समाज

विकास माग्दै बडिकेदारवासीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मुख्यमन्त्री कमलबहादुर शाहलाई विकासका लागि ज्ञापन पत्र बुझाउँदै संयोजक जोशी। तस्बिर: नागरिक

डोटीको बडिकेदार गाउँपालिकाका स्थानीयले समग्र गाउँपालिकाको विकासका लागि भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। बडिकेदारबाट सामूहिक रुपमा धनगढी आइपुगेका उनीहरूले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन्। 

विकासमा बडिकेदार गाउँपालिका पछाडि परेको भन्दै स्थानीयले विभिन्न योजनालाई अगाडि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको बडिकेदार विकास समूहका संयोजक तथा स्थानीय नेता करुणाकर जोशीले बताए।

उनले भने, ‘हामीले विगतका वर्षहरूमा प्रदेश सरकारबाट सोचेजस्तो बजेट तथा योजना पाएनौँ, तसर्थ हामीलाई क्षतिपूर्तिसहितको विकास चाहिएको छ।’ अहिलेसम्म पनि गाउँ गाउँमा मोटर बाटो पुग्न नसकेको बताउँदै उनले भने, ‘गाउँ गाउँमा मोटर बाटो नपुगेकै कारण यहाँका बासिन्दाले दुःख भोग्नु परेको छ, तसर्थ हामीलाई गाउँ गाउँमा बाटो चाहिएको छ।’ आफूहरुले बडिकेदारका ५ वटै वडामा समान रुपमा विकास गरिदिन भन्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको उनले बताए।

बडिकेदार गाउँपालिकाको विकास निर्माणका साथै शिक्षा स्वास्थ्य, कृर्षि, सिँचाइ, खानेपानीका साथै रोजगारमूलक कार्यक्रममा अन्य स्थानीय तह अनुसार बजेट विनियोजन गर्नुका साथै विकास निर्माणमा प्राथमिकता दिनुपर्ने माग रहेको बताउँदै स्थानीय नेता वुद्धिसागर बिनाडीले भने, ‘हामीलाई अहिलेसम्म विकासमा पछाडि पारियो, अब प्रदेश सरकारले पनि विशेष योजनाका साथ हेरोस् भन्ने हाम्रो सामूहिक माग हो।’

कैलालीको चुरे र मोहन्याल गाउँपालिकासँग जोडिएको बडिकेदारलाई दुर्गम गाउँपालिकाका रुपमा हेरिँदै आएको बताउँदै बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी कलेलले भनिन्, ‘गाउँपालिकाको बजेटले मात्रै विकास गर्न सम्भव छैन, तसर्थ हाम्रो गाउँ ठाउँको विकासका लागि प्रदेश सरकारले पनि विशेष सहयोग गरोस्।’

ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बडिकेदार गाउँपालिकाको विकासका लागि प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताउँदै भने, ‘तपाईँहरूले ल्याउनुभएका योजनाहरू मार्मिक छन्, तिनलाई हामीले प्राथमिकताका आधारमा पाँच वर्षभित्र पूरा गर्छौ।’ उनले टुक्रे योजना दिएर कार्यकर्ता पाल्ने विगतको चलनभन्दा माथि उठेर प्रादेशिक योजनालाई प्राथमिकता दिने बताए। उनले भने, ‘विगतको चलनलाई हामीले परिमार्जित गर्दै अब साना योजनाले कार्यकर्ता पाल्ने नभई विकास गर्नका लागि हामी लागेका छौँ। बडिकेदारले अहिलेसम्म भोगेको समस्यालाई हामी समाधान गर्नतर्फ लाग्नेछौँ।’

मुख्यमन्त्रीसँगै बडिकेदारका स्थानीयले आफ्नै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य शिवसिंह ओलीलाई पनि ज्ञापन पत्र बुझाएका थिए। उनीहरूले आफूहरुले भोट दिएर जिताएको प्रतिनिधिले बडिकेदारको बारेमा बोल्नु पर्ने बताएका थिए। ज्ञापन पत्र बुझ्दै प्रदेश सभा सदस्य ओलीले बडिकेदारको बारेमा आफूले गर्ने सहयोग पूर्ण रुपमा गर्ने बताउँदै भने,‘धार्मिक पर्यटकीय क्षेत्र बडिकेदारका साथै समग्र गाउँपालिकाको विकासका लागि कुनै कसुर बाँकी राख्दिन।’ 

बडिकेदारको विकासको माग गर्दै बडिकेदार गाउँपालिकाबाटै स्थानीयहरु गाडी चढेर धनगढी आइपुगेका थिए।

प्रकाशित: ५ वैशाख २०८० १४:५६ मंगलबार