समाज

राजधानीका सडकः समन्वय नहुँदा सकस

काठमाडौं–धुलाम्ये सडकमा पाइला–पाइलामा खाल्डा छन् । कालोपत्रे नउप्किएको ठाउँ छैन । खाल्डामा कोल्टिँदै गुड्छन् गाडी । खाल्डा र धुलोका कारण सवारी दुघर्टना पनि बारम्बार भइरहन्छ । वर्षामा हिलोले हुने सास्तीको कथा झन् छुट्टै छ ।

सडकको यस्तो अवस्था काठमाडौं महानगरपालिका भित्रको हो । सडक समस्याले दैनिक सताउने गर्छ तर यही सडकका लागि काम गर्ने निकायको सूची भने अचम्मलाग्दो छ तर काम हेर्दा दिक्कलाग्दो ।

महानगरपालिकाको तथ्यांकमा काठमाडौंभित्र सानाठूला गरी करिब २५ सय किलोमिटर सडक छ । सडक क्षेत्रमा काम गर्ने निकायको सूची भने डेढ दर्जन बढी छ ।

उपत्यकाभित्रको २५ सय किमि सडकमा काम गर्ने डेढ दर्जन निकाय भए पनि समन्वय अभावमा अवस्था सुध्रिएन।

‘सडकमा काम गर्ने निकायको सूची लामै भए पनि सबैजसो सडकको अवस्था खराब छ,’ पूर्वाधारविज्ञ सूर्यराज आचार्य भन्छन्, ‘एउटै निकायबाट योजनाबद्ध काम गर्न नसक्दा यस्तो भएको हो ।’

उनका अनुसार समन्वय नगर्ने र जसले जहाँ पनि सडक भत्काउने प्रचलन व्यापक रुपमा चलिरहेको छ । भत्काउने तर वर्षांैसम्म पनि नबनाउने प्रवृत्तिले पनि सडकको बेहाल अवस्था भएको हो ।

सडक निर्माण गर्ने निकाय धेरै भए पनि अधिकांश सडकको संरक्षण र मर्मत गर्ने जिम्मेवारी सडक विभाग र महानगरपालिकाको हुन्छ । आठ मिटर चौडाभन्दा कमका सडकको मर्मतसम्भार गर्ने जिम्मेवार निकाय महानगरपालिका र आठ मिटरभन्दा बढी चौडाइका सडक मर्मतसम्भार गर्ने जिम्मा सडक विभागको हो ।  तर, यी दुवै निकाय काठमाडौंभित्रका सडक बेहाल अवस्थामा रहेको स्विकार्न तयार छैैनन् । काम गर्ने निकाय धेरै भए पनि क्षेत्र फरक रहेको र सबैले निरन्तर काम गरिरहेको दाबी विभाग र महानगरपालिका गर्छन् । ‘काठमाडौंका सडक बेहाल अवस्थामा छन् भन्ने मलाई लाग्दैन,’ महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागप्रमुख उत्तरकुमार रेग्मीले भने, ‘पाँच वर्ष पहिला र अहिलेका सकडको अवस्थामा धेरै सुधार आएको छ । अझै सुधारका लागि हामी लागिरहेका छौं ।’ त्यसैगरी सडक विभागका प्रवक्ता पनि अहिले मेलम्चीको पानीका लागि पाइप बिछ्याउनु परेकाले सडक बेहाल भएको बताउँछन् । सडक नियमित मर्मतसम्भार भइरहेको पनि उनले जनाए ।

सामान्यतया कालोपत्रे सडकको आयु कंक्रिट पेभमेन्ट (ढलान) को २० वर्ष, अस्फाल्ट कंक्रिट (पहिले नै बिटुमिनसँग मसला मिक्स गरेमा) को १० वर्ष, सरफेस ट्रिटमेन्ट (बिटुमिन मात्र सडकमा छर्केर गिट्टी हालेमा) को ५ वर्ष हुन्छ । तर, उपत्यकाका सडक भने कालोपत्रे गरिएको भोलिपल्टबाट भत्किन थालेका उदाहरण धेरै रहेको जानकार बताउँछन् । विज्ञका अनुसार प्रभावकारी गुरुयोजना नबनाउने तथा तत्कालका लागि मात्रै काम गर्दा यस्तो भएको हो । नियमित अनुगमन र राम्रो काम नगर्ने ठेकेदारलाई कारबाही नहुँदा पनि सडकको अवस्था बिग्रेको विज्ञ बताउँछन् ।

