समाज

फोहोर नउठाउन जुहारी

काठमाडौं- पशुपतिनाथ मन्दिर आवतजावत गर्नेमध्ये एक प्रवेशद्वार हो, गौरीघाट। यहाँको चोक भएर पशुपतिनाथ र गुह्येश्वरी मन्दिर जाने गरिन्छ। दैनिक सयौँ सवारीसाधन समेत यही चोक भएर आवतजावत गर्छन्। चोक भने डम्पिङ साइटजस्तो छ।

लामो समयदेखि चोकमा फोहोर थुप्रिएर बसेको छ। विश्व सम्पदा सूचीकृत पशुपतिनाथ आवतजावत गर्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ। सवारीसाधन फोहोरको थुप्रैमाथिबाट गुड्ने गर्छन्। ‘फोहोरका कारण दैनिक सयौँ भक्तजन नाक थुनेर पैदल हिँड्छन्,’ स्थानीय यादव खरेलले भने, ‘सडकमै फोहोरको डंगुर लागेपछि सवारी गुडाउन पनि समस्या भएको छ।’

यता, धार्मिक तथा पर्यटकीय केन्द्रको प्रवेशद्वारमा महिनौँदेखि फोहोर थुप्रँदा पनि जिम्मेवार निकाय जुहारी खेलेर बसेका छन्।

पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष सडकमा थुप्रिएको फोहोर उठाउने जिम्मा आफ्नो नभएको बताउँछ। त्यस्तै, फोहोर उठाउने निकाय काठमाडौं महानगरपालिका पनि कोषको फोहोर उठाउने आफूहरुको जिम्मेवारी नभएकोे भन्दै पन्छिरहेको छ। यी दुई निकायबीच जुहारी चल्दा लामो समयदेखि गौरीघाट चोक डम्पिङ साइट बन्दै आएको स्थानीयले बताए।

कोषका सदस्यसचिव गोविन्द टन्डन पशुपति क्षेत्र परिसरको फोहोर कोष आफैँले व्यवस्थापन गर्दै आएको र स्थानीयले फ्याँकेको फोहोर कोषले व्यवस्थापन नगर्ने बताउँछन्।

‘चोकमा थुप्रिएको फोहोर गौरीघाटका बासिन्दाले फ्याँकिरहेका हुन््,’ उनले भने, ‘स्थानीयले फ्याँकेको फोहोर उठाउने जिम्मा हाम्रो होइन। परिसरभित्रको फोहोर भने हामीले व्यवस्थापन गरिरहेका छौँ।’

पशुपति क्षेत्रको फोहोर एक वर्ष पहिलेसम्म महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा गत वर्षदेखि परिवर्तन नेपाललाई जिम्मा दिएको टन्डनले बताए। महानगरपालिकाले चार लाख ७५ हजार वार्षिक शुल्कमा फोहोर उठाउँदै आएको थियो।  कोषले महानगरपालिकासँगको सम्झौता खारेज गरी पशुपति क्षेत्रको फोहोर उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको हो।  पशुपति परिसरबाहिर थुप्रिएको फोहोरका विषयमा भने बारम्बार महानगरपालिकालाई जानकारी गराउँदा पनि चासो नदिएको कोषले बतायो।

गौरीघाट चोकमा थुप्रिएको फोहोर कोषले नै फ्याँकेको र उठाउने जिम्मा पनि कोषकै रहेको महानगरपालिकाले बताएको छ। ‘गौरीघाट चोकमा फोहोर थुप्रिएको जानकारी हामीले पाएका छौँ,’ महानगरपालिका वातावरण विभाग प्रमुख रविमान श्रेष्ठले भने, ‘उक्त फोहोर कोष आफैँले फ्याँकेको हुँदा उठाउने जिम्मा पनि उसकै हो।’ श्रेष्ठका अनुसार महानगरपालिकाका सुपरभाइजरले नै कोषले फोहोर फ्याँकेको देखेकाले उठाउने जिम्मा महानगरपालिकाको नरहेको दाबी गरे। शुल्क पाएमा मात्रै महानगरपालिकाले फोहोर उठाउने श्रेष्ठको भनाइ छ।

कोषले फोहोर उठाइदिन महानगरपालिकालाई परिपत्र गरेको थियो। नियमअनुसार शुल्क तिरे मात्रै गौरीघाटमा थुप्रिएको फोहोर उठाउने जवाफ पठाएको महानगरपालिकाले कोषलाई दिएको जनाएको छ।

‘पर्यटकीय तथा धार्मिक केन्द्रको प्रवेशद्वारमै फोहोर थुप्रिएकामा हामी पनि चिन्तित छौँ,’ श्रेष्ठले भने, ‘तैपनि नियमअनुसार जाँदा हामीले उठाउन मिल्दैन। फोहोर थुप्रिएको धेरै भएको हुँदा कोषले पनि नउठाएको खण्डमा केही दिनमा हामी उठाउनेछौँ।’ महानगरपालिकामा नैतिक प्रश्न आउने हुँदा उक्त ठाउँको फोहोर उठाउने जिम्मा महानगरपालिकाको नभए पनि उठाउनुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ।

प्रकाशित: २५ पुस २०७३ ०३:०३ सोमबार

फोहोर नउठाउन जुहारी