समाज

बस्तीमा आगो पस्ने डरले गाउँले रातभर जागा

पर्वतको जलजला गाउँपालिका– ८ नाङलिवाङ जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले रहेका छन्। कुश्मा नगरपालिका– १ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।

जिल्ला समन्वय समिति पर्वतका उपप्रमुखसमेत रहेका स्थानीय सोमबहादुर जिसीका अनुसार अहिलेसम्म कम्तीमा एक सय ५० हेक्टर क्षेत्रफल जलिसकेको छ। विभिन्न सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र आगलागीले सखाप पारेको उनले बताए। जिसीका अनुुसार आगो नियन्त्रणमा स्थानीय, वन कार्यालयका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी परिचालन भए पनि निभाउन सकिएको छैन।

‘दिउँसो हावा चल्छ अनि आगो झनै तीव्रगतिमा फैलिन्छ। आगो नियन्त्रण गर्न सकिएको छैन। घरेलु सामग्रीका भरमा मात्र नियन्त्रणमा कठिन भएको छ’,उनले भने, ‘बस्तीमा पस्न नदिन प्रयास भइरहे पनि जंगल बचाउन भने सकिएको छैन। बस्तीमा आगो पस्ने त्रासले गाउँलेहरू रातभर जागै बसेका छन्।’ उनका अनुसार सल्लोको वन भएको र स्थानीयले घाँस नकाटेका कारण यो बेला सुक्खा हुँदा आगो फैलिएको उनले बताए। आगलागीले बस्तीमा ल्याउने खानेपानी पाइप पनि जलेको  

उनले बताए।

जिसीका अनुसार कुश्मा नगरपालिका– १ काउरेपाखाको १५ हेक्टर, जलजला–८ साउनेपानी सामुदायिक वनको १२, गिठिनीको १५, मालारानीको २०, शालिग्रामको २०, लक्ष्मीनारायण सामुदायिक वनको ४० हेक्टर र कोरेसापाखा वनको ४० हेक्टर क्षेत्रफल वन जलिसकेको छ। ‘झन्डै एक सय ५० हेक्टर क्षेत्रफल वन ध्वस्त भइसकेको छ। आगो सहजै नियन्त्रणमा आउने देखिन्न। बस्तीतिर जान रोक्नेबाहेक विकल्प छैन’,उनले भने, ‘अग्निरेखा बनाएर बस्तीमा पस्न रोक्नेबाहेक विकल्प छैन। हावाहुरीले गर्दा झनै तीव्रगतिमा फैलिएको छ।’उनका अनुसार नजिकका बस्तीमा पानी ल्याउने पाइप पनि त्यही आगलागीमा परेर जलेको छ। बेलैमा आगो नियन्त्रण गर्न नसके थप क्षति हुने र गाउँमा खानेपानीको हाहाकार मच्चिने सम्भावना रहेको उनले बताए।

जलजला–८ का अध्यक्ष हरिविकास जिसीका अनुसार उच्च पहाड भएकाले पनि निभाउन जान अप्ठेरो परेको छ। आगलागीका कारण नजिकैका तालेवाङ, लुकाङ, बनौ, धाइरिङसहितका गाउँका बस्ती जोखिममा छन्। अहिलेसम्म जलजला–८ मा फैलिएको आगो अब जलजला–७ को धाइरिङ र वडा नं ९ को बनौमा पस्न थालेको छ। ‘जंगलछेउमा बढेमानको बस्ती छ। ती बस्ती जोगाउन हम्मेहम्मे भएको छ। आकाशबाट पानी नपरेसम्म आगो सहजै निभ्ने देखिन्न’,जिसीले भने, ‘हिजो राती त दुई बजेसम्म गाउँले सुत्दै नसुती बस्तीमा आगो पस्नबाट रोक्न अग्निरेखा बनाएका थिए। गाउँलेले बस्तीमा आगो पस्ने त्रासले रातमा सुत्न पनि पाएका छैनन्।’

उनका अनुुसार आसपासका वडामा पनि वन क्षेत्र रहेकाले अब आगो ती वन क्षेत्रमा पस्ने त्रास छ। ‘जंगलमा बाँदर, चितुवा, मृग, खरायोलगायतका जनावर र चराचुरुंगीको बासस्थान थियो। ती जनावर र चराचुरुङ्गी पनि मरेको आशंका छ’,उनले भने, ‘रूख ढलेकाले पनि आगो हतपत निभेको छैन। सुकेका रूखका मुढाका कारण आगो लामो समय रहिरहेको छ।’एक सातायता पानी नपरेकाले पनि आगो लाग्न सहज भएको उनले बताए।

डिभिजन वन कार्यालय पर्वतका वन अधिकृत विष्णुप्रसाद अधिकारीले पनि आगलागी नियन्त्रणमा लिन निकै समस्या भएको बताए। उनका अनुसार आगलागीले अहिलेसम्म ठूलो क्षेत्रफल वन क्षेत्र नोक्सान गरिसकेको छ। ‘सुक्खा र भीर भएकाले पनि सहजै निभाउन सकिएको छैन। भीरका कारण त्यहाँ बर्सेनि लडेर मान्छेको ज्यानसमेत गएको थियो। 

प्रकाशित: २८ चैत्र २०७९ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App