समाज

कपिलवस्तु अस्पतालका दुई स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यहारको मुद्दा

कपिलवस्तु अस्पतालका दुई स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सूचना अधिकारी गणेश क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।  

सो घटना गत चैत १७ गते शुक्रबारका दिन मध्यरातमा भएको उनले दिएको जाहेरीमा उल्लेख छ। जाहेरीबारे विस्तृत जानकारी दिन नमिल्ने भन्दै कपिलवस्तु अदालतका स्रेस्तेदार सुमन पाण्डेयले गत चैत २८ गते फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सूचना अधिकारी गणेश क्षेत्रीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको बताए। पीडितको गोपनीयताका लागि जाहेरी देखाउन नमिल्ने उनले बताए। यो घटनाका विषयमा सामाजिक सञ्जाल फेसबुकमा विभिन्न टीकाटिप्पणी भएको छ। गत चैत १७ गते राति १२ बजेको समयमा अस्पतालको फार्मेसीमा कार्यरत महिला कर्मचारीमाथि फार्मेसी इन्चार्ज महेश रानाभाटले यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ। आफू ड्युटीमा रहेका बेला मादक पदार्थ सेवन गरी यौन दुव्र्यवहार गर्ने उद्देश्यले करणी आशय व्यक्त गरी संवेदनशील अंग छोएको जाहेरीमा उल्लेख छ। रानाभाटले फार्मेसीभित्र रहेकी महिला कर्मचारीलाई चुकुल खोल्न भनेको तर ती महिला कर्मचारीले नमानेको अस्पतालका कर्मचारीले बताए।  

रानाभाट र ती महिला कर्मचारीबिच भएको संवाद र क्रियाकलापको सिसिटिभी फुटेज अस्पतालमै सुरक्षित छ। महिला कर्मचारीले प्रतिवाद गरेपछि निज फार्मेसी इन्चार्ज रानाभाटले जागिरबाट निकाल्ने धम्की दिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर किशोर बन्जाडे आफ्नो दाजु र संरक्षक भएकाले आफूलाई कसैले केही बिगार्न नसक्ने बताएको घटना विवरणमा उल्लेख छ। घटनाको तीन दिनपछि अस्पतालमा चैत २० गते छलफल हँुदा आरोपितले कसुर स्विकार्दै लिखित गरेको विषय जाहेरीमा छ। आक्रोशित बनेकी महिला कर्मचारीका आफन्तले रानाभाटलाई अस्पतालमा कुटपिटसमेत गरेका थिए।

चैत २१ गते निज महिला कर्मचारीले अस्पतालका प्रमुखलाई घटनाको छानबिन र कारबाहीको माग गर्दै निवेदनसमेत दिएपछि चैत २२ गते अस्पतालका डाक्टर गणेश क्षेत्रीले विगतमा आफूहरूले अस्पतालमा भएका यस्ता यौन दुव्र्यवहार र करणी भएको भनिएका घटना पनि अस्पतालभित्रै मिलाएको भन्दै घटना सामसुम पार्न दबाब दिएको जाहेरीमा उल्लेख छ। अस्पताललाई दिएको निवेदनको बोधार्थ प्रशासन कार्यालयमा दिएको उल्लेख छ। डाक्टर क्षेत्री र ती महिला कर्मचारीबिच झन्डै १८ मिनेट लामो संवाद भएको थियो। त्यसको रेकर्डसमेत उनीसँग छ। अस्पतालमा ड्युटीमा रहेकी महिला कर्मचारीमाथि उक्त कसुर गरेको आरोप लागेका व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) र (२) को आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४३ को उपदफा १ को (ग) बमोजिम ३ वर्ष कैद र ३० हजार रूपैयाँसम्म जरिवानाको मागदाबीसहित हदैसम्मको सजाय माग गर्दै मुद्दा दर्ता गराएको देखिएको छ। सामाजिक सञ्जालमा घटनाबारे टीकाटिप्पणी सुरु भएपछि अस्पतालले चैत २६ गते प्रेस विज्ञप्ति जारी गरेको थियो।  

यसअघि पीडित महिला कर्मचारी र उनका परिवारले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिन खोजे पनि कपिलवस्तु प्रहरीले जाहेरी नलिएको गुनासो गरे। प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले यौनहिंसा देवानी प्रकृतिको मुद्दा भएकाले प्रहरीले हेर्न नमिल्ने भएकाले आफूले नै ती महिलाको परिवारलाई अदालत जान सुझाव दिएको बताए। उता अस्पतालका डाक्टर क्षेत्रीले आफूले ती महिला कर्मचारीलाई घटनाबारे जानकारी लिएर सम्झाउन मात्र खोजेको दाबी गरे। अस्पतालका मेसु किशोर बन्जाडेले ती महिला कर्मचारीको उजुरीका आधारमा सत्यतथ्य छानबिन गर्न अस्पतालले ३ सदस्यीय छानबिन समिति गठन गरेको बताए।

प्रकाशित: १ वैशाख २०८० ०३:५५ शुक्रबार