समाज

भूकम्पपीडितलाई सकस : पालबाट पानी, जस्ताबाट शीत

केही दिनयता वर्षासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका उत्तरी क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । गतिलो छानो तथा न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा सकससाथ रात कटाइरहेका छन् ।

'पाँच दिनदेखि घामको अनुहार देख्न पाएका छैनौं। दिनैपिच्छे पानी परिरहेको छ,' सिन्धुपाल्चोकको हिमाली गाविस सेलाङस्थित बाँसखर्क शिविरका बेनबहादुर थापाले भने, 'अधिकांश टहरोका पाल च्यातिएका छन्, पीडित कठ्यांग्रिने अवस्था आएको छ। खोइ, हाम्रो पीरमर्का कसले सुन्ला र।' उनका अनुसार उक्त शिविरमा बतासे, गुम्बा, गोल्चे, सेलाङ र स्याउलेका करिब २ सय परिवार बस्दै आएका छन् ।

 'च्यातिएको पालबाट पानी छिर्छ, जस्ताबाट शीत चुहिन्छ। ओढ्ने–ओछ्याउने पानीले भिजेका छन् ,' जाडोले काँपेको स्वरमा थापाले सुनाए, 'पानी चुहिएकाले आगो बाल्न हम्मे पर्छ। जीउ तताउनसमेत पाएनौं।' उनका अनुसार चिसो बढेसँगै रुघाखोकी र ज्वरोले बालबालिका र बृद्धवृद्धा बिरामी पर्न थालेका छन्।

सिन्धुपाल्चोक, गोरखा र धादिङका उत्तरी क्षेत्रमा हिउँ पर्न थालेकाले स्थानीयको दैनिकी असहज बन्दै गएको छ। 'हिउँ पर्न थाल्यो, बेस्सरी जाडो बढेको छ। अस्थायी शिविरका केटाकेटी तथा बुढाबुढीलाई चिसोले असर पुर्‍याएको छ। कतिपय परिवारसँग आङ ढाक्ने तथा राति ओढ्ने कपडा छैन,' गोरखा, बारपाक–४ की कुमारी सुनारले भनिन् । उत्तरी गोरखाका लाप्राक, गुम्दा, उहिया, सामागाउँ, बिही, प्रोक, ल्होलगायत गाविसमा हिउँ पर्न थालेको र तल्लो भेगमा पानी पर्न थालेको छ।

सिन्धुपाल्चोकको हिमाली क्षेत्र हेलम्बुमा हिउँले सेताम्मे भएपछि त्यहाँको जनजीवन सकसयुक्त भएको छ। पानी पर्नुका साथै त्यहाँ केही दिनदेखि हिमपात भइरहेको मेलम्चीघ्याङ माविका शिक्षक रुद्रकुमार श्रेष्ठले बताए। 'चिसो बढ्दै गएकाले स्थानीय घरबाट बाहिर निस्कन छाडिसके,' उनले नागरिकसँग भने, 'हिउँ जम्न थालेकाले पीडितलाई झनै गाह्रो भएको छ। अस्थायी टहराले हिउँ थेग्ने  स्थिति छैन।' उनकाअनुसार हेलम्बुका मेलम्चीघ्याङ तथा शेर्माथानका भूकम्पपीडितको बस्ती   हिउँले छपक्कै ढाकिएका छन्।

सिन्धुपाल्चोकका तातोपानी, लिस्ती, मार्मिङ, घोर्थली, फुल्पिङकट्टी, गोल्चे गुम्बा, सेलाङ, बरुवा, किउललगायत दर्जनभन्दा बढी गाविसका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। पर्याप्त कपडा नभएकाले पीडित आगो तापेर शरीर तताउन बाध्य छन्। मान्द्रो, भकारी, त्रिपाल र जस्ताको अस्थायी टहरोमा पानी चुहिँदा आगो बाल्नै गाह्रो भएको पीडितको दुखेसो छ। गाडी नचल्ने भएकाले ती गाउँमा भूकम्पपछि पर्याप्त जस्तापाता पुर्‍याउन सकिएको छैन।

उत्तरी गोरखाका केरौंजालगायत गाविसमा टहराबाट स्याँठ छिर्ने तथा जस्तापाताबाट शीत चुहिने समस्याले भूकम्पपीडितको बिचल्ली भएको छ। जस्तापाता बारेर बनाइएका स्कुलमा पानी छिरेपछि पठनपाठनमा समस्या भएको छ। गोरखा, स्वाँराकी शिक्षक सलिना गुरुङले भनिन्, 'दिउँसो र राति स्याँठ चल्ने तथा लगातार पानी पर्न थालेकाले विद्यालयमा  पढाउनै मुस्किल हुन थालेको छ।' अत्यधिक चिसो बढेपछि तिब्बतसँग सिमाना जोडिएका उत्तरी गोरखाका विद्यालय बन्द भएका छन्।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका १२ भन्दा बढी ठाउँमा पीडितले अस्थायी शिविर बनाएर बसेका छन्। कहिलेसम्म बस्न पाउने टुंगो नलाग्दा शिविर नाम मात्रको छ। 'आगोको धुनी जगाएर रात काट्न बाध्य छौँ,' सामान्य अवस्थामा पनि घाम देख्न मुस्किल पर्ने हिमाली गाउँ जेठलको ओखरेनी शिविरबाट बलबहादुर श्रेष्ठले भने, 'त्यही पनि शरीर तात्दैन। चिसोले राम्ररी निदाएका छैनौं,' उनले भने। राहतबापत पाएको रकमले गत वर्ष किनेको न्याना लुगाफाटा शीतले भिजेर काम नलाग्ने भएका उनले जानकारी दिए।

