समाज

आँखाले जाँचिन्छन् सवारी

काठमाडौं- – २०७३ पुस १ गते धादिङबाट काठमाडौं आउँदै गरेको ग२च ४५७२ स्कार्पियो दुर्घटनामा तीन जनाको मृत्यु।

– २०७३ असोज २८ गते काभ्रेपलाञ्चोक पाँचखाल भान्छेपोखरी (राम्चे) मा बा४ख १९१३ बस दुर्घटनामा तीनको मृत्यु, १३ जना घाइते।

– २०७३ साउन ३१ गते काभ्रेपलाञ्चोक बिर्ता देउरालीस्थित कोसीपारि सडक खण्डमा बस दुर्घटना हुँदा १७ को मृत्यु, ४० जना घाइते।

– २०७२ कात्तिक ४ गते बाग्लुङ बुर्तिवाङबाट खुङ्गातर्फ जाँदै गरेको लु१ज २७३८ जिप दुर्घटना हुँदा ४ को मृत्यु, १६ जना घाइते।

एक वर्षको अवधिमा ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांकमा भेटिएका यी चारवटै दुर्घटनाको कारण एउटै छ – यान्त्रिक गडबडी।

स्थलगत छानबिन गर्दा यी दुर्घटनाको कारण गाडीको मेसिनरी पार्ट ठीक नहुनु भेटिएको निर्देशनालयले जनाएको छ। सवारीसाधनको अवस्था जाँचेर गुडाएको भए यी सवारीसाधन दुघर्टनामा नपर्ने निर्देशनालयको निष्कर्ष छ।

सवारी तथा व्यवस्था ऐन, २०४९ मा प्रत्येक ६ महिनामा सवारीसाधनको परीक्षण गर्नुपर्ने उल्लेख छ। ऐन आउनुअघि नै २०१७ साउनमै सवारीसाधन परीक्षण केन्द्र सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। निर्णय भएको ५१ वर्षपछि मात्र २०६८ सालमा टेकुमा करिब १ करोड रुपैयाँ लगानीमा मापन केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) बन्यो। विडम्बना, उक्त केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन।

यातायात व्यवस्था विभागले सवारीसाधनको 'म्यानुअल' परीक्षण भने गर्दै आएको छ। ‘आँखाले सरसर्ती गाडीका पार्टपुर्जा नियाल्ने गरेका छौं,’ विभागका इन्जिनियर नरेश कार्कीले भने, ‘मेसिनले जाँच्ने र आँखाले हेर्नेमा फरक त भइहाल्छ। मेसिनबाट गाडीको परीक्षण गर्ने हो भने दुर्घटना अवश्य घट्छ।’

विभागकै महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि मेसिनबाट गाडी परीक्षण गरेमा यान्त्रिक गडबडीका कारण हुने दुर्घटनामा कमी आउने बताउँछन्। तर, मापन केन्द्र सञ्चालनको जिम्मेवारी पाएको विभाग नै किन तात्दैन? कि मापन केन्द्र सवारीसाधन दुर्घटना भएको बेला मात्रै चासोको विषय बन्ने हो? सरोकारवालाले बेलाबेलामा उठाउने प्रश्न हुन् यी।

महानिर्देशक श्रेष्ठ भन्छन्, ‘मापन केन्द्र सञ्चालनमा हामी लागिरहेका हौं। प्राविधिक जनशक्ति अभावले केही ढिला हुन गएको हो।’ उनका अनुसार चीनबाट ल्याई फिट गरिएको परीक्षण मेसिन यहाँका प्राविधिकले सञ्चालन गर्न नसक्दा ढिलो भएको हो।

‘हामीले चीनबाट दुई जना इन्जिनियर झिकाउने तयारी गरेका छौं,’ महानिर्देशक श्रेष्ठले भनेे, ‘इन्जिनियर झिकाएपछि मापन केन्द्र सञ्चालनमा आउँछ।’ तीन महिनाभित्र केन्द्र सञ्चालनमा आउने उनले दाबी गरे। स्रोत भने महानिर्देशक श्रेष्ठले नै मापन केन्द्र सञ्चालनमा चासो नदिएको दाबी गर्छ। श्रेष्ठले मापन केन्द्र निर्माणको काम सम्पन्न नभई ठेकेदारलाई सबै पैसा भुक्तानी गरेको स्रोतको भनाइ छ। श्रेष्ठ भने आफूभन्दा अघिका महानिर्देशकले चासो नदिँदा मापन केन्द्र सञ्चालन नआएको बताउँछन्। उनका अनुसार मेसिनमा देखिएको गडबडीले मापन केन्द्र सञ्चालन हुने अवस्था छैन। 'चीनबाट इन्जिनियर आएर मर्मत गरेपछि सञ्चालनमा आउला', उनले भने।

विभागको तथ्यांकअनुसार हाल मुलुकमा २५ लाख हारहारीमा सवारीसाधन छन्। आर्थिक वर्ष २०७३/७४ को बजेटले प्र्रत्येक प्रदेशमा एउटा मापन केन्द्र बनाउने घोषणा गरेको छ।

मापन केन्द्रमा जाँच गर्दा टायरको भार, सवारीको क्षमता, ब्रेकको क्षमताजस्ता पक्ष मेसिनबाट जाँच गरेपछि कम्प्युटरले नै प्रिन्ट गरेर दिन्छ। मापन केन्द्रलाई गाडीको डाक्टर भन्दा फरक नपर्ने जानकार बताउँछन्।

महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा पनि यान्त्रिक गडबडीका कारण सवारी दुघर्टना बढ्दै गएका छन्। महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले गाडीको राम्रोसँग चेकजाँच हुने हो भने यान्त्रिक गडबडीका कारण हुने दुर्घटना रोकिने बताए।

छैन मापदण्ड निर्देशिका

मापन केन्द्र सञ्चालनमा ल्याएपछि गाडीका पार्टपुर्जाको अवस्था कस्तो हुनुपर्ने भन्ने मापदण्ड तय गर्नुपर्छ। गाडीको स्टेयरिङ, टायर, इन्जिन, हर्न, लाइटको अवस्था, चेसिस ब्रेक फोर्स कति हुनेे, एक्सएल लोड कति हुने, टायरको स्लिम कति हुने जस्ता प्राविधिक पक्षमा स्पष्ट हुन मापदण्ड बनाउनुपर्ने हुन्छ। यसका लागि निर्देशिका तयार पार्नुपर्छ तर विभागले निर्देशिका बनाउन चासोसम्म दिएको छैन। महानिर्देशक श्रेष्ठले चिनियाँ पक्षबाटै मापदण्डसम्बन्धी निर्देशिका आएको हुँदा त्यसैलाई मिलाउँदा हुने बताए।

प्रकाशित: १२ पुस २०७३ ०२:२१ मंगलबार

आँखाले जाँचिन्छन् सवारी