समाज

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

रौतहटको गढीमाई नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। शुक्रबार बिहान घर लिपपोत गर्नलाई कमेरो माटो लिन गएकी एक बालिकाको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा गढीमाई नगरपालिका ३ लक्ष्मीपुरका रसिद अन्सारीका अन्दाजी नौ वर्षीय छोरी अफरिदा नेसा रहेको प्रहरीले जनाएको छ।

बागमती नदीको कटानको ठाउँमा ढुंगाले तारजाली लगाउन थालिएको ठाउँमा माटो खनिएको थियो। माटो खनेको ठाउँमा कमेरो माटो लिन पाँच जनाको समूहमा गएकी नेसाको ढिस्को भत्किँदा दबिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

मृतक बालिकाको शवलाई पोस्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्तालमा पठाइएको छ।

घटनामा अन्य चार जना घाइते भएका छन्। दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ११ वर्षकी रेहाना खातुनको छातीमा चोट लागेको छ। यसै गरी ४० वर्षीया बकरिदन खातुनको कम्मर भाँच्चिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। रेहना र बकरिदालाई गरुडामा प्राथमिक उपचारपछि थप उपचारको लागि वीरगंज लगिएको छ। थप दुई जना सामान्य घाइते भएका छन्।

मुस्लिम समुदायको सबैभन्दा ठूलो रमजान पर्व चलिरहेको र केही दिनमै इद आइरहेको छ। इदको तयारीको लागि सर्वसाधारणले घर लिपपोत सुरु गरेका छन्। घर लिपपोतकै लागि पाँच जनाको समूहमा माटो लिन गएको बेला घटना भएको हो।

प्रकाशित: १ वैशाख २०८० ११:१२ शुक्रबार