समाज

नयाँ सिइओमा पुनः पोखरेल

काठमाडौं- सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरी सो पदमा डा. गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले दुईपटकसम्म लिइएको स्पष्टीकरणको जबाफ चित्त बुझ्दो नभएको भन्दै ज्ञवालीलाई हटाएर पोखरेललाई नयाँ सिइओेमा नियुक्त गरेको हो।

सरकारले भूकम्पपछिको राहत वितरण एवं पुनर्निर्माणमा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सोधिएको स्पष्टीकरणमा ज्ञवालीले दिएको जबाफ चित्तबुझ्दो नभएकाले उनलाई हटाइएको जनाएको छ। 'उहाँको काम सन्तोषजनक नभएपछि  दुई पटकसम्म सफाइको मौका दिएका हौं,' सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, 'तर जबाफ चित्तबुझ्दो नभएपछि सरकारले उहाँलाई हटाएर डा. गोविन्दराज पोखरेललाई सिइओमा नियुक्त गरेको छ।'

केपी शर्मा ओलीको सरकारले  २०७२ पुस १० गते ज्ञवालीलाई सिइओ बनाएको थियो। त्यसअघि पोखरेल प्राधिकरणको सिइओ थिए।

२०७२ वैशाखमा विनासकारी भूकम्प गएपछि सरकारले अध्यादेशमार्फत अधिकारसम्पन्न प्राधिकरण गठन गरेर २०७२ साउन २८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका पोखरेललाई पुननिर्माण प्राधिकरणको सिइओ बनाएको थियो। सरकारले ज्ञवालीलाई भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा भएको व्यवस्थाअनुसार हटाइएको जनाएको छ। उक्त ऐनको दफा ११ को उपदफा ४ मा कार्यकारी अधिकृतको काम सन्तोषजनक नभए सरकारले जुनसुकै बेला पनि हटाउन सक्ने व्यवस्था छ। यसरी हटाउनुपूर्व सफाइ पेस गर्ने मौका दिनुपर्ने व्यवस्था छ। सोही अनुसार ज्ञवालीलाई दुईपटक स्पष्टीकरण सोधिएको हो।

पुस १४ को मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणमा ढिलाइ भएको र काम सन्तोषजनक नभएको लगायत ५ विषयमा ७ दिने म्याद दिँदै ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो। ज्ञवालीले गत साताको बुधबार प्रधानमन्त्री र सरकारी निकायहरूकै असहयोगका कारण पुनर्निर्माणमा समस्या भएको भन्दै स्पष्टीकरणको लिखित जबाफ बुझाएका थिए। ज्ञवालीको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले दोस्रोपटक बिहीबार 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो। दुवै स्पष्टीकरणको जबाफमा ज्ञवालीले प्रधानमन्त्री र सरकारी निकायकै असहयोगका कारण पुनर्निर्मााणमा तीव्रता दिन नसकिएको लिखित जबाफ पेस गरेका थिए। उनले 'आफूलाई स्पष्टीकरण सोध्नुपर्ने कुनै आधार र कारण नरहेको तथा कानुनले तोकेको दायरा नाघेर कार्यसम्पादन नगरेका कारण प्रमुख कार्यकारी अधिकृतका रुपमा आफूले सम्पादन गरी आएको भूमिका सन्तोषजनक नरहेको भन्ने कुनै आधार, कारण र अवस्थाले मिल्ने नदेखिएको' जबाफ दिएका थिए।  उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयलगायतको असहयोगले काम गर्न नसकेको बताएका थिए।

मन्त्रिपरिषद् स्रोतका अनुसार कांग्रेसले एमाले नेतृत्वको सरकारले नियुक्त गरेका ज्ञवालीलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिँदै आएको थियो। कांग्रेस दबाबपछि प्रधानमन्त्री दाहालले ज्ञवालीलाई दुई पटकसम्म सफाइको मौका दिएर प्रक्रिया पूरा गरी हटाएको एक मन्त्रीले बताए।

संसद्बाट ऐन जारी भएलगत्तै कांग्रेसले पोखरेललाई दोहोर्‍याउन खोजे पनि तत्कालीन प्रधानमन्त्री ओलीले ज्ञवालीलाई नियुक्त गरेका थिए। तर ओली सरकार ढलेपछि ज्ञवालीलाई हटाएर आफू नियुक्त हुन पोखरेलले लबिङ गर्दै आएका थिए। पहिला पूर्वप्रधानमन्त्री सुशील कोइराला निकट पोखरेल शेरबहादुर देउवा कांग्रेस सभापति बनेसँगै उनीनिकट बन्न पुगेका छन्। 

को हुन् पोखरेल

प्राधिकरणमा दोस्रोपटक बुधबार सिइआमा नियुक्त गोविन्दराज पोखरेल नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पराजित व्यक्ति हुन्। पोखरेल सुशील कोइराला नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत थिए। भूकम्पपछिको पुनर्निर्माणमा दाताबाट सहयोग जुटाउँदा पोखरेल आयोगकै उपाध्यक्ष थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनलगत्तै कोइराला नेतृत्वको सरकारले पोखरेललाई प्राधिकरणको सिइओको जिम्मेवारी दिए पनि पुनर्निर्माण प्राधिकरण अध्यादेशको म्याद सकिएपछि प्राधिकरण खारेजीसँगै पोखरेलको सिइओ पद गुमेको थियो।

प्युठानमा जन्मिएका ५० वर्षीय पोखरेलले जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयबाट ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर गरी सोही विश्वविद्यालयबाट ऊर्जा अर्थतन्त्र र नीतिमा विद्यावारिधि गरेका हुन्।

योजना आयोगको उपाध्यक्ष हुनुपूर्व पोखरेल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक थिए। उनी इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक समेत हुन्।

प्रकाशित: २८ पुस २०७३ ०२:३९ बिहीबार

सिइओमा पुनः पोखरेल