समाज

सेनाले निकालेको गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुग्यो

नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुगेको छ।

गत चैत २९ गते गोरखाबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै पाल्पा पुगेको हो।

नेपालको राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाटबाट पाल्पा प्रवेश गरेको हो।

टोलीलाई केलादीमा पञ्चेबाजासहित फूलमालाले स्वागत गरिएको थियो। गोरखाबाट आएको ५५ जना नेपाली सेनाको टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, श्री नं. २२ बाहिनीका सहायक रथी ललितबहादुर कुँवर, दि फेमस महिन्द्र दल गणका प्रमुख सेनानी बालमुकुन्द बिष्ट, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापासहित रामपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, महिला समूह तथा संघ संस्थाले स्वागत गरेका थिए।

गोरखाबाट निस्किएको टोलीलाई सतीघाट पुगेर गोरखाको टोलीले तनहुँलाई झण्डा हस्तान्तरण गरेको थियो। तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुनेछ।  

प्रकाशित: ३ वैशाख २०८० १०:५३ आइतबार

गोरखा–जितगढी मार्ग पदयात्रा