समाज

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।  

वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो।  

उक्त मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएका चोखोपानीले भरिएको घडा बोकि चार दिशामा उभिएर मन्त्रोच्चारणसाथ विधिपूर्वक स्नान गराइएको छ। आज नै दिनको मध्यरातको समयमा सुटुक्क तःबहालमा भएको मन्दिरको पिँढीमा ल्याएर राख्ने परम्परा छ। रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि शुरू भएर असार शुक्ल चौथीसम्म करिव दुई महिनासम्म मनाइन्छ।  

सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व छ। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा पनि हो। लोक कथन अनुसार टौदहका नागराज कर्कटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखि काममा व्यस्त भएको बेला हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भुतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गरेको कथन छ। दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो। सो विवाद राजासमक्ष पुर्‍याउँदा लिच्छिवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए।

 सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ। जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ।

प्रकाशित: २४ चैत्र २०७९ १३:३३ शुक्रबार

रातो मत्स्येन्द्रनाथको महास्नान