समाज

असिना पानीपछि उत्तरी धादिङमा हिमपात, भूकम्प पीडितको जनजीवन प्रभावित

जिल्लाको सत्यदेवी गाविसमा आइतबार परेको असिना । तस्विर साैजन्यःशान्ति तामाङको फेसबुकबाट ।

धादिङ–धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट बस्तीमा असिनापानी र हिमपात भएको परेको छ। आइतबार दिउँसो असिना पानीपछि हिमपात सुरु भएको स्थानीयले बताएका छन्। उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको छ। तिप्लङको लिङ्जो, सेर्तुङको हिन्दुङ, रिको किचेत, गेम्बा, लापाको कचेत, तेम्मो, नेवेर लगायतका स्थानमा हिउँ परेको रि गाविसका एस्तर तामाङले टेलिफोन मार्फत जानकारी दिइन्।

‘शुक्रबारदेखि नै गाउँमा घाम देखिएको थिएन। चिसो एकदमै बढेको थियो। दिउसो धेरै असिना पर्यो । डाडाँमा सबैतिर हिउँ परेको छ,’ लापा ठूलोगाउँकी कान्छीमायाँ तामाङले भनिन्, ‘गाउँमा पनि हिउँ आइपुगेको छ ।’

दार्खा प्रहरी चौकीका अनुसार सेर्तुङ र तिप्लिङमा बढी हिमपात भएको छ। हिउँ पर्न सुरु भएपछि ती बस्तीको संचार सेवा पनि अवरुद्ध बनेको छ । दार्खास्थित प्रहरीले वारिपारि सबै गाविसको हिमपात भएको जानकारी दिएको जिल्ला प्रहरीले जनाएको  ।

असिनाले खेतबारीमा लगाएको बाली बिग्रिएको छ। करेसा बारीमा लगाएर सागपात सबै नष्ट भएका छन्। भूकम्पपछि अस्थाई टहरा र चिपालमुनी बस्दै आएका उत्तरी धादिङको उच्च पहाडी भेगका स्थानीयको जनजिवन प्रभावित बनेको छ। भूकम्पले घर भत्केर टहरामा जीवनयापन गरिरहेकाहरु हिमपात भएपछि विचल्लीमा परेका छन् ।

डाँडा डाँडामा हिमपात हुन थालेपछि बेसीका बस्तीहरुमा पनि अत्याधिक चिसो बढेको सेर्तुङ–१ बोराङका सिङ्गम तामाङले जानकारी दिए। असिनापछि चिसो बढेका कारण आइतबार विद्यालयहरु पनि छिट्टै छोडिएको उनले बताए। हिमपात सुरु भएको बस्तीहरुमा पुग्न सदरमुकाम धादिङबेसीबाट ३ तीन दिन पैदल हिड्नु पर्छ।

पाँच वर्ष यता बस्तीमा हिउँ नपरेको भएपनि यस पटक सुरुवातमै बस्तीमा हिउ आइपुगेको स्थनीयहरुले बताएका छन् । असिना र पानी फेरी दोहोरियो भने र हिमपात बढ्यो भने चिसोका कारण कठ्याग्रिएर थप समस्या आउन सक्ने लापाका स्थानीय अगुवा घनबहादुर तामाङले बताए। उत्तरी क्षेत्रको वर्षात र हिउँले सदरमुकाम आसपासमा पनि चिसो बढेको छ । आइतबार दिनभर जस्तो घाम देखिएन।
 

प्रकाशित: १८ पुस २०७३ ०४:२२ सोमबार

असिना पानीपछि उत्तरी धादिङमा हिमपात भूकम्प पीडितको जनजीवन प्रभावित