समाज

तराईका थारू समुदाय मनाइरहेछन् बहर जातरा पर्व

आदिवासी थारू जाति सुख-शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाइरहेका छन्। नयाँ वर्ष २०८० आउन चार दिन मात्र बाँकी छ। सिरुवा अर्थात् पहिलो पर्व जुन वर्षको सुरु दिन मनाइन्छ। यो पर्वको पूर्वसन्ध्यामा थारू समुदायको बहर जातरा पर्व मनाउने गरेका छन्।

थारू समुदायले आफ्नो ग्रामथानको सीमाभन्दा बाहिर खेता पूजा गरेर सुख-शान्ति र परिवारका सदस्यलाई कुनै पनि प्रकारको रोग नलागोस् भनेर कामना गर्नुका साथै झाडापखला र अन्य संक्रमण नफैलियोस् भनेर पूजा गर्ने गरिएको इटहरी नगरपालिका-१६ का सीताराम चौधरीले बताए। ‘पौराणिक इतिहासअनुसार चैत मसान्तको दिन बहर जातरा मनाउने गरिए पनि चैत अन्तिम सातादेखि नै यो मनाउने गरिन्छ’, सीतारामले भने।

बहर जातरा सिरुवा पर्व वा जुरशीतललाई स्वागत गर्न मनाइने गरिन्छ। सिरुवा पर्व थारूसँगै राजवंशी, ताजपुरिया, गनगाईं, माझी, मेचे, उराव, किसान, धिमाल लगायतका समुदायले मनाउने गर्छन्।

‘घरमा कुल देवताको पूजापाठ गरी मान्यजनबाट आशीर्वाद लिएपछि सिरुवा पर्व मनाउने गरिन्छ’, इटहरी-१६ कै महीनारायण चौधरीले भने, ‘अहिले थारू समुदायको बाहुल्य भएको स्थानमा बहर जातरा पर्व मनाउने क्रम चलिरहेको छ भने सिरुवा पर्वका लागि प्रत्येकले घर लिपपोत गरी सिँगार्ने काम भइरहेको छ।’

सिरुवा पर्वमा महिलाले विभिन्न किसिमका रंगीन माटोको प्रयोग गरी लिपपोत गरी चैत अन्तिमदेखि चिटिक्क पार्न थाल्छन्। ‘विगतका तीन वर्ष कोरोना महामारीले राम्रोसँग बहर जातरा र सिरुवा पर्व मनाउन पाएनौं’, महीनारायणले भने, ‘तीन वर्ष हाम्रा लागि दुःखका वर्ष भए। यसपटक भने जताततै धुमधामसँग पर्व मनाइरहेका छौं।’

धुमधामका साथ पानी छ्यापेर सिरुवा पर्व मनाउने तयारी थारू समुदायको रहेको इटहरीकै अगुवा तेजनारायण चौधरीले बताए।

पानी सिरुवाका अवसरमा अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोइपखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने प्रचलन छ। सिरुवा मनाएको रात जडीबुटी ल्याएर घरको चारैतिर पूजापाठ गर्ने प्रचलन समेत छ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै ठूलाबाट सानाले आशीर्वाद लिने चलन पनि छ। बिहानैदेखि अग्रजले आआफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहोस्’ भनेर आशिष दिने गरिन्छ।

यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो। चुलोको लिपपोत गरेर पूजा गरिन्छ। त्यसपछि चुलोमा बेलुका खाना पकाइँदैन। दिनमै पकाइएका भोजन नै रातमा खाने परम्परा छ। वर्षमा एक दिन चुलोलाई आराम दिनुपर्ने मान्यता छ। सिरुवा पर्वका अवसरमा पूर्वी तराईका जिल्लाका थारू समुदाय नजिक रहेको धार्मिक स्थलमा मेला लाग्ने गर्छ।

प्रकाशित: २६ चैत्र २०७९ ०२:२० आइतबार

आदिवासी थारू जाति बहर जातरा पर्व