समाज

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा लागेको आगो। नाङलिवाङको जंगल क्षेत्रमा तिनदेखि आगलागी भए पनि नियन्त्रणमा समस्या भएको स्थानीयले बताएका छन्। तस्बिर: नागरिक

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरू रहेका छन्। कुश्मा नगरपालिका–१ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।

जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख समेत रहेका स्थानीयवासी सोमबहादुर जिसीका अनुसार अहिलेसम्म कम्तीमा एक सय ५० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ। विभिन्न सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र आगलागीले सखाप पारेको उनले बताए। जिसीका अनुसार आगो नियन्त्रणमा स्थानीयवासी, वन कार्यालयका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी सहितको टिम परिचालन भए पनि निभाउन सकिएको छैन।

‘दिउँसो हावा चल्छ, अनि आगोले झनै तीव्र गतिमा फैलिन्छ, आगो नियन्त्रण गर्न सकिएको छैन, घरेलु सामाग्रीको भरमा मात्र नियन्त्रणमा कठिन भएको छ,’ उनले भने, ‘बस्तीमा पस्न नदिनका लागि प्रयास भईरहेपनि जंगल बचाउन भने सकिएको छैन। बस्तीमा आगो पस्ने त्रासले गाउँलेहरू रातभर जागै बसेका छन्। ’ उनका अनुसार सल्लोको वन भएको र स्थानीयले घाँस नकाटेका कारण यो बेला सुख्खा हुँदा आगो फैलिएको उनले बताए। आगलागीले बस्तीमा ल्याउने खानेपानीको पाइप पनि जलेको उनले बताए।

जिसीका अनुसार कुश्मा नगरपालिका–१ काउरेपाखाको १५ हेक्टर, जलजला–८ साउनेपानी सामुदायिक वनको १२, गिठिनीको १५, मालारानीको २०, शालिग्रामको २०, लक्ष्मीनारायण सामुदायिक वनको ४० हेक्टर र कोरेसापाखा वनको ४० हेक्टर क्षेत्रफल वन जलिसकेको छ। ‘झन्डै एक सय ५० हेक्टर क्षेत्रफल वन ध्वस्त भइसकेको छ, आगो सहजै नियन्त्रणमा आउने देखिन्न, बस्तीतिर जान रोक्ने बाहेक विकल्प छैन,’ उनले भने, ‘अग्नीरेखा बनाएर बस्तीमा पस्न रोक्ने बाहेक विकल्प छैन। हावाहुरीले गर्दा झनै तीव्र गतिमा फैलिएको छ।’ उनका अनुसार नजिकका बस्तीमा पानी ल्याउने पाइप पनि त्यही आगलागीमा परेर जलेको छ। बेलैमा आगो नियन्त्रण गर्न नसके थप क्षति हुने र गाउँमा खानेपानीको हाहाकार मच्चिने सम्भावना रहेको उनले बताए।

जलजला–८ का अध्यक्ष हरि विकास जिसीका अनुसार उच्च पहाड भएकोले पनि निभाउन जान अप्ठेरो परेको छ। आगलागीका कारण नजिकैका तालेवाङ, लुकाङ, बनौ, धाइरिङ सहितका गाउँका बस्ती जोखिममा छन्। अहिलेसम्म जलजला–८ को फैलिएको आगो अब जलजला–७ को धाइरिङ र वडा नम्बर ९ को बनौमा पस्न थालेको छ। ‘जंगलको छेउमा बढेमानका बस्ती छन्। ती बस्ती जोगाउन हम्मे हम्मे भएको छ। आकाशबाट पानी नपरेसम्म आगो सहजै निभ्ने देखिन्न,’ जिसीले भने, ‘हिजो राती त दुई बजेसम्म गाउँलेहरू सुत्दै नसुती बस्तीमा आगो पस्नबाट रोक्का लागि अग्नीरेखा बनाएका थिए। गाउँलेहरुले बस्तीमा आगो पस्ने त्रासले रातमा सुत्न पनि पाएका छैनन्।’

उनका अनुसार आसपासका वडामा पनि वन क्षेत्र रहेकोले अब आगो ती वन क्षेत्रमा पस्ने त्रास छ। ‘जंगलमा बादर, चितुवा, मृग, खरायो लगायतका जनावर र चराचुरुङगीको वासस्थान थियो। ती जनावर र चराचुरुङगी पनि मरेको आशंका छ,’ उनले भने, ‘रुख ढलेकोले पनि आगो हत्तपत्ति निभेको छैन। सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ।’ पछिल्लो एक सातादेखि पानी नपरेकोले पनि आगो लाग्न सहज भएको उनले बताए।

डिभिजन वन कार्यालय पर्वतका वन अधिकृत विष्णुप्रसाद अधिकारीले पनि आगलागी नियन्त्रणमा लिन निकै नै समस्या भएको बताए। उनका अनुसार आगलागीले अहिलेसम्म ठुलो क्षेत्रफल वन क्षेत्र नोक्सान गरिसकेको छ। ‘सुख्खा र भीर भएकोले पनि सहजै निभाउन सकिएको छैन। भीरका कारण त्यहाँ वर्षेनी लडेर मान्छेको ज्यान समेत गरेको थियो । भीरका कारण मान्छे लड्ने गरेकोले जाली समेत लगाएर घेरेका थियौ, अहिले त्यही क्षेत्रमा भीषण आगलागी भएको छ,’ अधिकारीले भने, ‘निभाउने प्रयासमा स्थानीय श्रोत साधन र सुरक्षाकर्मी परिचालन बाहेक विकल्प छैन। आइतबार पनि दिनभर प्रयास भएको हो, तर, सकिएको छैन।’ आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको उनले बताए। आगो नियन्त्रणका लागि सशस्त्र, नेपाल प्रहरी सहित स्थानीयवासी खटिएको उनले बताए।

प्रकाशित: २७ चैत्र २०७९ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App