समाज

भूकम्पपीडित कोष गाडी र कर्मचारी तलबभत्तामा खर्च

काठमाडौं-समाज कल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने भएको छ ।

भूकम्पपछि राहत, उद्धार तथा पुनर्स्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।

रेडक्रसले विभिन्न दाताले पुनर्स्थापना गतिविधि सञ्चालनका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारी र कर्मचारीको तलबभत्ता, विदेश भ्रमण तथा कार, मोटरसाइकल, स्कुटर, कम्प्युटर, ल्यापटप, पेन ड्राइभ आदि खरिदमै खर्चेको सार्वजनिक भएको छ ।

अस्थायी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्न लागेको हो ।

रेडक्रसले विभिन्न दाताले पुनर्स्थापना गतिविधि सञ्चालनका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारी र कर्मचारीको तलबभत्ता, विदेश भ्रमण तथा कार, मोटरसाइकल, स्कुटर, कम्प्युटर, ल्यापटप, पेन ड्राइभ आदि खरिदमै खर्चेको सार्वजनिक भएको छ ।

परिषद् उपाध्यक्ष निलमणि बरालले रेडक्रसले भूकम्पपछिको काममा आएको रकम दुरुपयोग गरेको समाचार र गुनासो आइरहेकाले सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न लागिएको बताए । उनले छानबिन तत्काल थालिने जनाए ।

‘करोडौं रकम दुरुपयोग भएको भन्ने विषयले हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो विषयमा छानबिन गर्दा अनियमितता पाइए दोषीलाई कारबाही गर्छौं ।’ उनले रेडक्रससँगै अनियमितताको आरोप खेपेका अन्य संस्थाको विषयमा पनि छानबिन र अनुमगन गर्न समिति गठन गरिएको जानकारी दिए ।

‘समितिले रेडक्रसलाई हालसम्म गरिएका सम्पूर्ण गतिविधिको विवरण उपलब्ध गराउन भनिसकेको छ,’ उनले भने, ‘उसले पनि यो काममा सहयोग गर्छु भनेको छ ।’ उनले रेडक्रसले उपलब्ध गराएको विवरण र समितिले गर्ने छानबिनपछि आउने नतिजा भिडाएर आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

मानवीय सहयोगमा नाम कमाएको यो संस्थाले इमर्जेन्सी रेस्पोन्स अपरेसन एकाइमा कार्यरत पदाधिकारी र कर्मचारीलाई कुनै निश्चित मापदण्डबेगर सेवा र सुविधा दिँदै आएको छ । सबैभन्दा बढी भूकम्पप्रभावित १४ जिल्लामा रेडक्रसको यो एकाइ सञ्चालित छ ।

रेडक्रसले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको विषयमा नागरिकले समाचार प्रकाशित गरेको थियो । नागरिकलाई प्राप्त कागजातअनुसार रेडक्रसले अधिकृतहरूका  काठमाडौंबाट जिल्ला जान अन्य कार तथा भ्यान भाडा लिएबापत ४ करोड ९० लाख ८४ हजार एक सय रूपैयाँ खर्च गरेको देखिन्छ । कागजातअनुसार रेडक्रसले १० वटा कार खरिद गरेको छ । कार खरिदका लागि रेडक्रसले ६ करोड ८० हजार रूपैयाँ खर्चेको छ ।

त्यसैगरी, रेडक्रसले २ सयवटा मोटरसाइकल र स्कुटर खरिदमा ६ करोड १२ लाख ५१ हजार २ सय ८१ रूपैयाँ, साइकल खरिदमा ४ लाख २९ हजार २ सय २९ रूपैयाँ एवं ट्रक र लरी किन्न ३ करोड ६२ लाख ८५ हजार ५ सय ८९ रूपैयाँ खर्च गरेको भेटिएको छ । उसले कर्मचारीका लागि ४ लाख ८० हजार रूपैयाँका मोटरसाइकलसमेत खरिद गरेको छ ।

रेडक्रसले ल्यापटप कम्प्युटर खरिदका लागि २ करोड ५७ लाख ६६ हजार १ सय ३८ रूपैयाँ, डेस्कटप कम्प्युटरका लागि ४ लाख ३२ हजार १ सय २२ रूपैयाँ, कम्प्युटर प्रिन्टरका लागि ३५ लाख ८३ हजार ५ सय ५० रूपैयाँ र फ्ल्यास ड्राइभ, पेन ड्राइभ र पावर ब्याकअपका लागि ३ लाख ७३ हजार ८ सय १६ रूपैयाँ खर्च गरेको देखिएको छ ।

त्यसैगरी, रेडक्रसले ९ लाख ९८ हजार ३ सय ३९ रूपैयाँको मल्टिमिडिया अप्टिमा, ४ लाख २३ हजार २ सय १७ रूपैयाँको ओभरहेड प्रोजेक्टर र २ लाख ९ हजार ७ सय ४४ रूपैयाँका विभिन्न कम्प्युटर एसेसरिज खरिद गरेको कागजातमा देखिन्छ ।
स्टेयरिङ कमिटीको बैठक भत्ता तथा कर्मचारीको तलबमा ६ करोड २३ लाख ४२ हजार ५ सय ८९ रूपैयाँ खर्च भइसकेको छ । स्रोतका अनुसार रेडक्रसले योभन्दा बढी रकम बैठक र अन्य सामग्री खरिदमा खर्च गरिसकेको छ ।

मानवीय सहयोगमा नाम कमाएको यो संस्थाले इमर्जेन्सी रेस्पोन्स अपरेसन एकाइमा कार्यरत पदाधिकारी र कर्मचारीलाई कुनै निश्चित मापदण्डबेगर सेवा र सुविधा दिँदै आएको छ । सबैभन्दा बढी भूकम्पप्रभावित १४ जिल्लामा रेडक्रसको यो एकाइ सञ्चालित छ ।

प्रकाशित: २ माघ २०७३ ०२:१७ आइतबार

भूकम्पपीडित कोष गाडी कर्मचारी तलबभत्तामा खर्च