समाज

मकै बारीमा करेन्ट लागेर गैंडा मर्‍यो

गैंडाकोटको मकैबारीमा मृत फेला परेको गैंडाको फोटो पनि छ। फोटो सौजन्य: सुभास सापकोटा

चितवन- नवलपरासी गैंडाकोटमा मकैबारीभित्र सोमबार अन्दाजी १२ वर्षको एउटा पोथी गैंडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार  करेन्टको झट्का लागेर गैंडाको मृत्यु भएको देखिन्छ। गैंडाकोट नगरपालिका वडा नं. ७ गैरीमा गैंडा मृत फेला परेको हो।

                गैंडाको खाग खुर सुरक्षित रहेका कारण तस्करहरुले नै निशाना बनाएको भनेर भन्न सक्ने अवस्था नरहेको अधिकारीहरुले दावी गरेका छन्। गैंडाको नाकमाथि हुने सिंग जस्तो बस्तु खागका लागि तस्करहरुले गैंडा मार्ने गर्छन् । २०७१ साल बैशाख यता भने चितवन निकुञ्ज आसपासमा तस्करहरुले खागका लागि गैंडा मारेको अवस्था छैन।

                गैंडाको मुखबाट फिँज आएको थियो । ‘पोष्टमार्ट रिपोर्टले पनि करेन्ट लागेर मरेको भन्ने देखियो। मकैबारी भएका कारण गैंडालाई रोक्न करेन्ट छाडेको हुन सक्छ’ चितवन निकुञ्ज कार्यालयका प्रमुख कँडेलले भने । बालीनाली जोगाउन छाडेको करेन्ट लागेर यसअघि पनि पटक पटक गैंडा मर्ने गरेका छन्।

गैंडा दुर्लभ वन्यजन्तु हो। गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै सजाय हुने कानुनी व्यवस्था छ। बारीमा गैंडा मरेपछि अनुशन्धानका लागि एकजनालाई नियन्त्रणमा लिएको सेक्टर वन कार्यालय नवलपरासी नवलपुर कावासोतीले जानकारी दिएको छ।

 

               

प्रकाशित: १८ पुस २०७३ १२:४० सोमबार

मकै बारीमा करेन्ट लागेर गैंडा मर्‍यो