समाज

शारीरिक अशक्त भएकाहरुको आत्मबल बढाउन सगरमाथा आरोहण: हरि बुढा मगर

दुवै खुट्टा गुमाएका हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै।

संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ। आत्मविश्वास र आत्मबलका पर्याय हुन हरि बुढामगर। पूर्व गोरखा सैनिक समेत रहेका उनका दुवै खुट्टा छैनन्। अहिले उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसकेका छन्।

बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए। शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कृट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार छन्।

विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्नुभएका मगरले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताए। उनले आफूले सगरमाथा आरोहणमार्फ् विश्व कीर्तिमान राख्न चाहेको बताए। उनले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरुलाई गौरवान्वित बनाउने बताए।

उनले भने, ‘हामी अपाङ्ग व्यक्ति पनि मेरो खुट्टा कमजोरी होला। कसैको हात कमजोरी होला। कसैको आँखा कमजोरी होला। त्यो भन्दैमा हामी केही गर्न सक्दैनौँ भन्ने कुरा होइन क्या। सबैको कमजोरी छ। सपाङ्ग व्यक्तिको पनि कुनै न कुनै आफैँ कमजोरी होला। विद्यार्थीहरु पनि कोही गणितमा कमजोरी होला, कोही अंग्रेजीमा कमजोरी होला। म एसएलसीमा फेल भएर मौका परीक्षा दिएको मान्छे। कुनै न कुनै कुरामा हाम्रो कमजोरी छ। त्यो भन्दैमा हाम्रो स्ट्रेन्थलाई फोकस गर्नुपर्छ। हामी अपाङ्ग व्यक्तिहरु पनि एउटा सफल जिन्दगी, अर्थपूर्ण जिन्दगी बिताउन सक्छौँ। त्यो एउटा सन्देश दिलाउनु हो। त्यसको साथसाथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ। जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ। नेपालीहरुको स्प्रिट देखाउँछ जस्तो लाग्छ मलाई। आशा छ यसले कुनै न कुनै व्यक्तिहरुलाई कुर्सिबाट उठेर एक, दुई पाइला मात्र हिँड्न लाग्यो भने जिन्दगीमा पाइला मात्र अगाडी सार्न प्रेरणा दियो भने म एकदम खुशी हुनेछु।’

उनले हरेक मानिससँग केही न केही कमजोरी भएपनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताए। हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने उनको भनाइ छ। उनले आफ्नो सगरमाथा आरोहणले जिवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरुलाई प्रेरणा दिने बताए। सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उनले उल्लेख गरे। उनले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनशायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताए।

केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लागेका बुढामगरले सरकार समक्ष सहयोग गर्न नसकेपनि बाधा, अड्चन नबनाइदिन आग्रह गरेको छ। यसअघि पनि उनले बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए। र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने। उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो। यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन्। 

प्रकाशित: ३ वैशाख २०८० ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App