मोरङमा छुट्टाछुट्टै ३ वटा परीक्षा केन्द्रबाट २ दिनमा २ सय १ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
ग्रामथान–२ स्थित झोराहाटको सरस्वती मावि परीक्षा केन्द्रबाट ५२ जना, केराबारीको सार्वजनिक मावि १ सय २७ जना र सुन्दरहरैँचाको जनता माविबाट २० जना बिहीबार पक्राउ परेका हुन्।
सरस्वती माविको केन्द्रबाट बुधबार पनि २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
उनले २ दिनमा ३ वटा परीक्षा केन्द्रबाट २ सय १ जना नक्कल परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान थालेको बताए। बुधबार सरस्वती माविको केन्द्रबाट २ जना नक्कली परीक्षार्थी पक्राउ परेपछि अनुसन्धानका क्रममा बिहीबार थप ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको डिएसपी दाहालले बताए। पक्राउ पर्नेहरुलाई थुनामा राखेर थप अनुसन्धान अघि बढाएको उनले बताए।
सरस्वती माविका प्रधानाध्यापक तथा परीक्षा केन्द्राध्यक्ष अशोक लुइँटेलले परीक्षा दिन आएकाले सक्कली विद्यार्थीको फोटोको ठाउँमा नक्कली विद्यार्थीको राखेर परीक्षा दिन आएको भेटिएको बताए।
'हामीले हेर्ने भनेको प्रवेश पत्र हो। प्रवेश पत्र हेर्दा सबै ठिक भएको देखिन्छ। तर, केही विद्यार्थीको फोटो शंका लागेर सोधखोज गर्दा नक्कली विद्यार्थीले परीक्षा दिएको भेटिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।' प्रअ लुइँटेलले भने।
सरस्वती माविमाबाट टंकीसिनवारीको नरग्राम मावि, जनताबाट मृगौलिया मावि र सार्वजनिक माविबाट मच्छिन्द्र माविका विद्यार्थीहरुको नक्कली परीक्षार्थी भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाको थप अनुसन्धानपछि वास्तविक तथ्य बाहिर आउने डिएसपी दाहालले बताए।
प्रकाशित: २३ चैत्र २०७९ १३:४५ बिहीबार