समाज

भूमाफियासँग साँठगाँठ गरी ३ बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ

काठमाडौं – प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको ३ बिघा जग्गा बिक्री गर्न सघाएको  आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई कार्यालयबाटै पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मिनबहादुर भट्टराईलाई पुस ६ गते ललितपुर लगनखेलमा रहेको कार्यालयबाट पक्रेको हो।

गिरोहका देबेन्द्र थापा र नगेन्द्र कार्कीलाई मंसिर ३० गते सुनसरीबाट पक्राउ गरेपछि भट्टराईको संलग्नता खुलेको हो। ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले मूल्यवान जग्गा योजनावद्ध रुपमा किर्ते कागजपत्रका आधारमा बेचबिखनमा संलग्न गिरोहका सदस्य र सरकारी कर्मचारीलाई पक्राउ गरिएको बताए। घटनामा संलग्न थप तीनजना अझै फरार रहेका छन्। उनका अनुसार फरार रहेकाहरु अवकाशप्राप्त सरकारी कर्मचारी हुन्।

‘यो उच्चतहको ठगी हो, करौंडो मूल्यको जग्गा किर्ते कागजपत्रका आधारमा बेचबिखन तथा दर्तापास भएको छ, थप अनुसन्धान भै रहेको छ,’ डिआईजी सिलवालले भने।

‘यो उच्चतहको ठगी हो, करौंडो मूल्यको जग्गा किर्ते कागजपत्रका आधारमा बेचबिखन तथा दर्तापास भएको छ, थप अनुसन्धान भै रहेको छ,’ डिआईजी सिलवालले भने।

रोका अनुसार चितवन भण्डारा–२ बस्ने लोकेन्द्रराज पाठकको नामको कित्ता नम्वर १०८२ को ३ बिघा १ कठ्ठा ५ धुर जग्गा गिरोहले किर्ते ब्यक्ति खडा गरि बेचबिखन गरेका थिए। अनुसन्धानमा  देबेन्द्र थापा समेतको गिरोहले तत्कालीन डिल्लीबजार मालपोत कार्यालय तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी जग्गाधनी लोकेन्द्र राज पाठकको नागरिकता तथा जग्गा धनी पुर्जा किर्ते खडा गरेको खुलेको हो।  

अनुसन्धानमा गिरोहका सदस्य आफैंँ जग्गाधनी बनी मालपोत कार्यालय डिल्लीबजारबाट २०६६ फागुन २८ गते जग्गाको कुल मुल्य १ लाख मात्र राखी जग्गा बिक्री गर्ने लोकेन्द्र राज पाठक तथा जग्गा खरीद गर्ने जीवन राज पाठक उल्लेख गरी बेजिल्ले राजिनामा पास गरेका थिए। पास गरेको सम्पूर्ण सक्कल कागजातहरु हुलाकबाट पठाउनु पर्नेमा मालपोतका कर्मचारीले गिरोहको हातैमा दिएका थिए।

गिरोहले उक्त कागजातबाट २०६६ चैत ९ गते मालपोत कार्यालय चितवनमा जग्गा नक्कली जीवन राज पाठकको नाममा दाखिला खारेज गरी सोही जग्गा पुन २०६७ बैशाख ६ गते नक्कली जीवन राज पाठकले मकवानपुर स्थित नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि. कम्पनीलाई ४९ लाख ५० हजारमा राजिनामा बिक्री गरी ठगी गरेका थिए।

कम्पनीले जग्गासुरुमा हिमालय बैंकमा धितो राखि ५ करोड कर्जा र सो जग्गा समेत धितो थपगरि  प्राईम बैंकबाट  २०६९ साउन १६ मा ८ करोड ऋण लिएको खुलेको हो ।  

जग्गाधनी विदेशमा, गिरोहले बनायो नक्कली कागजात

वास्तवीक जग्गा धनी लोकेन्द्रराज पाठकको उक्त जग्गाको जग्गा धनी पुर्जाको प्रतिलिपी  चितवन जिल्लामा जग्गाको कारोवार गर्ने व्यक्तिहरुबाट देवेन्द्र थापाको गिरोहले प्राप्त गरेपछि ठगीको योजना सुरु भएको थियो। जग्गाधनी विदेशमा रहेकाले लोकेन्द्र राज पाठकको नागरिकता तथा उक्त जग्गा धनी पुर्जा समेत किर्ते खडा गरी निजको भतिजा नाता पर्ने जीवनराज पाठकलाई बेजिल्ले पास गर्ने गरी नगेन्द्र कार्की आफै जीवनराज पाठक बनेका थिए।

गिरोहले आवश्यक सबै सरकारी कागजपत्र किर्ते बनाएको अनुसन्धानमा खुलेको छ।  किर्ते कागजपत्रको आधारमा  मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट सो  कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी २०६६ चैत्रमा बेजिल्ले पास भएको हो।

पीडितले आफ्नो जग्गा कीर्ते गरी बेचबिखन भैसकेको थाहा पाएपछी लिखत बदरको लागी चितवन जिल्ला अदालतमा उजुरी दिएका छन । उक्त मुद्दा विचाराधिनमा रहेको छ। पीडितले गिरोहको खोजि र कारवाहीको लागी महानगरीय प्रहरी परीसर, अपराध महाशाखा काठमाण्डौं तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका थिए। तर कतैबाट अनुसन्धान प्रगती नभएपछि पीडित ब्युरोको सम्पर्कमा आएको डिआईजी सिलवालले जानकारी दिए।  

प्रकाशित: १८ पुस २०७३ १४:४२ सोमबार

भूमाफियासँग साँठगाँठ गरी बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