समाज

मटि्टतेल छर्केर पत्नीको शरीरमा आगो

नेपालगन्ज- नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

मदिरा सेवन गरेका राजेन्द्रले पत्नीसँग झगडा गर्दै टुक्कीमा रहेको मटि्टतेल शरीरमा छर्केर आगो लगाई फरार भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए। घटनालगत्तै प्रहरी पुगेर घाइतेलाई तत्काल भेरी अञ्चल अस्पताल पुर्‍याएको उनले बताए।

घाइतेलाई भेरी अञ्चल अस्पतालको वर्न वार्डमा भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर रहेकाले अन्यत्रै लैजान अस्पतालले सुझाव दिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण परिवारका सदस्यहरु अन्यौलमा छन्।

घटनालगत्तै फरार भएका राजेन्द्रको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घाइतेको करिब ५० प्रतिशत शरीर जलेको भेरी अञ्चल अस्पतालका डाक्टर रुपानन्द अधिकारीले जानकारी दिएका छन्। घाइते अनिशाको काखमा डेढ वर्षकी छोरी छन्। पति राजेन्द्र ६ महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्केर घर आएको पारिवारिक स्रोतले जनाएको छ। बाबु आमासँग छुटि्टएर अलग्गै बसेका राजेन्द्र विदेशबाट फर्केर आएपछि परिवारभित्र झन् कलह बढ्दै गएको एक छिमेकीले बताए।

प्रकाशित: ७ माघ २०७३ ०६:५५ शुक्रबार

मटि्टतेल छर्केर पत्नीको शरीरमा आगो