समाज

दोश्रो मुलपानी महोत्सव सुरु

काठमाडौँको मुलपानी क्षेत्रलाई थप परिचित गराउने उद्देश्यका साथ बुधवारदेखि मुलपानीमा दोश्रो मुलपानी महोत्सव २०७९/०८० सुरु भएको छ। श्री श्रृषेश्वर महादेव संरक्षण क्षेत्र परिसर समाज र मुलपानी युवा समाज मुलपानी ६ काठमाडौँको संयुक्त आयोजनामा मेला सुरु भएको हो।  

मेलाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्रबहादुर कार्कीले एक समारोहवीच गरे। कृषि घरेलु हस्तकलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण र प्रवर्धन गरौ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो।  

मुलपानीलाई थप चिनाउने तथा मुलपानीमै रहेको गुरुकुल तथा बाल श्रमलाई सहयोग गर्ने उद्देश्यले दोश्रो पटक महोत्सवको आयोजना गरेको आयोजक श्री श्रृषेश्वर महादेव संरक्षण क्षेत्र परिसर समाजका अध्यक्ष जगणनाथ खनालले बताए।

महोत्सवमा खाद्य तथा कृषि सामाग्री, नसरीका बोटबिरुवाहरू, दैनिक जीवनका लागि आवश्यक सरसामानहरूदेखि लिएर थुप्रै आवश्यक सम्पूर्ण सामानहरू रहेको अर्को आयोजक संस्था मुलपानी युवा समाज मुलपानी ६ काठमाडौंका अध्यक्ष राजकुमार केसीले जानकारी गराए। 

मेलामा दर्शकलाई आकर्षित गराउन दैनिक राष्टिय तथा स्थानीय कलाकारहरूबाट मनोरञ्जनको कार्यक्रम राखिएको अध्यक्ष केसीले जनाए। त्यस अनुसार दिउँसो २ बजेदेखि दैनिक फरक फरक चिरपरिचित गायक, कलाकारहरूलाई ल्याएर मनोरञ्जन प्रदान गर्ने योजना रहेको उनले सुनाए।  

मेला मुलपानीको चउर नजिकैको खुल्ला क्षेत्रमा भएको छ। मेलामा प्रवेश शुल्क ५० रुपैयाँ राखिएको छ। बृद्धबृद्धा, अशक्त, अपाङ्ग, बालबालिकालगायतलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जनाइएको छ। मेलामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न नगरपालिकाका गरी १५ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ। मेला आगामी वैशाख ११ गतेसम्म चल्ने छ।

प्रकाशित: २९ चैत्र २०७९ १२:२३ बुधबार