 सिन्धुपाल्चोकको 'कर्णाली क्षेत्र' भनेर चिनिने विकट गोल्चे र गुम्बाका भूकम्पपीडितले शीत र स्याँठबाट बच्न आगोको धुनी जगाउन थालेको महिना बित्न लागिसक्यो। उत्तरी भेगका अधिकांश गाउँमा हिमपात भइरहेकाले सञ्चार सम्पर्क टुट्दै गएको गुम्बा गाविसका सामाजिक परिचालक प्रेम तामाङले बताए। उनका अनुसार यस क्षेत्रका तेम्बाथान, क्याङसिङ, गुम्बा, गोल्चेलगायत गाउँमा केही फिटसम्म हिउँ जमेको छ। जस्ता नभएकाले त्यहाँका पीडित सुरुदेखि नै स्याउला, मान्द्रो, भकारी, त्रिपालले बनाइएका टहरोमा बस्दै आएका छन्।

भूकम्पले घर भत्किएपछि गाउँ छाडेर धादिङ सदरमुकाम आसपास शिविरमा बस्दै आएका भूकम्पपीडित समस्यामा परेका छन्। पानी चुहिन थालेपछि उनीहरूले टहराभित्र आगो बालेर समेत बस्न सक्ने स्थिति छैन। भूकम्पपछि धादिङका तिप्लिङ, सेर्तुङ, लापा, रिलगायत गाविसका पीडित सदरमुकाम आसपासका अस्थायी टहरामा बस्दै आएका हुन्।

'दुई दिनदेखि आकाश धुम्मिएको छ। जाडोले बाहिर हिँडडुल गर्न गाह्रो छ। टहराभित्रै जसोतसो टाउको लुकाउनुको विकल्प छैन,' सदरमुकामनजिकै नीलकण्ठ नगरपालिकाको सिमपानीमा बस्दै आएका तिप्लिङका श्याम तामाङले भने ।

उनका अनुसार उत्तरी धादिङबाट झरेका पीडित नीलकण्ठको दामगाडे, अल्छीडाँडा, सिमपानीलगायत ठाउँमा बस्दै आएका छन्। यसैगरी, लापाका भूकम्पपीडित सल्यानटारको पौवा डिल तथा रि गाविसका पीडित ढोला गाविसमा बस्दै आएका छन्।

  सिन्धुपाल्चोकका इन्द्रावती, ब्रह्मायणी, सुनकोसी, भोटेकोसी, मेलम्ची, इन्द्रावती नदी किनारका बस्ती तुषारोले ढाकिएका छन्। दैनिकजसो वर्षा हुँदा न्यानो मानिएका बेँसी तथा मध्यभेगको जनजीवन चिसिएको छ। पुनर्निर्माणमा भएको ढिलाइले भूकम्पपीडित यसपालि पनि ठिहीमा कठ्यांग्रिन बाध्य भएका छन्।

सिन्धुपाल्चोकका झन्डै ७९ हजार पीडितमध्ये भूकम्पपछि आफूखुसी ५ सय २४ मात्र घर बनेका छन्। झन्डै ७५ हजार पीडितले पहिलो किस्ता ५० हजार लगे पनि करिब २ हजारले मात्र पुनर्निर्माण थालेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ।  गोरखामा सरकारी अनुदानको पहिलो किस्ता बुझेका करिब ५३ हजार भूकम्प पीडितमध्ये २० प्रतिशतले मात्र घर बनाएका छन्। अन्य पीडित  अस्थायी टहरामै बस्दै आएका छन् ।

चिसो बढेसँगै भूकम्पपीडितको जनजीवन कष्टकर बन्दै गएकाले जिल्ला दैवीप्रकोप उद्धार समितिले न्यानो लुगा वितरण गर्ने योजना बनाएको छ। स्थानीय विकास अधिकारी नारायण आचार्यले भने, 'टहरामा भएका भूकम्पपीडितलाई चिसोले सताउन थालेपछि संघ–संस्थासँग समन्वय गरी कपडा बाँड्न लागेका छौं।'

(ध्रुव दङ्गाल/सिन्धुपाल्चोक, शंकर श्रेष्ठ/धादिङ, नरहरि सापकोटा/गोरखा)

प्रकाशित: १९ पुस २०७३ ०३:२४ मंगलबार

भूकम्पपीडितलाई सकस पालबाट पानी जस्ताबाट शीत