समाज

नारायणहिटीमा करौडौं मुल्यका गाडी थन्किए!

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयमा करौडौं मुल्यका सवारीसाधन अलपत्र परेका छन्। तत्कालिन राजा तथा राजपरिवारका सदस्यले चढ्ने महङगा बुलेटप्रुफ गाडी ९ वर्षदेखि थन्किएका छन्। गणतन्त्र घोषणासँगै दरबार परिसरमा रहेका सवारीसाधन प्रयोगविहीन भएका हुन्।

नारायणहिटी परिसरको ग्यारेजमा रहेका सवारीसाधन नियमित मर्मत तथा सम्हारको अभावमा अलपत्र परेको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुङगाना बताउँछन्। 'गणतन्त्र घोषणापछि ग्यारेजका सवारीसाधन बाहिर निस्केका छैनन्,' उनले भने,'नियमित मर्मतसम्भार नगरेपछि सवारी अलपत्र परेको हो।' 

नारायणहिटी दरबार नेपाल सरकारको मातहतमा आएपछि ग्यारेजमा ग्यारेजमा करौडौ मुल्य बराबरको ६ वटा बुलेटप्रुफगाडी सहित २६ वटा सवारीसाधन मर्मत अभावमा थन्किएका छन्।

'संग्रहालयले सवारी मर्मत गर्ने होइन्, प्रदर्शनी तथा सगं्रहित गर्ने हो।'प्रमुख ढुङगानाले भने,'सम्बन्धित निकायले चासो नदिदाँ करौडौमुल्यका सवारीसाधन प्रयोगविहीन छन्।' सग्रंहालयले पुराना गाडीहरु छुट्टै प्रदर्शनी कक्ष बनाएर संग्रहालयमा राख्ने तयारी गरिरहेको उनले बताएका छन्।

ग्यारेजमा राजा महेन्द्र र वीरेन्द्रले प्रयोग गरेको ल्याण्डरोभर, राजा वीरेन्द्रले चढ्ने जगुवर, युवराज दीपेन्द्रले चलाउने टोयोटा ल्याण्डक्रुजर , सार्क सम्मेलनमा ल्याएको बुलेटप्रुफ मसिडिज बेञ्जकार र राजदरबार हत्याकण्डपछि घाइते र शव ओसार्न प्रयोग गरिएको ल्याण्डक्रुजर लगायतका सवारीसाधन रहेका छन्। नारायणहिटी दरबारको ग्यारेजमा ९३ वर्ष अघि अर्थात सन् १९२४ मा बनेको फोर्ड कार त्यसै थन्किएको छन्।नारायणहिटी दरबार सगं्रहालयका प्रमुख ढुङगानाका अनुसार नियमित मर्मतसम्हारको अभावमा करौडौंको सवारीसाधन थन्किएर बसेको बताएका छन्। नारायणहिटी दरबारमा रहेका गाडी व्यवस्थापनको लागि गठित कार्यदलले चलाउन सकिने गाडीलाई मर्मतसम्भार गरेर उपयोग गर्न निर्देशन दिएको प्रमुख ढुङगाना बताउँछन्। थन्किएका मध्ये ३ वटा सवारीसाधन मर्मत गरेर अतिविशिष्ट व्यक्तिको लागि उपयुक्त हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

 राजप्रासाद सेवा अन्तर्गत दरबारमा काम गरेका संग्रहालय प्रमुख ढुङगानाका अनुसार एउटै बुलेट प्रुफ गाडीको मुल्य १२ देखि १५ करोड पर्ने दावी गर्छन्।  'धेरैजसो बुलेटप्रुफ गाडी सफ्टवेयर कमाण्डबाट चल्ने गर्थे,' उनले भने,'धेरै वर्ष नचलाउँदा सफ्टवेयर कमान्डबाट चल्ने गाडी बिग्रिए होलान।' 

गृहमन्त्रालय आन्तरिक व्यवस्थापन शाखा 'ख'का अधिकृत छविलाल विश्वकर्माले नारायणहिटी दरबार सगं्रहालयमा रहेका सवारीसाधनको व्यवस्थापन आफ्नो मातहतभित्र नपर्ने बताएका छन्।'गृहमन्त्रालय अन्तर्गतको सवारीको व्यवस्थापन गर्दे आएका छौं।' उनले भने,'नारायणहिटीका सवारीलाई हेर्ने जिम्मेवारी छैन्।' परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले नारायणहिटी परिसरमा रहेका बुलेटप्रुफ तथा अन्य सवारी आफ्नो कन्ट्रोलमा नरहेको दावी गरे।

प्रकाशित: २५ पुस २०७३ ०३:०५ सोमबार

नारायणहिटीमा करौडौं मुल्यका गाडी थन्किए