समाज

मोरङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

मोरङको रंगेली नगरपालिकामा रहेको संसारी माई मन्दिरमा पूजा गर्न जाँदै गर्दा रंगेली–३ आमतोलामा शनिबार ट्याक्टर दुर्घटनामा परी २ जना महिलाको मृत्यु भएको छ।

ग्रामथानबाट पूजाका लागि जाँदै गर्दा तेतरिया–आमतोलाभित्री सडक खण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

ग्रामथान गाउँपालिका– ५ की ६० बर्सिया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने सोही ठाउँकी रीताकुमारी माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको उक्त ट्याक्टरमा १९ जना सवार रहेका थिए। ग्रामथान–३ की २० बर्सिया जानकीकुमारी माझी, ग्रामथान–५ की ४० बर्सिया किचनीवती चौधरी, ग्रामथान (५ की ४३ वर्षीय पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, २६ बर्सिया अनिता माझी, ६५ बर्सिया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ बर्सिया रीता चौधरी, २५ बर्सिया सुनिता भगत, रीताकुमारी माझीको छोरा ५ वर्षीय रितेष माझी र  ग्रामथान–६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएका छन्।

त्यस्तै, रंगेली–२ की सुनवर्ती चौधरी, २७ बर्सिया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, विराटनगर–४ की ३५ बर्सिया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायन माझी, घाइतेका छन्। घाइते उनीहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक ग्रामथान–५ का बालक माझी फरार भएका छन्। फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

संसारी माई मन्दिरमा पूजाआजा गर्नका लागि सुनसरी, झापाका साथै मोरङको विभिन्न स्थानबाट दैनिक ठूलो संख्यामा जाने गर्छन्। तीन जिल्लाको ग्रामीण क्षेत्रबाट ट्याक्टरमा जोखिम पूर्ण तवरबाट चढेर आउनेको संख्या ठूलो हुने गरेको छ।

पहिले पनि मन्दिर दर्शन गर्न जाँदा ट्याक्टर दुर्घटना भई मृत्यु भएपछि ट्राफिक प्रहरीले ट्याक्टर यात्रामा रोक लगाएको थियो। पछिल्लो समय रंगेलीलगायत जिल्लाका विभिन्न ट्राफिक प्रहरीको युनिटले ट्याक्टर यात्रामा रोक लगाउन छाडेपछि दुर्घटनाको जोखिम बढेको हो। संसारी माई मन्दिरमा शनिबार दर्शन गर्न आउनेको ठूलो भीड हुन्छ।

मृतक चौधरीको शव रंगेली अस्पताल र माझीको शव कोशी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८० १३:३४ शनिबार