समाज

जोखिमपूर्ण झोलुंगे पुलमा यात्रा गर्नुपर्ने बाध्यता

धेरै स्थानीय कष्टकर यात्रा गर्न बाध्य छन्। गत असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा रहेको झोलुंगे पुल भत्काएपछि स्थानीयलाई जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता छ। बाढीले बगाएपछि पुलको आधा भागमा भर्‍याङ लगाएर स्थानीयले आवतजावत गरिरहेका छन्। पुल बगाएको सात महिना बितिसक्दा पनि मर्मत गर्नेतर्फ कसैको ध्यान पुग्न सकेको छैन।

असोजको अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुंगे पुल क्षतिग्रस्त बनाएको थियो। वारपार गर्नै गाह्रो भएपछि स्थानीयले दुई लाख रूपैयाँ खर्च गरेर तिलानदीबाट आएको भँगालो र कर्णाली तर्न पुलको बीचमा काठको भर्‍याङ बनाएका थिए।

नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रीलाई हिँड्न समस्या परेको छ। स्थानीय नरजंग मल्लका अनुसार तिलानदीको भँगालोमा लाप्को (फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुल) र पुल बगाउन बाँकी रहेको बीच भागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको छ तर स्थानीय तहले उक्त पुलको मर्मतमा ध्यान दिएको छैन। तिला नदीको शिव मन्दिरनजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुंगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका हुन्।

‘पुलमा पुग्न भर्‍याङ बनाउनु अन्यथा होइन’, एक स्थानीयले भने, ‘पुल जोखिमपूर्ण छ तत्कालका लागि नदी वारपार गर्ने उपाय अपनाइएको हो। ७ महिना बितिसक्यो यहाँका स्थानीय तहले मर्मतका लागि पहल चालेको देखिएन।’ बेमौसमी वर्षाले कालिकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

पुल क्षतिग्रस्त बनाएपछि केही वर्षदेखि हाट बजारका रूपमा कायम रहेको जिते बजार बगरमा परिणत भएको छ। यसअघि दैनिक झन्डै पाँच सयजनाले आवतजावत गर्ने पुलमा अहिले दैनिक करिब सयजना मात्र वारपार गर्ने गर्छन्। स्थानीय तहका प्रमुखले बजेट अभाव भएको देखाउँदै आएका छन्। सर्वसाधारण नागरिक भने दैनिक कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। स्थानीय गणेश विष्टका अनुसार स्थानीय सरकारको ध्यान नपुग्दा स्थानीय कष्टकर यात्रा गर्न बाध्य छन्। उनले भने, ‘पुलको आधा भाग छैन। 

प्रकाशित: २९ चैत्र २०७९ ०२:३७ बुधबार

अविरल वर्षाका कारण आएको बाढीपहिरो झोलुंगे पुल क्षतिग्रस्त