समाज

भागबन्डामा प्रदेश कमिटी

काठमाडौं- माओवादी केन्द्रले भागबन्डाबाट प्रदेश कमिटी निर्माण गरेको छ। पार्टीलाई समावेशी चरित्रको बनाउने दाबी गर्दै आएको उसले भागबन्डामा प्रदेश कमिटी बनाएको हो। पार्टीलाई समावेशी चरित्रको बनाउने कार्यविधि तयार भइरहेको उसले जनाएको छ।  

प्रदेश नम्बर २ को कमिटी निमार्ण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा र मातृका यादवबीच भागबन्डा गरिएको हो। यसरी कमिटी निर्माणमा भागबन्डा गरिएको यो पहिलो घटना हो।

उक्त प्रदेशका वरिष्ठ नेता श्रवण यादवका अनुसार तीन नेतालाई भागबन्डा गरेर कमिटी निर्माण गरिँदै छ। 'प्रचण्ड (दाहाल) जीलाई तीन सय ५०, बादल (थापा) जीलाई एक सय र मातृकाजीलाई एक सय गरी प्रदेश नम्बर २ को कमिटी निमार्ण गर्न खोजिएको छ,' यादवले नागरिकसँग भने, 'बादलजी र मातृकाजीले आफ्नो लिस्ट अध्यक्षलाई बुझाइसक्नु भएको छ, अध्यक्षज्यूको भने बाँकी छ।' उनका अनुसार भागबन्डामा कमिटी निर्माण गलत भन्दै विरोध भएको छ।

त्यसो त प्रदेश नम्बर २ को सदस्य संख्या घटाउन अध्यक्ष दाहाललाई यादव समूहले अल्टिमेटम दिएको छ। 'ठूलो संख्यामा केन्द्रीय कमिटी बनाउँदा पार्टी भद्रगोल अवस्थामा पुगेकाले कुनै काम हुन सकेको छैन,' उनले भने, 'त्यसैले ७ दिनभित्र प्रदेश कमिटीको संख्या घटाउन अल्टिमेटम दिएका हौं, अध्यक्षज्यूले १० दिन लागिसक्दा पनि सुनवाइ गर्नुभएको छैन।' अध्यक्ष दाहालले कमिटी संख्या घटाउने प्रतिवद्धता भने गरेको यादवले बताए।

 प्रदेश नम्बर २ को न कार्यालय छ, न त्यसको सचिवालय नै तोकिएको छ। मातृका यादवलाई इन्चार्ज र विश्वनाथ साहलाई संयोजक तोके पनि प्रदेश नम्बर २ को बैठक सात महिनादेखि बस्न सकेको छैन्।

 ठूलो केन्द्रीय समिति बनाएको माओवादी केन्द्रले त्यसको आकार पुनः १ सय ५१ बनाउने भएको छ। हाल माओवादी केन्द्रीय सदस्य संख्या ४ हजार जति छ।

अब ५५ प्रतिशत खुला प्रतिस्पर्धा, ४० प्रतिशत आरक्षण र ५ प्रतिशत मनोनयनबाट पदपूर्ति गरिनेछ। हरेक समितिमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ।

प्रकाशित: २९ पुस २०७३ ०२:४९ शुक्रबार

भागबन्डामा प्रदेश कमिटी