समाज

जुम्लाका अधिकांश पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिए

बजार अनुगमन गर्दै। तस्बिर: गोल्डेन बुढा

जुम्लाका अधिकांश खाद्यान्न पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका छन्।

जिल्ला प्रशासन जुम्लाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा ८० प्रतिशत खाद्यान्नका पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका हुन्।

जुम्लाका अधिकांश उपभोक्ता म्याद गुज्रेका र गुणस्तरहीन खाद्यवस्तु उपभोग गर्न बाध्य छन्। सरकारी तवरबाट बेलाबखतमा हुने गरे पनि उपभोक्ता सचेत नभएकै कारण व्यवसायीले गुणस्तरहीन वस्तु बिक्री गरिरहेको जुम्ला प्रशासनले जनाएको छ।

प्रशासनले मंगलबार जुम्लाको एरर्पोट वरिपरिका पसलहरु अनुगमन गरिएको छ। धेरै पसलमा म्याद गुज्रेका खाद्यवस्तु पाइनुका साथै पसल दर्ता विना संचालन गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। 

'हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्यौ', उनले भनिन्, 'तर बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाइँयो। यो निकै डरलाग्दो स्थिति हो।' एरर्पोटदेखि कालेखोली सम्मका ४१  पसलमा अनुगमन गर्दा करिब ६ हजार ५ सय ५० रुपैयाँ मूल्यका म्याद गुज्रेका खाद्य सामग्री भेटिएको उनले बताइन्।

'हामीले अनुगमन गरेको क्षेत्र सानो हो तर सोचेभन्दा निकै ठूलो परिमाणमा म्याद गुज्रेका सामग्री भेटियो,' उनले थपिन 'यसरी हेर्दा बजारभरिका गोदाम म्याद गुज्रेका खान नमिल्ने खाद्य वस्तुले भरिएको छ। यसका लागि अनुगमनमा कडाइ गरिनेछ।' 

यस्तै, अनुगमनका क्रममा भेटिएका सामग्री बदाम जुस,डालमोट,सुपर पावर सुर्ती,लेवल नराखिएको चाउमिन, पाउरोटी लिचि,अलकोहल,चिजबल,चाउचाउ,कुरमुरे, तरकारीमा  जफत गरिएको छ। जफत गरिएका सामग्री जलाएर नष्ट गरिएको थियो।

अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सदरमुकाममा आउने जो कोही उपभोक्ताले खाद्य सामग्री किन्दा उत्पादित कम्पनी र म्याद अनिवार्य हेरेर मात्रै खरिद गर्न सुझाव दिइन्।  

त्यस्तै अहिलेसम्म अधिकांश पसल दर्ता पनि नभएको पाइएको छ।  

प्रकाशित: २८ चैत्र २०७९ १३:३१ मंगलबार