समाज

महिलाको शंकास्पद मृत्यु, हत्या भएको माइती पक्षको आरोप

रौतहट- रौतहटमा एकजना महिलाको शंकास्पद मृत्यु भएको छ। रौतहटको फतुहा महेशपुर गाविस १ का सन्तोष कुमार साहकी २१ बर्षिया श्रीमती लालमुनी कुमारीको शनिवार विहान शंकास्पदरुपमा मृत्यु भएको भन्दै माइती पक्षले हत्या भएको आरोप लगाएका छन्। शुक्रवार राति नै लालमुनि कुमारी सुतिरहेको अवस्थामा श्रीमानसहित परिवारजनले घाँटी थिचेर मारेको आरोप माइती पक्षको रहेको छ।

शनिवार बिहान वुहारीको पेट दुखेको भनी एम्बुलेन्स राखेर उपचार गराउन वीरगंजतर्फ लैजाने क्रममा निजगढमा एम्बुलेन्स चालकलाई शंका लागेर हेर्दा मरेको देखेपछि प्रहरीलाई खवर गरेका थिए। निजगढबाट एम्बुलेन्स फर्काएर जिल्ला अस्पताल गौरमा पुर्‍याएपछि महिलालाई मृत घोषणा गरिएको थियो।

                भारत पूर्वी चम्पारण जिल्ला जटौलिया निवासी किशोरी साहले छोरी लालमुनीको सन् २०१६ मार्च ४ तरेखमा फतुहा महेशपुरका राजेन्द्र साहको छोरा सन्तोषसंग मागी विहे भएको थियो। डेन्टल सन्तोष संग विहे गर्नका लागि १० लाख भारतीय रुपैयाँ दाइजोमा दिएको बताउँदै मृतकका दाई जयप्रकाशले पटक पटक नीजि क्लिनिक खोल्नका लागि पाँच लाख रुपैयाँ माग्ने गरेको समेत आरोप लगाएका छन्।       भने अनुसारको रकम दिन नसकेको कारण नै लालमुनिको हत्या भएको माइती पक्षले ठाडो आरोप छ। लालमनिकी आमा गिता देवीले जिल्ला अस्पताल गौरमा दोषीलाई कारबाही गर्न माग गरिन्।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक विरेन्द्र पासवानले लालमुनीको शवलाई जिल्ला अस्पताल गौरमा माइती पक्षको रोहवरमा पोष्टमार्टम गरिएको तथा त्यसको रिपोर्टका आधारमा छानविन हुने बताए। प्रहरीले ससुरा राजेन्द्र साहलाई नियन्त्रणमा लिइएको छ। लालमुनीको श्रीमान सन्तोष अहिले सम्पर्क विहिन अवस्थामा रहेकोले उनको पनि खोजतलास जारी रहेको पासवानले बताए।

               

 

प्रकाशित: २४ पुस २०७३ १३:४३ आइतबार

महिलाको शंकास्पद मृत्यु हत्या भएको माइती पक्षको आरोप