समाज

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

रौतहटको पश्चिमी क्षेत्रमा तस्करी बढेपछि बिहीबार राति कोपवा पिपरियाबाट सशस्त्र प्रहरीले बरामद गरेको राजस्व छलेर नेपाल भित्र्याइएका सामानहरु। तस्बिरः मदन ठाकुर

रौतहट– रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।

जिल्लाको पश्चिमी तथा दक्षिणी सीमासित जोडिएका बंकुल, कचोर्वा, नरकटिया, मठिया, बन्जरहा, औरैया, रामपुर खापलगायतका विभिन्न नाकाहरुमार्फत भारतीय बजारबाट राजस्व छलीका सामानहरु निर्वाध रुपमा नेपाल भित्रिने कार्य भइरहेको छ। भारतीय बजारबाट केही भारतीय तथा केही नेपाली नागरिकको संलग्नतामा दुवै देशलाई राजस्व घाटा हुने गरी तस्करी भइरहँदा पनि दुबै देशका सम्बिन्धित निकाय मौन देखिएका छन्।

भारतीय बजारबाट सर्ट–पाइन्टको कपडा, साडी, स्पेयर पार्टसहरु, खैनी, कुखुराको चल्ला, सेतो अण्डा, खाने तेल, चप्पललगायत दैनिक उपभोग्यका वस्तुहरु अहिले निर्वाध रुपमा रौतहटको विभिन्न नाकाबाट भित्रिने क्रम जारी रहेको पाइएको छ। बंकुल, कचोर्वा, नरकटिया र रामपुर खापबाट दर्जनौँ तस्करहरुले निर्वाध रुपमा दैनिक अवैध कारोबार गरेको पाइएको छ।


 
सिमावर्ती क्षेत्रमा भइरहेको अवैध कारोबारको विषयमा स्थानीय बासिन्दाहरुले सम्बन्धित निकायमा गुनासो गर्न थालेपछि सशस्त्र प्रहरी सक्रिय भएको छ। यसै क्रममा सशस्त्र प्रहरीले दुई दिनमा लाखौँ मूल्य बराबरको सामान बरामद गरेको छ।

बिहीबार मात्र सशस्त्र प्रहरीले करिब १ लाख २० हजार रुपैयाँ मूल्य बराबरका चल्ला र अण्डा बरामद गरेको थियो। शुक्रबार रौतहटको कोपवा पिपरियास्थित कुखुरा फर्म नजिकबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका २९ पोका सुख्खा खैनी र एक पोका कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताएका छन्।

यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटले पनि कपडा, अन्डा, खाद्यान्न सामग्री, स्पेयर पार्टस्लगायतका लाखौँ मूल्यका सामग्री पक्राउ गरी कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताएका छन्।

 

प्रकाशित: ७ माघ २०७३ १२:१४ शुक्रबार

रौतहटका नाकामा फस्टायो तस्करी भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी