समाज

चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ

काठमाडौँ-प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ ।  महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई लाख ६० हजार अमेरिकी डलर, एक लाख १८ हजार युरो, केही मात्रामा अस्ट्रेलियन डलर, स्विस डलर र जापानी ऐनसमेत बरामद गरेको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए।

उनले भने, “विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाको आधारमा हामीले उनीहरुलाई ठमेलबाट निगरानी गरेका थियौँ, नागढुङ्गा पुगेपछि राति साढे दुई बजे पक्राउ ग¥यौँ ।” सो रकम रसुवा नाका हुँदै चीन लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए । प्रहरीले यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः पहिलो भएको जनाएको छ । रासस

प्रकाशित: १ माघ २०७३ ०६:५१ शनिबार

करोड २६ बराबरको विदेशी रुपैयाँसहित चिनियाँ पक्राउ