समाज

सुन खोज्न महाशाखाको टोली गौंडा–गौंडामा

काठमाडौं– प्रहरीले बुधबार राति कंलकी क्षेत्रबाट नियन्त्रणमा लिएको टोयटा हाईलक्स गाडीमा सात केजी सुन बरामद भएयता काठमाडौं उपत्यकाका सम्भावित स्थानमा छापामारी भइरहेको छ । यस्तै नियन्त्रणमा लिएको गाडी ग्यारेजमा लगेर पाटपुर्जा सबै निकालेर सुन खोज्ने कार्य भइरहेको हो ।

महानगरीय अपराध महाशाखामा बिशेष सुराकीले ठुलो परिमाणमा रसुवा हुँदै सुन काठमाडौं भित्रिएको सुचना दिएपछि टोली बुधबार अपरान्हदेखि नै परिचालन भएको हो । टोलीले कंलकी क्षेत्रबाट बा ८ च ७४२० नम्बरको निजी टोयटा हाइलक्स गाडी र चालक कुर्साङ लामालाई राति नियन्त्रणमा लिएको हो ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीले गाडीको अघिल्लो भागमा लुकाएको अवस्थामा सुन बरामद भएपछि प्रहरी टोली थप सुनको आशंकामा परिचालन भएको बताए ।

उनले गाडीका अन्य भागमा समेत सुन लुकाएको हुनसक्ने आशंकामा प्राविधिक टोलीले खोजी गरिरहेको बताए । ‘थप सुन हुनसक्ने आशंकामा गाडीको खानतलासी भै रहेको छ, सुनका मालिक खोज्न टोली परिचालन भएको हो,’ एसपी कार्कीले भने ।

प्रकाशित: १४ पुस २०७३ ०५:५७ बिहीबार

सुन खोज्न महाशाखाको टोली गौंडा–गौंडामा