‘नाममात्रका सडक निर्माण गर्ने निकाय खडा गर्नुमा सरकारी नियत नै खराब देखिन्छ,’ पूर्वाधारविज्ञ आर्चायले भने, ‘सडकको काम आफैंमा विशिष्ट हो । राजधानीका सडक निर्माण तथा मर्मतसम्भार झन् विशिष्ट हो । त्यसैले अब एकीकृत निकाय खडा गरेर सम्पूर्ण सडकको जिम्मा त्यसलाई दिनुपर्छ ।’

अहिले समन्वय नै नगरी सडक भत्काउने र बनाउने काम चलिरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले अहिले जसरी भत्काएर मर्मतसम्भारमा  आफैं लागिरहेको छ, त्यो कार्य कानुनअनुसार गलत भएको स्रोतले बतायो । स्रोतका अनुसार सडक बनाउन काम गर्नेभन्दा पनि सडक बनाउने बहानामा सरकारको बजेट र दाताको सहयोग सकाउन निकाय खडा हुने गरेका छन् । खडा भएका निकायबीच समन्वय नहुँदा कतिपय ठाउँमा कामसमेत दोहोरिने गरेको छ । कतिपय ठाउँमा भने भत्किँदा कसले गर्ने भनेर अन्योल भएको छ ।

महानगरपालिकाले सडक मर्मतसम्भारका लागि छुट्टै बजेट छुट्ट्याएर काम गर्न थालेको जनाएको छ । रेग्मीका अनुसार महानगरपालिकाले मर्मतसम्भारका लागि ८ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । ‘हामीले सडक भत्किएको ठाउँमा तुरुन्तै मर्मत गर्न यस पटकबाट बजेट व्यवस्था गरेका छौं,’ रेग्मीले भने, ‘ठेक्का प्रक्रियामा गइसकेको हुँदा माघ १५ बाटै काम थालिनेछ ।’

उनले माघ १५ पछि सडक भत्किएको खबर पाएको एक साताभित्र मर्मत गरिने दाबी गरे । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि  सडक मर्मत शीर्षकमा १० करोड रूपैया विनियोजन गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण भने उपत्यकाको सम्पूर्ण कार्य एउटै निकायबाट हुनुपर्ने बताउँछ । उसो त सबै निकायलाई समन्वय गरेर उपत्यकाको विकासका लागि प्राधिकरण स्थापना भए पनि सक्रियता देखिन सकेको छैन । ‘प्राधिकरणले काम नगरेको होइन, काम गर्ने वातावरण नभएको हो,’ प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले भने, ‘कर्मचारी कमीले काम गर्न सकेका छैनौं ।’

उनका अनुसार प्राधिकरणले १ सय ३७ जनाको दरबन्दी पाइसकेको हुँदा चाँडै नियुक्ति गरी काम थाल्नेछ । ‘प्राधिकरणले उपत्यकाको सम्पूर्ण विकास कार्य हेर्न थालेपछि अहिलेको जस्तो बेहाल हुनेछैन्,’ उनले भने, ‘अब सबै निकायलाई समन्वय गरेर काम गर्छाैं ।’

उपत्यकामा सडक निर्माण, कालोपत्रे र मर्मत गर्ने निकाय

–  काठमाडौं सडक डिभिजन कार्यालय १

– काठमाडौं सडक डिभिजन कार्यालय २

– भक्तपुर र ललितपुर डिभिजन कार्यालय

– मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय

– काठमाडौं उपत्यका सडक विस्तार आयोजना

– काठमाडौं महानगरपालिका

– ललितपुर उप महानगरपालिका        

– मनोहरा करिडोर आयोजना

– काठमाडौं उपत्यका खानेपानी लिमिटेड

– आयोजना कार्यान्वयन निर्देशनालय

– धोबिखोला करिडोर आयोजना

– बाहिरी चक्रपथ आयोजना   

– चक्रपथ सुधार आयोजना

– काठमाडौंका १० नगरपालिका

– भक्तपुरका ६ वटा नगरपालिका

– ललितपुरका ४ वटा नगरपालिका

– जिल्ला विकास समिति

– सांसद कोष

– उपभोक्ता समिति

– अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदि ।

प्रकाशित: २ माघ २०७३ ०२:५५ आइतबार

राजधानीका सडकः समन्वय नहुँदा सकस