समाज

टहरामा न्यानो खोज्दै भूकम्प पीडित

धादिङ–भूकम्पले घर भत्किएर वा जमिन चिरा परेर गाउँमा बस्न नसक्ने भएपछि सदरमुकाम आसपास शिविरमा बस्दै आएका भुकम्प पीडित चिसोका कारण थप समस्यामा परेका छन् ।

जस्ताले बारेर टहरा निर्माण गरी बसेकाहरुलाई दिन दिन बढ्दै गएको चिसोले थप समस्या उत्पन्न भएको हो । पानी पर्न थालेपछि उनीहरुले न टहराभित्र आगो पुकेर बस्न सकेका छन् न बाहिर खुल्ला आकासमा आगो सल्काउन पाएका छन् । चिसोका कारण बस्तीमा समस्या आएको तिप्लिङ–९ बाट सदरमुकाम नजिकै शिविरमा बस्दै आएकाहरुले गुनासो गरेका छन् ।

भूकम्पपछि तिप्लिङ, सेर्तुङ, लापा, रि गाविसका विभिन्न वडाबाट झरेका पीडितहरुले सदरमुकाम आसपासमा बस्ती बसाएका छन् । चिसोले उनीहरु बाहिर निस्कन समेत समस्या भएको छ । पीडितहरु बस्दै आएका शिविर र वस्तीहरु  सुनसान जस्तै बनेका छन् ।

सदरमुकाम आसपासमा बाक्लो पानी नपरेपनि दुई दिनदेखि राम्रो घाम लाग्न सकेको छैन । दिन धुम्म परेको छ । जाडोले बाहिर बाहिर हिडडुल नगरी मानिसहरु टहराभित्रै ढोका थुनेर न्यानो खोजेर बसिरहेका छन् । आगो फुकेर बस्न दाउरा समेत प्रशस्त नभएकोे भित्रभित्रै बस्ने गरेको सदरमुकाम नजिकै निलकण्ठ नगरपालिकाको सिमपानीमा बस्दै आएका तिप्लिङका श्याम तामाङले बताए ।

जिल्लाको उत्तरी क्षेत्रबाट झरेका पीडितहरु निलकण्ठको दामगाडे, अल्छीडाँडा, सिमपानी लगायतका स्थानमा बस्दै आएका छन् । शिविर बनाएर बस्नेहरु अधिकांश पुरानो घर भएको ठाउँको जमिन चिरा परेर त्यहाँ बस्न नसक्न अवस्थाका छन् । विशेषगरी लापा गाविसका भुकम्प पीडित सल्यानटारको पौवा डिलमा र रि गाविसका पीडित ढोला गाविसमा बस्दै आएका छन् । शिविरमा बस्दै आएका सबैको अवस्था चिसोका कारण कष्टकर बनेको छ ।

 

प्रकाशित: १८ पुस २०७३ १२:४२ सोमबार

टहरामा न्यानो खोज्दै भूकम्प पीडित