समाज

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी

प्रतिवन्धित लागु औषध गाँजा फाड्दै प्रहरी टोली।

धादिङ–दक्षिणी धादिङको किरान्चोक गाविसका महाभारत क्षेत्रमा अवैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले नष्ट गरेको छ। अवैध रुपमा खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाइएको गाँजा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नष्ट गरेको हो। त्यहाँका स्थानीयले हुर्काउँदै गरेको हरियो बोट फाँडिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए।

स्थानीयले सुकाएर तयारी अवस्थामा विभिन्न स्थानमा लुकाइ छिपाइ राखेको १२ कुण्टल गाँजा बरामद गाउँमै गरी नष्ट गरिएको पनि डिएसपी पञ्जियारले बताए। उनले भने,  ‘खेतबारी जताततै ढपक्कै गाँजा फुलिरहेको भेट्यौं र तत्कालै टोली लिएर फाड्यौं।’ बारीको डिल मुनी र खोल्साहरुमा पनि गाँजा लुकाएर राख्ने गरेका रहेछन् त्यो पनि सबै आगो लगाएर नष्ट गरायौं,’ उनले भने।

जिल्लाको किरान्चोक, बैरेनी, महादेवस्थान र भुमेस्थान गाविसका विभिन्न स्थानका स्थानीयहरुले वर्षाैदेखि अवैध रुपमा खेती गर्दै आएका छन्। यस अघि पनि पटक पटक त्यस क्षेत्रमा प्रहरीले हरियो गाँजा फाँडेको थियो । यस पटक भने सुकाएर घरमा लुकाएको समेत आगो लगाएर जलाइएको प्रहरीले जनाएको छ।     महाभारत क्षेत्रका स्थानीयहरुले मकै बालीसँगै व्यवसायिक रुपमा गाँजाको खेती गर्ने गरेका छन्।

प्रकाशित: २४ पुस २०७३ ०९:५२ आइतबार

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी