समाज

ठाटीकाँध चिनाउने बिजारे पाटन

कर्णाली विशेष

बिजारे प्राकृतिक सौन्दर्यले मात्र नभएर बेलाबेला लाग्ने मेला र खेलका कारणले प्रख्यात छ। अग्लो लेकमा अवस्थित बिजारेलाई सानो उपत्यका भन्दा फरक नपर्ला। बिजारे पाटन पुग्नेबित्तिकै आसपास र टाढाटाढा रहेका गाउँ नियाल्न सकिने भएकाले यहाँ स्थानीय तथा टाढाबाट आउनेहरू साँझबिहान पुग्ने गर्दछन्। बिजारे टाठीकाँध गाउँपालिकाको पुरानो गन्तव्यका रूपमा कहलिएको छ। बिसाल्लामा रहेको मदन ताल टाठीकाँधको अर्को पर्यटकीय गन्तव्यका रूपमा रहेको छ।

बिजारेबाट रातमा कैलालीको टीकापुर बजारमा झिलिभिली बत्ती बलेको देख्न सकिने स्थानीय बताउँछन्। लेकमा आ“खाले नभ्याउने लामो र फराकिलो पाटन भएकाले घाँसदाउरा गर्न आउने महिलाले गीतका माध्यमद्वारा मनको व्यथा पोख्ने स्थलका रूपमा पनि बिजारेलाई लिने गर्दछन् ।

बिजारे पाटनमा पुगेपछि त्यहाँबाट देखिने प्राकृतिक दृश्यले आफूलाई मनमोहक बनाएको दैलेख सदरमुकामबाट आएका कलाकार अभिषेक अनुरागले बताए।

‘दैलेखका पश्चिममा रहेको बिजारे र मदन ताल पर्यटकीय हिसाबले सुन्दर छन्। अनुरागले भने, ‘यहाँ आउँदा मन आनन्दित हुन्छ। यहा“को हावापानी र वातावरण हेरेर थकान हराउँछ।’

बिजारे पाटन समुद्री सतहदेखि २२ सय मिटरभन्दा उचाइमा रहेको छ।

ससाना रूख र घाँसे मैदानले बिजारेको सौन्दर्य बढाएको छ। बेलाबेलामा चल्ने चिसो हावा अनि कहिले बादल त कहिले घाम देख्दाको परिदृश्यले बिजारे पाटन आउने पर्यटकको मन छुने गर्दछ। बिजारेको पाटनभित्र पोखरी र वरपर बस्ने स्थानीयमा लेकाली जीवनशैलीको दृश्य अवलोकन गर्न सकिन्छ।

बिजारे पाटन संरक्षण गरी प्रचारप्रसार गर्न सकेमा गर्मी महिनामा यहाँ पर्यटकको ओइरो लाग्ने छ।  

स्थानीय युवा शारीरिक व्यायामदेखि खेलकुदसम्मका क्रियाकलाप गर्न बिजारे पाटन जाने गर्दछन्। स्थानीय युवाको प्रयासमा बेलाबेलामा विभिन्न खेल आयोजना पनि हुने गर्दछ। बिजारेमा जानेहरूले हेरेरै नथाक्ने पाटन छ।

यहाँबाट साविकको कर्णाली प्रवेश गर्न सकिने छोटो दूरी भएकाले भविष्यमा बिजारे पर्यटकीय हब बन्ने सम्भावना बढी रहेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षाबहादुर शाहीको भनाइ छ। कालिकोटसँग सीमा जोडिएको साबिकको लकान्द्र र तोलीजैसीमा पर्ने बिजारे पश्चिम दैलेखकै उच्च भेकमा रहेको एक मात्र घुम्नलायक रमणीय स्थल हो।

सवारी साधन भए दैलेख सदरमुकामबाट ५ घन्टामा र पञ्चकोशी क्षेत्र हुँदै पैदल मार्गबाट गएमा दुई दिनमा बिजारे पुग्न सकिन्छ। ठाटीकाँधमा थुप्रै धार्मिक तथा प्राकृतिक सुन्दर स्थल रहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताए।

प्रकाशित: ३० चैत्र २०७९ ०५:५९ बिहीबार

कर्णाली विशेष ठाटीकाँध चिनाउने बिजारे पाटन