समाज

हत्यापछि सरकारी जागिर

काठमाडौं- हत्याजस्तो जघन्य अपराधका आरोपी सरकारी संस्थानको खरिदार रहेको खुलेको छ। पोखराबाट पक्राउ परेका प्रकाश भन्ने मिलन श्रेष्ठ १० वर्षअघि काठमाडौंमा भएको वैकुण्ठ राना मगर हत्याका मुख्य आरोपी रहेको खुलेको हो। साल्ट ट्रेडिङको अञ्चल कार्यालय पोखरामा स्टोरकिपरका रुपमा कार्यरत श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको हो।

मगर हत्याको तीन वर्षपछि २०६६ सालमा साल्ट ट्रेडिङमा खरिदारको पदमा जागिर खाई बाग्लुङ गएका श्रेष्ठ केही समयपछि अञ्चल कार्यालय कास्कीमा जिन्सी प्रमुख बनेका थिए। महाशाखाले श्रेष्ठलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो। 

महाशाखाका एसपी प्रकाशजंग कार्कीले घटनामा संलग्न फरार अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेकै अवस्थामा श्रेष्ठ सरकारी सेवामा प्रवेश गरेको बताए। उनका अनुसार घटनामा संलग्न अन्य अभियुक्त पक्राउ परे पनि श्रेष्ठ फरार थिए।

महाशाखाका अनुसार २०६३ असार ३२ मा गुल्मीका १८ वर्षीय मगरलाई सामाखुसी रानीबारी चोकमा ६/७ जनाको समूहले फलामको पाताले प्रहार गरी घाइते बनाएको थियो। उपचारका क्रममा उनको सोही वर्ष साउनमा मृत्यु भएको थियो। श्रेष्ठलाई समात्न महाशाखाबाट खटिएको टोलीले कास्की प्रहरीको पनि सहयोग लिएको थियो।

प्रकाशित: १२ पुस २०७३ ०२:४४ मंगलबार

हत्यापछि सरकारी जागिर