वामी सेवकले धाम निर्माणको आवश्यकत्ता बारे प्रकाश पारेका थिए।

प्रकाशित: ८ माघ २०७३ १२:५२ शनिबार

राष्ट्रको संकटमोचन गर्न हनुमान धाम निर्माण गरिने