समाज

दुर्गमको पीडा: पोष्टमार्टम गर्नै दुई दिन

भाबबिह्ल आमासंगै आफन्त। फोटो सौजन्यः दयासरी बुढा <br>

‘राज्यले दुर्गमका जनतालाई जहिले सौतेलो व्यवहार गरेको प्रमाण यही हो। हामीलाई जहिले पीडा माथि पीडा थपिन्छ। पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा भन्छिन् ‘नजिकमा डाक्टरको पहुँच नहुनुका कारण हरेक दिन यहाँका स्थानीयले सास्ती खेप्न बाध्य छन्।

यति बेला रन्मा गाउँमा दुई अबोध छोरी मारिएका छन्। परिवार पीडामा छ तर उनिहरुको शव बोकेर डाक्टर खोज्न भौतारीनु परेको छ।’ समयमा सडक समेत बन्न नसकेको बताउँदै उनी भन्छिन् ‘हामी जहिल्यै राज्य सत्ताको उपेक्षामा परेका छौ।

सडक नहुँदा समयमा उपचार नपाएर कतिले ज्यान गुमाउनु पर्छ। सुत्केरी गराउन लग्दा लग्दै आमाहरू मर्ने गरेका घटनाले समेत कसैलाई छुँदैन।

दुर्गम हुनुको पीडा यति बेला रुकुमले नराम्रो सँग भोगेको छ। बुधवार बेलुका रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा सिस्नो टिप्न घरबाट निकेका दुई बालिका मृत अवस्थामा भेटिएपछि सुरु भएको पीडा दुर्गमका कारण थप बल्झेको हो। यति बेला परिवारका सदस्य सँगै सिङ्गो गाउँ शोकमा छ।

सबैका आँखा रसाएका छन्। स्थानीयका आँखामा पीडा सँगै त्रास बसेको छ। परिवारले ४ दिन सम्म पनि अन्त्येष्टि गर्न पाएको छैन। सडक सञ्जालले नछोएको दुर्गम गाउँ रन्मा नजिकै डाक्टर नभएका कारण परिवार शव बोकेर परिवार सदरमुकाम कुद्नु परेको हो।

बिहीबार बिहान शव भेटिए पनि भौतिक दुरी टाढा भएका कारण समयमा प्रहरीको टोली पुग्न सकेन।

‘सडकको पहुँच भएको भए सहज हुने थियो। पुग्नै समय लाग्यो। कम्तीमा सडक मात्र भइदिएको भए सबैलाई सहज हुने थियो।’ 

बिहान ७ बजे गाडीमा ४ घण्टा अनि फेरि पैदल ४ घण्टा गरी ८ घण्टाको यात्रा पछि घटनास्थल पुगेकी रुकुम प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठले भनिन् ‘पोष्टमार्टम गर्नका लागि उत्तिकै समय लगाएर सदरमुकाम ल्याएका हौ।

 उनले घटनाको अनुसन्धान भइरहेको बत्ताइन। ‘केहिलाई नियन्त्रणमा ल्याएर सोधपुछ गर्दैछौ।’उनीहरुको पोष्टमार्टम घटना भएको चौथो दिन मध्यान्ह तिर मात्र सुरु गरेर दिउँसो अबेला परिवारलाई शव हस्तान्तरण गरिएको थियो। औपचारिकता सकाएर दुई बालिकाको शव शनिबार बेलुका घर पुग्ने छ। 

गणतन्त्र आएको मुलुकका जनताहरू मृत शरीर बोकेर ५/६ दिन सम्म शव‘बोकेर डाक्टर खोज्दै भौतारीन बाध्य छन्। गाउँ सम्म सडक नपुग्नु अनि सदरमुकामका अस्पताल बाहेक अन्यत्र डाक्टरको उपस्थिति नहुनु यहाँको सबै भन्दा ठुलो पीडा हो।  

‘१० वर्ष यही भूमि प्रयोग गरेर सशस्त्र युद्ध गरेको माओवादी नेतृत्व फेरि पनि सत्तामा छ तर यहाँको विकासका लागी गतिलो काम गरेन।’ एक स्थानीय माओवादी कार्यकर्ता भन्छन् ‘यहाँका केही व्यक्तिको जीवनस्तर फेरिनु बाहेक अन्य केही परिवर्तन भएन।’ कुनै बेला राता मान्छेका नामले चिनिने रोल्पा रुकुमका जनताहरू स्वास्थ्य शिक्षा रोजगार अर्थात् मौलिक हकबाट जहिले वञ्चित हुने गरेका छन्। ती कार्यकर्ता भन्छन् ‘हिजोका राता मान्छे सँग यति बेला काला कथा मात्र छन्।’

घटना के थियो ?

बुधवार बेलुका सिस्नो टिप्न हिँडेका तारामान बुढाका ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर राती घर आएनन्। परिवारमा छटपटी भयो। वरपर खोज्न थाले तर भेटिएनन्। बिहान उज्यालो भए पछि अलिपर भिरमा दुई दिदीबहिनीको शव भेटियो। हल्ली खल्ली भयो।

स्थानीयले प्रहरीलाई खबर गरे। घटनाको गाम्भीर्यतालाई हेरेर नजिकको प्रहरी र स्थानीयले शव रुङेर बसे। घटनाको खबर पाएको केहिबेरमा थप अनुसन्धानको लागि सदरमुकामबाट हिँडेको टोली करिब ८ घण्टा टाढाको घटनास्थल पुग्यो। 

जिल्ला प्रहरी प्रमुखको टोलीले पनि अनुसन्धानलाई थप गुहार माग्यो। दिउँसो अबेर नेपाली सेनाको हेलिकप्टरले अनुसन्धान अधिकृत र तालिम प्राप्त कुकुर ल्याएर छोड्यो।  

दुर्गम पहाडमा हेलिकप्टरले घटनास्थल भन्दा करिब २ घण्टा पर थप अनुसन्धान टोली उतारे पछि घटनास्थल पुग्दा अबेर भएको थियो। 

रात पर्दै जाँदा अनुसन्धानका काम र शव उठाउने प्रक्रिया हुन सकेन। परिवारका सदस्य, स्थानीय र प्रहरीले रातभर जंगलमा शव कुरेर बसे। अनुसन्धानमा असर पर्ने भएका कारण अबोध चेलीका शवले रातभर कात्रो समेत पाएन। 

रसाएका आँखाले बालापनमा अकालै ज्यान गुमाएका उनीहरुको शव समेत रातभर बेवारिसे जस्तै बन्यो। शुक्रबार मध्यान्न तिर अनुसन्धानको औपचारिकता सकाए पछि पोष्टमार्टमका लागी शव ७ घण्टा परको जिल्ला अस्पताल पुर्‍याइयो।

प्रकाशित: २५ चैत्र २०७९ १३:११ शनिबार