समाज

पत्रकार महासंघमा १२ दिनदेखि ताला

दोलखा–सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघ दोलखा शाखामा १२ दिन देखि ताला लागेको छ। जिल्लाका क्रियाशील पत्रकारलाई महासंघले सदस्यता नदिएको भन्दै प्रेस युनियन जिल्ला शाखाले १२ दिन अघि लगाएको ताला अझै खुलेको छैन। 

तालाबन्दी कारण महासंघको दैनिक कामकाज ठप्प प्राय बनेको छ। एक जिल्ला सदस्यका अनुसार ताला खुलाउन पहल नगरेका कारण महासंघका गतिविधि सबै बन्द छन्। युनियनले असोज महिनामा नयाँ सदस्यताका लागि आवेदन गरेका पत्रकारले सदस्यता नपाएको र महासंघको जिल्ला नेतृत्वले क्रियाशील पत्रकारलाई सदस्यता दिनै आनाकानी गरेको आरोप लगाएको छ।

युनियनका जिल्ला अध्यक्ष दीपशंकर चौलागार्इंले केन्द्रले सर्कुलर गर्दा समेत सक्रिय पत्रकारलाई सदस्यता नदिइएका कारण बाध्य भएर तालाबन्दीमा उत्रिनु परेको बताए। ‘महासंघको विधान अनुसार महाधिवेशनको ६ महिना अगावै सदस्यता टुङग्याएर केन्द्रीय समितिमा पठाउनुपर्ने थियो’, उनले भने, ‘तर हामीले विधान अनुसार असोजमा परेका आवेदन टुङग्याँउ भन्दा उहाँहरुले चासो नै दिनुभएन।’ उनले कातिक महिना सम्म परेका निवेदनहरु मात्र टुङग्याउन माग गरे ।

केन्द्रीय समितिले तत्काल ताला खुलाउन पहल गरेर जिल्लामा क्रियाशील पत्रकारहरुको सदस्यता २४ गते भित्र केन्द्र पठाउन पुनः पत्राचार गरेपनि ताला खुलाउन महासंघको जिल्ला नेतृत्वले अहिले सम्म पहल गरेको छैन्। ‘मैले सदस्यता बारे टुङग्याउछु भन्दा भन्दै ताला लगाइयो’, महासंघका जिल्ला अध्यक्ष उद्धव पोखरेलले भने, ‘त्यसैले प्रेस युनियनले ताला लगाउनुको औचित्य पुष्टि गरेर आफंैले ताला नखोले सम्म महासंघको तर्फबाट वार्ता सम्वाद गर्न कुनै पनि पहल हुनेछैन।’ उनले सदस्यता दिन महासंघ तयार रहेको बताए।

युनियनका जिल्ला अध्यक्ष चौलागाईंले छलफलपछि सक्रिय पत्रकारलाई सदस्यता प्रदान गर्न छानविन समिति बनाए ताला खोल्ने बताए। जिल्लाले सदस्यता नदिएपछि असोज महिनामा शाखामा आवेदन गरेका ११ जना हित ६८ जना पत्रकारले सदस्यता माग गर्दै केन्द्रीय समितिमा निवेदन दिएका छन्। केन्द्रीय समितिका पदाधिकारी र सदस्यलेसमेत ताला खुलाउन उचित पहल नगरेको आरोप जिल्लाका सञ्चारकर्मीले लगाएका छन्।

प्रकाशित: २० पुस २०७३ ०६:२५ बुधबार

पत्रकार महासंघमा १२ दिनदेखि ताला